कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारतमा झन् बढ्दै संक्रमण

सुरेशराज न्यौपाने

नयाँदिल्ली — विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो समय संक्रमितको संख्या निकै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा करिब ४९ हजारमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ लाख नाघेको छ । 

भारतमा झन् बढ्दै संक्रमण

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार साँझसम्म १३ लाख ३६ हजार ८ सय ६१ जना संक्रमित भएका छन् । जसमध्ये ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा ७ सय ५७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये हालसम्म करिब ८ लाख ५० हजार जना उपचारपछि निको भइसकेका छन् ।

विगत केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमणमा उच्च वृद्धि देखिएको छ । गत चौबीस घण्टामा मात्र ४८ हजार ९ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । भारत विश्वका सबैभन्दा बढी उच्च संक्रमित हुने मुलुकहरूमध्ये अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । भारतमा पछिल्लो एक साताभित्र मात्रै करिब तीन लाख नयाँ संक्रमित पहिचान भएका हुन् । भारतमा जुन १ देखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ ।

यसैबीच, भाइरसविरुद्धको परीक्षणलाई पनि तीव्रता दिइएको छ । हाल प्रत्येक दिन करिब सवा ४ लाख परीक्षण गरिएको छ । जबकि एक साताअघिसम्म यो दर ३ लाखको हाराहारीमा थियो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १ करोड ५८ भन्दा बढीको कोरोना भाइरसको परीक्षण भइसकेको छ ।

पछिल्ला दिनमा भारतका आन्ध्र प्रदेश, तमिलनाडु, उडिसा, झारखण्डसँगै नेपालसँग सिमा जोडिएका उत्तरप्रदेश र बिहार राज्यहरूमा अहिलेसम्मको उच्च संक्रमण देखिएको छ । गत चौबीस घण्टामा उत्तरप्रदेशमा थप २ हजार ६ सय ६७ जना र बिहारमा १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । खुला सीमा भएका कारण यी दुई राज्यमा हुने संक्रमणको विस्तारले नेपालमा पनि जोखिम बढाउने खतरा छ ।

संक्रमण बढ्ने क्रमसँगै भारतले कोभिड १९ विरुद्धको खोपको मानव परीक्षणलाई भारतले तीव्रता दिएको छ । त्यसै क्रममा शुक्रबार दिल्लीमा पनि मानव परीक्षण सुरु गरिएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद् (आईसीएमआर) र पुनेस्थित नेसनल इन्स्टिच्युट अफ भायरोलोजीसँगको समन्वयमा हैदरावादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेडले विकास गरेको ‘कोभ्याक्सिन’ खोपको शुक्रबार दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स्) शुक्रबार पहिलो चरणको मानव परीक्षण सुरु गरिएको हो । ‘आज एक जनामा परीक्षण गरिको हो,’ एम्स् स्रोतले कान्तिुरसँग भन्यो ।

पहिलो र दोस्रो चरणको मानव परीक्षणका लागि आईसीएमआरले भारतभरका विभिन्न १२ वटा केन्द्र तोकेको थियो । जसमा एम्स् पनि समावेश छ । मानव परीक्षणको सुरुआत गत १५ जुलाईदेखि नै भएको हो । पहिलो चरणको परीक्षणमा सहभागी हुन दुई हजारभन्दा बढी स्वयंसेवकले नाम दर्ता गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मानव परीक्षणका लागि पहिलो चरणमा १८ देखि ५५ वर्ष उमेरका र दोस्रो चरणमा १२ देखि ६५ वर्ष उमेरमा मानिसलाई सहभागी गराइने बताइएको छ ।

एम्स्मा गर्ने भनिएको शुक्रबारको परीक्षणका लागि सुरुमा दुई जनाले नाम लेखाए पनि एक जना मात्र उपस्थित भएको स्रोतले जानकारी दिएको छ । परीक्षणमा सहभागी हुने दिल्लीकै निवासी भएको बताइएको छ । खोप दिएपछि ती व्यक्तिलाई दुई घण्टासम्म अवलोकनका लागि राखिएको र उनमा कुनै पनि प्रतिकूल असर नदेखिएको परीक्षणमा सहभागी चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । ‘दिउँसो १ः३० मा ०.५ मिलिको खोप दियौं । तत्काल कुनै नकारात्मक असर देखिएन । दुई घण्टासम्म अवलोकन गरेर पठायौं । सात दिनसम्म खोपको असरको निगरानी गरिनेछ,’ एम्स्का कम्युनिटी मेडिसिन सेन्टरका प्राध्यापक डा. सञ्जय रायलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । खोप लिने व्यक्तिको दुई दिनअघि स्वास्थ्य परीक्षण गरिएको समेत पीटीआईले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसको खोपमा अनुसन्धान गर्नका लागि भारत बायोटेकसँगै विभिन्न सातवटा संस्थालाई अनुमति दिइएको छ । तर, भारतीय औषधि महानियन्त्रक कार्यालयले हालसम्म भारत बायोटेक र जाइडसक्याडिलाले उत्पादन गरेको खोपलाई मात्र पहिलो र दोस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिएको छ । दिल्लीको एम्स्सँगै हैदराबादको निजाम इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, रोहतकको पोस्टग्य्राजुअट इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, एम्स् पटना र भुवनेश्वरको इन्स्टिच्युट अफ मेडिकल साइन्सेज र सम अस्पतालमा मानव परीक्षण सुरु गरिएको छ । भारतमा कोरोना भाइरसविरुद्धको खोपको मानव परीक्षणको सुरुआत अघिल्लो हप्ता गोवाको रेडकर अस्पतालबाट गरिएको थियो । त्यसको खुला गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले नै ट्वीटमार्फत गरेका थिए ।

