कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारत आइपुगे ‘विवादित’ रफाल लडाकु विमान

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले फ्रान्ससँग गरेको खरिद सम्झौताअन्तर्गत ‘विवादित’ रफाल (डसाल्ट रफाल) लडाकु विमानको पहिलो खेपअन्तर्गत पाँच वटा जहाजले बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन् ।

भारत आइपुगे ‘विवादित’ रफाल लडाकु विमान

यी लडाकु विमान फ्रान्सबाट करिब सात हजार किलोमिटर दूरी अम्बालामा अवतरण गरेका हुन् । यी लडाकु विमानलाईबीचमा एक पटक मात्र यूएईमा रोकिएको थियो । र, जहाजले उडानकै क्रममा हावामै इन्धन भरेका थिए ।

भारतले सन् २०१६ मा फ्रान्स सरकारसँग ५८ हजार करोड भारुमा ३६ वटा डबल इन्जिन रफाल लडाकु खरिद सम्झौता गरेको थियो । त्यही सम्झौता अन्तर्गतको पहिलो खेपको पाँच वटा जहाजलाई बुधबार भारत ल्याइएको हो । फ्रान्सको डसाल्ट एभिएसनद्वारा निर्मित यी लडाकु जहाज अत्याधुनिक मानिन्छन् ।

भारतमा रफाल लडाकु प्रति निकै चासो राखिँदै आएको छ । सन् २०१६ मा नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकारले रफाल खरीद सम्झौता गरेदेखि नै यो विषय विवादित रहँदै आएको छ । भारतीय राष्ट्रिय कांग्रेसलगायतका विपक्षी दलहरुले लडाकु विमान खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै आएका छन् ।

पहिलो पटक सन् २००७ मा तत्कालीन मनमोहन सिंह नेतृत्वको कांग्रेस सरकारले वायु सेनाको सिफारिस अनुसार १२६ वटा लडाकु जहाजको खरिद प्रक्रिया अगाडि बढाएको थियो । खरिदका लागि जारी गरिएको टेण्डर फ्रान्सको डसाल्ट रफेलले सबैभन्दा कम मूल्य कबोल गरेर पायो । तर, अन्तिम सम्झौता हुन बाँकी रहेकै अवस्थामा सन् २०१५ मा भाजपाको नरेन्द्र मोदीको नेतृत्व सरकारले खरिद प्रक्रिया स्थगन गर्ने निर्णय गर्यो । र, फेरि पुनः नयाँ प्रक्रिया अगाडि बढायो । त्यही बीचमा मोदी फ्रान्सको भमण भए । त्यही उनले ३६ वटा लडाकु विमान खरिद गर्ने घोषण गरे । त्यसपछि खरिद सम्बन्धी समझदारीमा सोही वर्ष फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्याण्डको भारत भ्रमणका बेला सम्पन्न भयो ।

कांग्रेसले पहिलेको खरिद प्रक्रिया स्थगन गर्नुका पछाडि ‘अपारदर्शी लेनदेन’ रहेको दाबी गर्दै विरोध सुरु गर्यो । पछि नयाँ सम्झौता नै भएपछि विरोधलाई थप चर्कायो । यही विषयलाई लिएर कांग्रेसले देशव्यापी विरोध प्रर्दशन पनि गरेको थियो । र, संसदसमेत अवरुद्ध पारेको थियो । उसले संयुक्त संसदीय छानबीन समिति गठन हुनुपर्ने माग गरेको थियो । तर, सत्तारुढ भाजपाले त्यसमा सहमति जनाएन ।

पछि खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै अदालतबाटै छानबीच हुनुपर्ने माग राख्दै भारतको सर्वोच्च अदालतमा निवेदन समेत पर्यो । तर, त्यो मागलाई अदालतले स्वीकार गर्यो । पछि फेरि रफाल लडाकु खरिद प्रक्रिया छानबिनको सहितको रिट पर्यो । त्यसलाई पनि अदालतले खारेज गरेको थियो । त्यसका बाबजुद कांग्रेसले यो विषयलाई उठाउन छाडेन । र, अघिल्लो वर्ष भएको लोकसभा चुनावमा पनि यो मुद्दालाई व्यापक रुपमा उठाएको थियो । यिनै कारणले पनि पनि नरेन्द्र मोदी सरकार र भाजपाले लडाकु विमानको खरिदलाई प्रतिष्ठाको विषय बनाउँदै आएका थिए ।

लडाकु विमान भारतमा अवतरण गरेलगत्तै भारतका रक्षामन्त्री राजनाथ सिंहले ट्विट खरिद प्रक्रियासम्बन्धमा प्रश्न उठाउनेहरुलाई जवाफ दिने प्रयास गरेका छन् । उनले प्रक्रियासम्बन्धी आरोपहरु आधारहीन रहेको पुष्टि भएको दाबी गरेका छन् । ‘भारतीय वायु सेनाको आवश्यकता पुरा गर्ने भएपछि मात्र रफाल जहाज खरिद गरिएको हो । खरिद प्रक्रियालाई लिएर लगाइएका निराधार आरोपको जवाफ दिएका छौं’ सिंहले ट्विटमार्फत् भनेका छन् । यद्यपि कांग्रेसले पनि आफ्नो नेतृत्वको सरकारले आवश्यकता पहिचान गरी खरिद प्रक्रिया अगाडि बढाएका कारण नै सुखद नतिजा प्राप्त भएको ट्विटमा उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण १४, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?