कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘अस्ट्रेलियाली डढेलोले ३ अर्ब जीवजन्तु मरे’

आगलागीबाट करिब १ लाख १५ हजार वर्ग किलोमिटर वन क्षेत्र ध्वस्त भएको थियो ।
एएफपी

सिड्नी — अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भीषण गत वर्षको जंगल डढेलोमा परेर करिब ३ अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनधारी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुंगी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएको उल्लेख छ ।

‘अस्ट्रेलियाली डढेलोले ३ अर्ब जीवजन्तु मरे’

डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ । प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि ती जनावरका लागि उपयुक्त आहारा, बस्ने ठाउँ र अन्य जनावरको आक्रमणबाट जोगिने अवस्था नदेखिएको बताए ।

सन् २०१९ को अन्त्य तथा सन् २०२० को सुरुवाती महिनामा अस्ट्रेलियाका जंगलहरूमा लामो सुक्खाका कारण भीषण आगलागी भएको थियो । आगलागीबाट करिब १ लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र ध्वस्त भएको थियो । डढेलोका कारण ३० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै जंगल आसपासका हजारौं घर डढेका थिए ।

अस्ट्रेलियाको आधुनिक इतिहासमै यति लामो र व्यापक डढेलो पहिलो पटक देखिएको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनको असरका कारण सुक्खा र डढेलोको समस्या देखिएको बताउँदै आएका छन् । जनवरीमा सार्वजनिक गरिएको अर्को एक अध्ययनमा सर्वाधिक प्रभाव परेका पूर्वी राज्यहरू न्यु साउथवेल्स र भिक्टोरियामा एक अर्ब हाराहारीमा जीवजन्तु मरेको उल्लेख थियो । तर मंगलबार सार्वजनिक सर्भे प्रतिवेदनमा सिंगो अस्ट्रेलिया महादेशको अवस्था विश्लेषण गरिएको सिड्नी विश्वविद्यालयका मुख्य वैज्ञानिक लिली भान एडेनले बताए ।

सर्भेका नतिजाहरूलाई अझै पनि विश्लेषण गर्नेक्रम जारी छ । प्रतिवेदनको अन्तिम नतिजा अर्को महिनाको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ । तर मृत्यु भएका जीवजन्तुको संख्या फेरबदल नहुने अध्ययन टोलीले जनाएको छ ।

फाइल तस्बिर : एएफपी

प्रतिवेदन तयारीको जिम्मेवारी लिएको वर्ल्ड वाइड फन्डका अस्ट्रेलियाली शाखाका प्रमुख डर्मोट ओ–गोर्मानले प्रतिवेदनका प्रारम्भिक नतिजाहरू निकै डरलाग्दो रहेको बताए । ‘यसलाई अस्ट्रेलियाको आधुनिक इतिहासमा सर्वाधिक खराब विपद्को रूपमा लिन सकिन्छ,’ उनले भने । अस्ट्रेलियामा निकै लोकप्रिय कोआलाको बीभत्स अवस्थाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यानाकर्षण भएको थियो । रूखका पातपतिंगर खाएर जीवन निर्वाह गर्ने हजारौं कोआला डढेलोमा परेर मरेका थिए ।

तर सरकारले यसै वर्षको सुरुमा सार्वजनिक गरेको प्रतिवेदनले एक सय अन्य रैथाने प्रजातिका जीवजन्तुका आधाभन्दा बढी बासस्थान समाप्त भएको औंल्याएको थियो । यस प्रतिवेदनले डढेकाका कारण भएको क्षति अरू डरलाग्दो रहेको जनाएको छ । वैज्ञानिकहरूका भनाइमा विश्वव्यापी तापक्रम वृद्धिले अस्ट्रेलियाको बर्खायाम लम्बिँदै गएको छ र यो हरेक वर्ष अझ डरलाग्दो बन्दै गएको छ । छोटो अवधिको हिउँदयाममा हुने डढेलो नियन्त्रणमा अझ बढी कठिनाइ हुन्छ । मंगलबार सार्वजनिक प्रतिवेदन सिड्नी विश्वविद्यालय, न्यु साउथ वेल्स विश्वविद्यालय, न्यु क्यासल विश्वविद्यालय, चार्ल्स स्टर्ट विश्वविद्यालय र बर्डलाइफ अस्ट्रेलियाद्वारा संयुक्त रूपमा तयार पारिएको हो ।

प्रकाशित : श्रावण १४, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?