मंगल ग्रहको प्राचीन इतिहास अध्ययनका लागि नासाले पठायो 'पर्सिभरेन्स रोभर'

३ खर्ब २२ अर्बको मिसन
कान्तिपुर संवाददाता

काठमाडौँ — मंगल ग्रहको प्राचीन इतिहास अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरीक्ष संस्था नासाले बिहीबार मंगल ग्रहमा पर्सिभरेन्स रोभर त्यसतर्फ पठाएको छ ।

मंगल ग्रहको प्राचीन इतिहास अध्ययनका लागि नासाले पठायो 'पर्सिभरेन्स रोभर'

अमेरिकाको फ्लोरिडा राज्यस्थित केनेडी स्पेस सेन्टरबाट एट्लास रकेटले नासाको यो रोभर पठाइएको हो । सन् २०२१ को फेब्रुअरी १८ मा पर्सिभरेन्स मार्सको जजोरो क्रेटरस्थित एक प्राचीन नदीको डेल्टा नजिकै अवतरण गर्ने नासाले जनाएको छ । प्राचीन यो नदीको मुहान र निकाससमेत रहेको नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पर्सिभरेन्सले मंगलग्रहमा पाइने चट्टान र माटोका केही स्याम्पलहरु संकलन गर्नेछ । रोभरले संकलन गरेका ती स्याम्पलहरु नासाको अर्को मार्स मिसनबाट ल्याइने नासाका प्रमुख जिम ब्रेडिस्टाइनले बताएका छन् । नासाको मंगल ग्रहमा मानिस पठाउने योजना छ ।

पर्सिभरेन्स रोभरको मिसन अवधि एक मार्सियन वर्षको छ । एक मार्सियन वर्षको समय भनेको पृथ्वीमा ६ सय ८७ दिन हो । यो रोभरले मंगल ग्रहको भूगर्भ अध्ययन गर्नुका साथै प्राचीन समयमा एक कोषीय जीवहरु रहे नरहेको बारेमा अध्ययन गर्नेछ । यो मिसनबाट भविष्यमा मंगल ग्रहमा रोबटिक र ह्युमन एक्सप्लोरेशनका लागि पनि सघाउ पुर्‍याउने छ । सुपर क्यामेराहरु जडित यो रोभरले मंगल ग्रहमा पाइने माटो/बालुवाहरुको रसायनिक र खनिज तत्वहरुको अध्ययन गर्नेछ । रोभरमा भएको 'ग्राउन्ड पेनिटरिङ राडर'ले भित्री सतहको पनि फोटो खिच्‍ने र जानकारी दिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

नासाको यसअघिको क्युरिसिटी रोभर जत्रो आकारको पर्सिभरेन्स रोभर कार जत्रो छ । यो रोभर १० फिट उचाइ,३ मिटर लामो र २.७ मिटर चौडाइ छ । यसको तौल १ हजार २५ किलो छ । रोभरसँगै नासाको इन्जिनियुटी हेलिकप्टर पनि छ ।

नासाले यो मिसनका लागि २ दशमलव ७ विलियन अमेरिकी डलर खर्च गरेको छ । यो रकम नेपाली रुपैयाँमा ३ खर्ब २२ अर्ब ९० करोड हुन आउँछ । नासाका यसअघि विभिन्‍न ८ वटा रोबट मंगल ग्रहमा अवतरण भइसकेका छन् ।

हरेक २ वर्षमा मंगल ग्रह र पृथ्वीको दूरी केही नजिक हुन्छ । यही मौका छोपेर मंगल ग्रहमा आफ्ना यान तथा रोभरहरु प्रक्षेपण गरिन्छ । जुलाई १९मा यूएईले आफ्नो पहिलो मंगल मिसनअन्तर्गत 'होप'को प्रक्षेपण गरेको थियो । चीन पनि आफ्नो ताइनमेन-१ मिसन जुलाई २३ तारिखमा प्रक्षेपण गरेको थियो ।

तस्बिरहरुः नासा

प्रकाशित : श्रावण १५, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?