विश्वभरका विभिन्न अनुसन्धान संस्थाहरूले कोभिड–१९ विरुद्धको खोप विकास गर्न प्रयासरत छन् । र, यो सबैका लागि अति प्रतीक्षाको विषय बनेको छ । यसैक्रममा भारतमा सुरु गरिएको खोपको परीक्षणलाई पनि निकै चासोका साथ हेरिएको छ । भारत त्यसै पनि सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुकमा पर्छ । तर, यसपटक भारतले कोभिड–१९ भ्याक्सिनको विकासमै अग्रसरता देखाएको हो ।

भारतले करिब तीन साताअघि मात्र आगामी १५ अगस्टभित्रै कोभिड–१९ विरुद्धको खोप ल्याउने घोषणा गरिसकेको छ । उक्त घोषणाप्र्रति विज्ञहरूले पनि प्रश्न उठाएका थिए । डेढ महिनाको अवधिमा भारत सरकारको घोषणाले पश्चिमा मुलुकका अनुसन्धानकर्मीहरूलाई पनि आश्चर्यमा पारेको छ । कोभिड–१९ को खोपका लागि संसारभरका कहलिएका अनुसन्धान संस्थानहरू भिडिरहेका बेला परिषद्को डेढ महिनाभित्रै नयाँ खोप प्रयोग ल्याउने घोषणाले उनीहरूलाई आश्चर्यमा पार्नु अस्वाभाविक थिएन । सँगै उनीहरूले यति छोटो अवधिमा कुनै पनि नयाँ खोप मानव प्रयोगका लागि तयार हुनु असम्भव भएको भन्दै परिषद्ले ल्याउने भनेको खोपको अनुसन्धान र परीक्षणमै प्रश्न उठाएका थिए छन् । बेलायत, अमेरिका लगायतका मुलुकहरू भइरहेको अनुसन्धानले कोभिड–१९ विरुद्धको खोप बजारमा ल्याउन कम्तीमा पनि एक देखि डेढ वर्ष लाग्ने दाबी गर्दै आएका छन् । कतिपय विशेषज्ञहरूले एक महिनाभित्र खोपका लागि गर्नुपर्ने तीन चरणको परीक्षण सम्भव नभएको भन्दै चाँडै खोप ल्याउने नाममा मानव स्वास्थ्यमै खेलवाड गर्न लागिएको समेत आरोप लगाएका थिए ।

तर, आईसीएमआरले ती आरोपको खण्डन गर्दै खोपको परीक्षणका क्रममा सुरक्षा र व्यक्तिको अधिकारको सम्झौता नगरिने र विश्व्यापी प्रचलित मापदण्ड पूरा गरिने जनाएको छ । आईसीएमआरले भने पूरा विश्व नै कोभिड–१९ महामारीले आक्रान्त भएकाले विभिन्न देशले मानिसहरूको ज्यान जोगाउनका लागि खोपको परीक्षण गरिरहेको र त्यही क्रममा भारतले पनि आफ्नै खोपको विकास गर्ने दिशामा अगाडि बढेको जनाएको छ । त्यसका लागि सुरक्षा, गुणस्तर, मापदण्डलगायतका सबै सर्तहरू पूरा गरिने पनि उसले जनाएको थियो ।

त्यसैगरी नयाँ खोप प्रयोगमा ल्याउनका लागि १५ अगस्टको मिति तोक्नुका पछाडि राजनीतिक कारण रहेको समेत दाबी गरिएको छ । विपक्षी पार्टीहरूले आईसीएमएआरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुकूल हुने गरी १५ अगस्ट अर्थात् स्वतन्त्रता दिवसकै दिनको समयसीमा राखेको दाबी गरेका छन् । सामान्यतयाः स्वतन्त्रता दिवसको दिनमा भारतीय प्रधानमन्त्रीका तर्फबाट रणनीतिक र दूरगामी प्रभाव पार्ने घोषणा गर्ने परम्परा रहँदै आएको छ । विपक्षी दल र विशेषज्ञहरूले स्वतन्त्रता दिवसकै दिन खोप सफल भएको घोषणा गर्ने रणनीतिअनुरूप नै मिति तोकिएको दाबी गर्दै आएका छन् ।

प्रकाशित : श्रावण ११, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?