१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

इरानले लुकायो कोरोनाबाट मृत्यु हुनेको संख्या

एजेन्सी

तेहरान — इरानमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएकाहरूको संख्या सरकारले दाबी गरेको भन्दा झन्डै ३ गुणा बढी भएको तथ्यांक भेटिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म भाइरसका कारण १४ हजार ४ सय ५ जनाको मृत्यु भएको बताएको थियो ।

इरानले लुकायो कोरोनाबाट मृत्यु हुनेको संख्या

तर सरकारी दस्तावेजमा त्यो संख्या झन्डै ४२ हजार रहेको बीबीसीले जनाएको छ । संक्रमितको संख्या पनि मन्त्रालयले सार्वजनिक गरेको भन्दा झन्डै २ लाख बढी छ । मन्त्रालयले उक्त अवधिसम्म भाइरसका कारण २ लाख ७८ हजार ८ सय २७ जना संक्रमित भएको जनाएको थियो । तर बीबीसीलाई प्राप्त दस्तावेजमा संक्रमितको संख्या ४ लाख ५१ हजार २४ रहेको देखिएको छ ।

इरान सरकारले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार सोमबार साँझसम्म संक्रमितको संख्या ३ लाख १२ हजार ३५ छ । त्यस्तै भाइरसका कारण १७ हजार ४ सय ५ जनाको मात्रै मृत्यु भएको जनाइएको छ । इरानमा कोभिड–१९ को प्रकोप निकै फैलँदै गएको छ । बीबीसीले आफूलाई प्राप्त सरकारी तथ्यांकमा त्यहाँ पहिलो मृत्यु जनवरी २२ मा भएको देखिएको जनाएको छ । उक्त मिति इरानले आफ्नो देशमा पहिलो संक्रमण देखिएको जनाएको भन्दा करिब एक महिना अगाडि हो ।

राष्ट्रिय र प्रान्तीय तथ्यांकमा देखिएको फरक र केही स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइका आधारमा त्यहाँ संक्रमणको अवस्थाबारे फरक तथ्यांक दिने प्रयास गर्नेहरू पनि थिए । संसारभरि नै हाल कोभिड–१९ को परीक्षण निकै कम मात्रामा हुने गरेको जनाइएको छ । जसका कारण संक्रमितको तथ्यांक कम प्राप्त हुने भए पनि इरानले उपलब्ध भएकै तथ्यांक पनि सार्वजनिक नगरेको देखिएको हो । बीबीसीले आफूलाई प्राप्त विवरणमा इरानका अस्पतालमा दैनिक बिरामी भर्ना, बिरामीको नाम, उमेर, लिंग, लक्षण, मिति र अस्पताल बसाइबारेका जानकारी समेटिएको छ ।

प्रकाशित : श्रावण २०, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?