कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

प्रविधि कम्पनीहरूमाथि शक्तिको दुरुपयोग गरेको आरोप

एजेन्सी

वासिङ्टन —  विश्वका चार ठूला प्रविधि कम्पनीमाथि बजारमा प्रतिस्पर्धा दबाउन उनीहरूले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । आफूमाथि लगाइएको आरोपको सामना गर्न एप्पल, अमेजन, फेसबुक र अल्फाबेट (गुगल) का प्रमुखहरू अमेरिकी संसदीय सुनुवाइमा उपस्थित भएका छन् ।

प्रविधि कम्पनीहरूमाथि शक्तिको दुरुपयोग गरेको आरोप

सुनुवाइका क्रममा अमेजनका प्रमुख जेफ बेजोसले विश्वलाई ठूला कम्पनीहरूको खाँचो रहेको बताएका छन् । फेसबुक, एप्पल र अल्फाबेटका प्रमुखहरूले आफ्ना कम्पनीले विभिन्न आविष्कारका लागि उत्प्रेरित गरेको दाबी गरेका छन् ।

कडा नियमन तथा प्रतिस्पर्धासम्बन्धी छानबिनबारे सांसदहरूले छलफल गरिरहेका बेला ठूला प्रविधि कम्पनीका प्रमुखहरू संसदीय सुनुवाइमा सहभागी भएका हुन् । सुनुवाइका क्रममा डेमोक्र्याटहरूले उचित प्रतिस्पर्धा नभएको विषयमा प्रश्न उठाएका बीबीसीले जनाएको छ । त्यस्तै, रिपब्लिकन सांसदहरूले भने ती कम्पनीहरूको सूचना व्यवस्थापनका विषयमा सोधपुछ गरेका थिए ।

संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट ‘अनलाइन तथा इन्टरनेट प्लेटफर्महरूले दायरा विस्तार गर्न आफ्नो शक्ति विध्वंसात्मक र हानि पुर्‍याउने तरिकाबाट प्रयोग गरेका’ देखिएको जनाए । उनका अनुसार ती कम्पनीहरूले एकाधिकार कायम गरेकाले त्यसलाई रोक्न कडा कदम चाल्नुपर्ने समय आइसकेको छ ।

‘केही कम्पनी विभाजित हुनुपर्छ र सबैको हकमा उचित नियमन आवश्यक छ,’ करिब ५ घण्टा लामो सुनुवाइको अन्त्यमा सिसिलिनले भने । भिडिओ लिंकमार्फत उपस्थित भएका फेसबुकका मार्क जुकरबर्ग, अमेजनका जेफ बेजोस, अल्फाबेटका सुन्दर पिचाइ र एप्पलका टिम कुकलाई सांसदहरूले प्रश्नहरू सोधेका थिए ।

चारवटै कम्पनीका प्रमुखहरूले आफ्ना कम्पनीले कुनै गैरकानुनी काम नगरेकोमा जोड दिएका थिए । सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेबपेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको आरोपसमेत लगाएका थिए ।

त्यस्तै, अमेजनका बिक्रेताहरूको व्यवहारबारे समेत सांसदहरूले प्रश्न उठाएका थिए । इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको स्वामित्व फेसबुकले खरिद गरेको तथा एप्पलको एप भण्डारलगायत विषयमा समेत प्रश्नहरू सोधिएका थिए ।

प्रकाशित : श्रावण १६, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?