कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लाखौं डलरको भ्रष्टाचार मुद्दामा मलेसियाली पूर्वप्रधानमन्त्री दोषी ठहर, १२ वर्षको कैद सजाय

नाजिब रजाकलाई लाखौं डलर भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो
एएफपी

एएफपी — मलेसियाको एक अदालतले पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लाखौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको कैद सजाय सुनाएको छ । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा नाजिब दोषी भएको ठहरसमेत गरेको छ । आफूमाथि लागाइएका आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू नाजिबले अस्वीकार गरेका थिए ।

लाखौं डलरको भ्रष्टाचार मुद्दामा मलेसियाली पूर्वप्रधानमन्त्री दोषी ठहर, १२ वर्षको कैद सजाय

नाजिबविरुद्धको मुद्दालाई मलेसियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्वपूर्ण परीक्षा मानिएको थियो । मलेसियाको ‘१ एमडीबी’ नामक सरकारी कोषमा भएको अपचलन काण्डले विश्वभरका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ ।

पछिल्लो फैसलाले मलेसियाली राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री भएका नाजिब मलेसियाको मुख्य दल यूएमएनओको पूर्व अध्यक्षसमेत हुन् । उक्त दलले मलेसियाको स्वतन्त्रतापछि करिब ६१ वर्ष शासन गरिसकेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको जनाएका हुन् । अदालतको फैसलापछि संवाददाताहरुलाई छोटो प्रतिक्रिया दिँदै नाजिबले आफू असन्तुष्ट भएको बताए । ‘यो निश्चय नै अन्त्य भने होइन् । हामीसंग पुनराबलोकनको विकल्प छ । त्यसमा सफल हुनेमा हामी पुर्ण आशावादी छौं,’ उनले भने ।

के थियो आरोप ?

सरकारी कोषबाट तात्कालीक प्रधानमन्त्रीका निजी खातामा ४ करोड २० लाख मलेसियाली रिङगीट (१ करोड अमेरिकी डलर) गैरकानुनी रुपमा सारिएको विषयसग सम्बन्धित मुद्दामा मंगलबार फैसला सुनाइएको हो । नाजिबले भने आफूले गल्ती नगरेको बताउँदै आएका छन् । आर्थिक सल्लाहकारहरूले आफूलाई झुक्याएको उनको दाबी छ । नाजिबका अनुसार फरार भएका झो लोले उनलाई भ्रममा पारेका थिए ।

झो लोविरुद्ध अमेरिका र मलेसियामा मुद्दा चलाइएको छ । तर उनले आफू निर्दोष भएको बताउँछन् । नाजिबका वकिलहरूले उनको खातामा आएको रकम सरकारी कोषबाट नभई साउदी राजपरिवारले चन्दाका रुपमा दिएको तर्क गरेका थिए ।

नाजिबलाई प्रत्येक अभियोगका लागि १५ देखि २० वर्ष कारागार सजाय हुनसक्ने जनाइएको छ । यसअघि उनले आफ्नो विपक्षमा फैसला आए पुनरावेदन गर्ने बताएका थिए ।

‘१ एमडीबी’ काण्ड के हो ?

नाजिबविरुद्धको मुद्दा सन् २००९ मा उनी आफैंले स्थापना गरेको ‘१ एमडीबी’ कोषसँग सम्बन्धित हो । क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने तथा रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ पार्ने योजनाअनुसार नाजिबको कार्यकालमा उक्त कोष स्थापना भएको थियो । तर सन् २०१५ को सुरुतिर विभिन्न बैंक तथा बन्डमा लगानी गरेकालाई तिर्नुपर्ने ११ अर्ब डलर नदिएपछि उक्त परियोजनाबारे मानिसहरुमा प्रश्न उठाएका थिए ।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी बैंक खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर समाचार प्रकाशित गरेको थियो । अमेरिकी तथा मलेसियाली अधिकारीले ४ अर्ब ५० करोड डलर गैरकानुनी रुपमा चोरी गरिएको आरोप लगाएका थिए ।

कोषमा करोडौं डलरको हरहिसाब नभएको बताइएको छ । उक्त रकम विलासिताका सामान, घरजग्गा, व्यक्तिगत जहाज तथा हलिउडको चलचित्रसँग सम्बन्धित भएको जनाइएको छ । तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन् ।

नाजिबलाई दुई वर्षअघिको निर्वाचनपछि देश छोड्न प्रतिबन्ध लगाइएको थियो । पछि जुलाई महिनामा उनलाई पक्राउ गरियो । त्यसअघि नाजिब र उनकी पत्नी रोज्मा मान्सरसग सम्बन्धित विभिन्न स्थानहरूमा प्रहरीले छापा मारेको थियो । त्यस क्रममा २७ करोड ३ लाख अमेरिकी डलर मूल्य बराबरका बिलासिताका सामाग्री, गरगहना र नगद बरामद गरेको थियो ।

प्रकाशित : श्रावण १३, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?