कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

मेलबर्नमा ६ साता लामो रात्रिकालीन कर्फ्यु

‘स्टेट अफ डिजास्टर’ घोषणा
हजारौं नेपालीसमेत प्रभावित
नारायण खड्का

अस्ट्रेलिया — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लगातार बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको छ । आइतबार साँझ ६ बजेदेखि सुरु हुने यो घोषणासँगै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ । सरकारद्वारा घोषणा गरिएको यो कडा नियमले मेलबर्नमा रहेका ५० हजार बढी नेपालीसमेत प्रत्यक्ष प्रभावित बनेका छन् ।

मेलबर्नमा ६ साता लामो रात्रिकालीन कर्फ्यु

अस्ट्रेलियाका अन्य राज्यहरुमा भाइरस संक्रमण कम भइरहेको भए पनि भिक्टोरियामा करिब एक महिनादेखि पुनः ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित देखिएका छन् । आइतबार पत्रकार सम्मेलनमा प्रिमियर ड्यानियल एन्ड्रुजले बढिरहेको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चस्तरको लकडाउन घोषणा गर्नुपरेको सुनाए । उनले मेलबर्नलगायतका सहरी क्षेत्रमा लेभल– ४ अन्तर्गतको पूर्ण लकडाउन र ग्रामीण क्षेत्रमा लेभल–३ अन्तर्गतको लकडाउन घोषणा गरिएको जानकारी दिए । उनले अत्यावश्यकबाहेक आफ्नो घर क्षेत्रभन्दा ५ किलोमिटर टाढा यात्रा गर्न प्रतिबन्ध लगाएका छन् भने सम्पूर्ण शैक्षिक संस्थामा अनलाइन अध्यापन सुरु हुने भएको छ । उनले संक्रमणको स्रोत पत्ता लगाउन नसकिएका करिब ७ सय केसहरु रहेको भन्दै यसलाई थप फैलन नदिनसमेत यो निर्णय आवश्यक भएको बताएका छन् ।

भिक्टोरियामा मात्र अहिलेसम्म ६ हजार ३ सय बढी सक्रिय संक्रमणका विरामी रहेका छन् । ६ सय ७१ जनामा बितेको २४ घण्टामा संक्रमण पत्ता लागेको हो । यस राज्यमा मात्र अहिलेसम्म १ सय २३ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ८५ जना अस्पतालमा छन जसमध्ये ३८ को आईसीयूमा उपचार भइरहेको छ । भिक्टोरियामा सबैभन्दा बढी वृद्धवृद्धालाई रेखदेख गरिने नर्सिङ होम पछिल्लो समयमा पीडित बनेको छ । करिब ११ सय संक्रमणका बिरामी सोही क्षेत्रमा देखिएको छ । करिब ७ सय स्वास्थ्यकर्मीसमेत संक्रमणमा परेका छन् । ‘स्वीकार गर्नै नसकिने संख्यामा संक्रमण देखिएको र केही संक्रमणको स्रोत पत्ता नलागेका केसहरुसमेत देखिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको हो,’ एन्ड्रुजले पत्रकार सम्मेलनमा भने ।

मेलबर्नमा एकाउन्टिङ व्यवसाय गर्दै आएका योगेन अधिकारीले सोमबारदेखि कार्यलय पूर्णतः बन्द हुने जनाए । उनी आफ्ना दर्जनौं ग्राहकको काम भए पनि लकडाउनका कारण कार्यालय जान नपाएपछि आफ्नो व्यवसाय प्रभावित हुने सुनाउँछन् । अधिकारीजस्तै सयौं नेपाली व्यवसायीको व्यवसाय बन्द मात्र हुने छैन कि उनीहरुले रातको ८ बजेदेखि बिहानको ५ बजेसम्म लगाइएको कर्फ्युका कारण सहजै बाहिर निस्कनसमेत पाउने छैनन् । ‘सरकारले जे गरिरहेको छ त्यो सबै सर्वसाधारणको सुरक्षाका लागि भएकाले समेत हामीले सरकारको निर्णयलाई पालना गरेर सहयोग गर्नु आवश्यक छ,’ उनीहरु भन्छन् ।

मेलबर्नका स्थानीय बासिन्दा प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल सरकारले यो निर्णयले यहाँ रहेका अनुमानित ५० हजार बढी नेपाली प्रत्यक्ष प्रभावित हुने सुनाउँछन् । ‘हामी सरकारले प्रदान गर्ने जबकिपर, जबसिकरलगायतका सुविधा पाउन सक्ने नागरिकलाई केही नहोला तर विद्यार्थीलाई यसले धेरै असर पार्ने पक्का छ ।’ उनले कान्तिपुरसँग भने । उनका अनुसार एनआरएनएले यसपहिले समस्यामा परेका विद्यार्थीलाई खानालगायतका केही सेवासुविधा दिइरहेको भए पनि पूर्ण लकडाउनका कारण यो सेवा प्रभावित हुने बताउँछन् । उनले प्रत्यक्ष उनीहरुको बसेको स्थानमा गएर खानालगायतका सेवा दिन नसके पनि खानाको अनलाईन भौचर भए पनि उपलब्ध गराउन पहल गरिरहेको सुनाउँछन् । ‘हामीले अस्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाको पहलमा समस्यामा परेका विद्यार्थीलाई सहयोग पुरयाउन पहल गरिरहेका छौं ।’

भिक्टोरियामा अहिलेसम्म करिब ३ दर्जन नेपालीमा समेत कोरोना संक्रमण देखिएको छ । अध्यक्ष कँडेलले यो संख्या अझ धेरै हुन सक्ने बताउँछन् । ‘अहिले भिक्टोरियामा धेरै संक्रमण बढिरहेका कारण नेपालीमा समेत संक्रमणको संख्या धेरै हुन सक्छ तर हाम्रो सम्पर्कमा आएकामध्ये करिब ३ दर्जन नेपालीको स्वास्थ्य राम्रो छ र उनीहरु आइसोलेसनमा छन्,’ कँडेलले भने ।

प्रकाशित : श्रावण १८, २०७७ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?