२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

'चीन-दक्षिण एसिया सम्बन्ध सुध्रिनु आवश्यक'

लक्ष्मी लम्साल

बेइजिङ — कूटनीतिक तवरमा चीन र दक्षिण एसियाली मुलुकहरूबीच रस्साकस्सी चलिरहेका बेला सम्बन्धित देशका गैरसरकारी मैत्री संस्थाहरूले आपसी मतभेद वार्ताद्वारा समाधान गर्न अग्रसर हुनुपर्ने धारणा प्रस्तुत गरेका छन् ।

चीनको वैदेशिक मित्रताका लागि चिनियाँ जनसंघ, चीन दक्षिण एसिया मैत्री संगठनले बेइजिङबाट हालै आयोजना गरेको भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, अफगानिस्तानका सम्बन्धित संगठनका प्रमुखहरूले यस्तो धारणा प्रकट गरेका हुन् ।

सहभागीहरूले कोरोना महामारी विरूद्ध संयुक्त संघर्ष, एकता प्रवर्द्धन, चीन र दक्षिण एसियाबीच सहकार्य विस्तार तथा बेल्ट एण्ड रोड इनिसिएटिभ्स लगायतका विषयमा छलफल गरेका छन्। उनीहरूले चीन-भारत पछिल्लो सम्बन्धबारे ध्यानाकर्षण गर्दै भने,‘दुवै देश शान्ति तथा स्थिरताका लागि एक भएर सहकार्य गर्न र चीन दक्षिण एसियाली साझा भाग्य समुदाय निर्माणका लागि अग्रसर हुनुपर्दछ ।’

भिडियो कन्फ्रेन्समा भाग लिएका चीनसँग दक्षिण एसिया क्षेत्रीय मित्रता तथा सहकार्य संगठनका अध्यक्ष अनुपरञ्‍जन भट्टराईका अनुसार कोभिड-१९ नियन्त्रणमा चीनको अनुभव आदानप्रदान तथा सहकार्यका विषयमा छलफल भयो । सबै मुलुकका महामारी नियन्त्रण अनुभवबारे सुनिसकेपछि वैदेशिक मित्रताका लागि चिनियाँ जनसंघका नवनियुक्त अध्यक्ष लिन सोङथ्येनले महामारीका लागि चीनको तर्फबाट परेको खण्डमा सहयोगको प्रस्तावना राखेका थिए ।

जवाफमा कुनै पनि मुलुकले तत्काल सहयोगको कुरा अघि सारेनन् । विशेषगरी दक्षिण एसियाको स्थिरताका लागि पहल गर्नुपर्नेमा जोड दिए । भविष्यमा कोभिड १९ विरूद्ध सहकार्य गर्ने गरी घोषणापत्र जारी गरिएको बैठकमा सहभागी भट्टराईले कान्तिपुरलाई बताए ।

भारत र चीनबीचको सम्बन्ध सुधार हुनु समग्र दक्षिण एसियाको लागि हितकर हुने सहभागीहरूको जोड थियो । भारत-चीन मैत्री संघका जर्ज फर्नाण्डिजले दुवै देशबीचको धेरै पुरानो आर्थिक तथा सांस्कृतिक सम्बन्ध रहेको औंल्याउँदै दुवै देशले पञ्चशीलको सिद्धान्तको रक्षा गर्नुपर्ने बताए । वर्तमानमा सबै देश कोभिड﹣१९ महामारी विरूद्ध एकताबद्ध भएर लड्नुपर्ने उनको जोड थियो ।

अखिल पाकिस्तान चीन मैत्री संघका महासचिव फरवा जफरले महामारीका कारण चीन र दक्षिण एसियाले आपसी सरसहयोग र मित्रताको नयाँ आयाम कोर्ने अवसर आएको बताए । उनले भने, 'कोभिड महामारीको प्रभाव घटाउनका लागि चीन र दक्षिण एसियाले आपसी सामरिक समन्वय गर्नुपर्छ, व्यवहारिक सहयोग गहिरो पार्नुपर्छ र समान रूपमा चीन दक्षिण एसिया साझा भाग्य समुदाय स्थापना गर्नुपर्छ । '

बंगलादेश-चीन सांस्कृतिक तथा आर्थिक जनसंचार केन्द्रका अध्यक्ष अल्ताफ चौधरीले २१औं शताब्दी एसियाको शताब्दी भएकाले शान्तिपूर्ण विकासको वातावरण बनाउनु अपरिहार्य भएकोतर्फ ध्यानाकर्षण गराए। पछिल्लो समयमा भारत र चीनबीचको सम्बन्ध बिग्रिँदै गएको बताउँदै नेतास्तरीय मात्र नभई जनस्तरीय सम्बन्ध सुदृढीकरणमा दुवै देशका जनता सक्रिय हुनुपर्ने सुझाए ।

चीन वैदेशिक जनमैत्री संघका अध्यक्ष लिन सोङ थ्येनले छिमेकीबीच कहिलेकाहीं झगडा हुनु सामान्य भएको बताउँदै थपे, ‘चीन र भारतबीच आपसी मुठभेड, झगडा र वादविवाद सामान्य हो । तर जनस्तरीय रूझान निकै गहिरो भएकाले एकाध झैझगडाबाट अन्तरदेशीय सम्बन्ध उथलपुथल हुँदैन।’

प्रकाशित : श्रावण १, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?