१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भारतमा संक्रमितको संख्या १० लाख नाघ्यो

कोरोना भाइरसका कारण अतिप्रभावित देशहरूको तुलनामा भारतमा मृत्युदर भने निकै न्यून देखिएको छ
(एजेन्सी)

नयाँदिल्ली — भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार साँझसम्म १० लाख ३ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ३४ हजार ९ सय ५६ जना विगत २४ घन्टामा थपिएका हुन् ।

भारतमा संक्रमितको संख्या १० लाख नाघ्यो

कोभिड–१९ प्रभावित विश्वका मुलुकहरूको सूचीमा भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । अमेरिकामा ३५ लाख ७६ हजार र ब्राजिलमा २० लाख १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबार साँझसम्म २५ हजार ६ सय २ जनाको भाइरसका कारण मृत्यु भएको छ । मृतक संख्याका आधारमा भने भारत आठौं स्थानमा छ । संक्रमितमध्ये कम्तीमा ६ लाख ३५ हजार जना निको भएको जनाइएको छ ।

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्रमा शुक्रबार साँझसम्म २ लाख ८४ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ११ हजार १ सय ९४ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार निको भएका छन् ।

त्यसैगरी, दोस्रो प्रभावित तमिलनाडु राज्यमा १ लाख ५६ हजार ३ सय ६९ संक्रमितमध्ये २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ । तमिलनाडुमा १ लाख ७ हजारभन्दा बढी निको भएको जनाइएको छ ।

दिल्ली राज्यमा हालसम्म कोभिड–१९ बाट १ लाख १८ हजार ६ सय ४५ जना संक्रमित भइसकेका छन् । तर तीमध्ये ९७ हजार ६ सय ९३ जना निको भएका छन् । ३ हजार ५ सय ४५ जनाले भने भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

नेपालसँग सीमा जोडिएका राज्यहरूमध्ये उत्तर प्रदेश बढी प्रभावित छ । उत्तर प्रदेशमा ४३ हजार ४ सय ४१ संक्रमित छन् भने १ हजार ४६ जनाले ज्यान गुमाएका छन् ।

पश्चिम बंगालमा ३६ हजार १ सय १७ तथा बिहारमा २१ हजार ७ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । भाइरसका कारण मृत्यु हुनेको संख्या पश्चिम बंगालमा १ हजार २३ र बिहारमा १ सय ९७ छ । ३ हजार ९ सय ८२ जना संक्रमित रहेको उत्तराखण्डमा ५० जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । गत जनवरीमा पहिलो संक्रमित फेला परेयताका एक सय ७० दिनमा संक्रमित संख्या १० लाख नाघेको हो । तर सक्रिय संक्रमितको संख्या भने ३ लाख ४२ हजार ४ सय ७३ मात्रै छ ।

प्रकाशित : श्रावण २, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?