उत्तर कोरियामा संक्रमणको आशंका

नेता किम जोङ–उनले भाइरसलाई परास्त पार्न ‘उच्चतम आपत्कालीन प्रणाली’ लागू गर्न आदेश दिएका छन्
(एजेन्सी)

सोल — उत्तर कोरियामा कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद घटना भेटिएको जनाइएको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार दुई देशको सीमा छुट्याउने रेखाबाट वारि देखा परेका एक व्यक्तिमा कोभिड–१९ का लक्षणहरू देखिएका हुन् । केसीएनएका अनुसार ती व्यक्ति तीन वर्षअघि भागेर दक्षिण कोरिया पुगेका थिए ।

उत्तर कोरियामा संक्रमणको आशंका

शंकास्पद संक्रमित पहिचान भएसँगै उत्तर कोरियाली नेता किम जोङ–उनले शीर्ष अधिकारीहरूसँग एक आपत्कालीन बैठक गरेका केसीएनएले जनाएको छ । बैठकले सीमावर्ती सहर केसङमा कडा लकडाउन जारी गरेको जनाइएको छ ।

‘केसङ सहरमा आपत्कालीन रूपमा एउटा घटना भएको थियो । त्यहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति जुलाई १९ मा फर्किएका थिए,’ केसीएनएले भनेको छ ।

राजधानी प्योङयाङमा शनिबार बसेको पोलिट ब्युरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न ‘उच्चतम आपत्कालीन प्रणाली’ लागू गर्न आदेश दिएका हुन् । केसीएनएका अनुसार किमले ती व्यक्तिबारे अनुसन्धानसमेत सुरु गरेका छन् ।

निकै कडा सुरक्षा र निगरानी हुने सीमा क्षेत्रबाट ती व्यक्ति कसरी फर्के भन्नेबारे तथ्य खोजी भइरहेको जनाइएको छ । केसीएनएका अनुसार त्यसका लागि जिम्मेवार अधिकारीहरूमाथि निकै कडा सजाय दिइने किमले चेतावनीसमेत दिएका छन् ।

दक्षिण कोरियाले भने उत्तरले दाबी गरेको समयमा गैरसैनिक सीमा क्षेत्रबाट गैरकानुनी रूपमा कुनै व्यक्तिले आउजाउ गरेका नदेखिएको जनाएको छ ।

यसअघि नेता किमले उत्तर कोरियामा कोभिड–१९ आउन नदिएको घोषणा गरेका थिए । जुलाई महिनाको सुरुमा किमले भाइरससँग जुध्ने मामिलामा आफ्नो देशले ‘निकै प्रशंसायोग्य सफलता’ हासिल गरेको दाबी गरेका थिए ।

यद्यपि उनले अवस्था सोचजस्तो नभएको भन्दै उच्च सतर्कता अपनाउन अधिकारीहरूलाई निर्देशनसमेत दिएका थिए । तर कतिपय विश्लेषकहरूले कोभिड–१९ को संक्रमण नफैलिएको उत्तर कोरियाली दाबी अस्वीकार गर्दै आएका थिए ।

आफ्ना गतिविधि तथा विवरणहरू गोप्य राख्दै आएको उत्तर कोरियाले संक्रमण रोक्न विश्वका अन्य देशमा कोभिड–१९ फैलन सुरु गरेसँगै सीमा बन्द गरेको थियो । तर कतिपयले भने बाहिरी विश्वसँग खासै सम्पर्कमा नरहने भएकाले संक्रमण नफैलिएको विश्वास गर्छन् ।

त्यसका साथै विश्वभर भाइरसको संत्रमण फैलिरहँदा उत्तर कोरियाले हजारौं मानिसहरूलाई महिनौंसम्म आइसोलेसनमा राखेको थियो । हाल उत्तर कोरियाका सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य छ ।

प्रकाशित : श्रावण ११, २०७७ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?