१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मेगनका कारण ह्यारी र विलियमबीच तनाव

नवीन पोखरेल

लन्डन — बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्कलले राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफूहरू जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि विश्व तरंगित भयो । दरबारको सुखसयल र विलासिता त्यागेर एकाएक सामान्य जीवन जिउने घोषणाले सबैलाई अचम्म तुल्यायो ।

मेगनका कारण ह्यारी र विलियमबीच तनाव

ह्यारी दम्पतीको शाही भूमिका परित्याग सम्बन्धमा महारानी एलिजाबेथ द्वितीयाले लामो छलफल गरेर पछि स्वीकृति जनाइन् । यही वसन्त ऋतुदेखि उनीहरूले ‘हिज, हर रोयल हाइनेस’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले घोषणा गर्‍यो ।

अहिले ह्यारीलाई राजकुमार र ड्युक अफ ससेक्स एवं मेगनलाई डचेस अफ ससेक्स भनेर मात्र सम्बोधन गरिन्छ । उनीहरू सैन्य नियुक्तिबाट हटेका छन् भने अब बेलायती महारानीको औपचारिक प्रतिनिधित्वसमेत हुने छैन । ‘द ड्युक एन्ड डचेस अफ ससेक्स’ ले विन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड पनि तिर्ने बताइसकेका छन् । ह्यारी मेघनले त्यतिबेला किन यस्तो अप्रत्याशित निर्णय गरे भन्ने विभिन्न अड्कलबाजी भइरहँदा हालै प्रकाशित एउटा पुस्तकले ब्रिटिस राजकुमार ह्यारीको आफ्नी प्रेमिका मेगन मार्कलसँगको सम्बन्धलाई लिएर उनको आफ्नै दाजु राजकुमार विलियमसँग तनाव बढेको दाबी गरेको छ ।

‘फाइन्डिङ फ्रिडम’ नामक पुस्तकका लेखकले राजकुमार ह्यारीले उनकी प्रेमिका मेगनलाई बिहे गर्नुअघि राजपरिवारका सदस्यहरूले उनीविरुद्ध अप्रिय टीकाटिप्पणी गरेको दाबी गरेको सन्डे टाइम्समा उल्लेख छ । पुस्तकमा राजकुमार विलियमले आफ्ना भाइ ह्यारीसँग कुरा गर्दा मेगनलाई ‘ती केटी’ भनेर सम्बोधन गरेको उल्लेख छ ।

उक्त पुस्तकले शाही परिवारबाट ह्यारी मेगनको बहिर्गमन र दुई दाजुभाइबीचको वार्तालाप खुलासा गरेको बताइएको छ । ‘तिमीलाई हतार गर्न जरुरी छ जस्तो मलाई लाग्दैन,’ पुस्तकका अनुसार विलियमले सुरुताका ह्यारीलाई भनेका थिए, ‘यो केटी (मेगन) लाई बुझ्न जति समय लाग्छ लिनू ।’

मेगन ह्यारीको जीवनमा आएपछि शाही परिवारका एक वरिष्ठ सदस्यले अमेरिकी नायिका मेगनलाई ‘हयारीको शो गर्ल’ भनेको पुस्तकमा जिकिर छ । ह्यारी र उनकी श्रीमती मेगन अहिले आफ्नो छोरा आर्चीसहित अमेरिकाको लस एन्जलस बसोबास गर्छन् ।

यसअघि मिडियाले आफूहरूविरुद्ध भ्रामक समाचार छापेको भन्दै कानुनी उपचारसमेत खोजेका ह्यारी र मेगन अहिले गुमनाम छन् । ह्यारी दम्पतीले गत अक्टोबरमा शाही जीवनको चुनौती र केही बेलायती अखबारले आफूहरूको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए । ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्राससमेत व्यक्त गरेका थिए । ह्यारीको साइनो नेपाल र गोर्खा सैनिकहरूसँग निकट छ । महाभूकम्पलगत्तै नेपाल भ्रमण गरेका राजकुमार ह्यारीले उत्तरी गोरखास्थित एक विद्यालयको पुनर्निर्माणमा सघाएका थिए । उनले अन्नपूर्ण हिमशृंखला तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए ।

कुनै बेला अफगानिस्तान युद्धमा सँगै रहेका ह्यारीले गोर्खा सैनिकहरूसँगको सम्बन्धबाट खुसी र गर्व महसुस गर्ने गरेको उनी बताउँछन् । राजकुमार ह्यारीले गोर्खालीहरूको साहस, निःस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन् ।

ह्यारीले ब्रिटिस गोर्खाहरूसँग नेपालमा धेरै समय बिताएका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई ह्यारीको बहिर्गमन निराशाजनक भएको बताउँछन् । उनीहरूको आधुनिक र स्वतन्त्र बन्ने सोचका कारण यस्तो निर्णय आएको विश्वास राईको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?