कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनलाइन पढिरहेका विदेशी विद्यार्थी फर्काउने योजनाबाट किन पछि हट्यो ट्रम्प प्रशासन ?

दिनेशजंग शाह

न्युयोर्क — आगामी शैक्षिक सत्रमा अनलाइनबाट मात्र कक्षा लिने अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई स्वदेश फर्काउने आफनो पूर्व योजनाबाट ट्रम्प प्रशासन पछि हटेको छ । कोरोना महामारी र  त्यसको अमेरिकी रोजगार क्षेत्रलाई मध्यनजर गरेको भन्दै गत जुलाई ६ तारिखमा ट्रम्प प्रशासनले अनलाइन कक्षा लिने अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई निकाला गर्ने घोषणा गरेको थियो ।

अनलाइन पढिरहेका विदेशी विद्यार्थी फर्काउने योजनाबाट किन पछि हट्यो ट्रम्प प्रशासन ?

मंगलबार बोस्टनको एक संघीय अदालतमा सो विषयमा बहस सुरु हुनु केही मिनेटअघि मात्र सो अदालतका न्यायाधीश एलिसन डी बरोले ट्रम्प प्रशासन आफनो निर्णयबाट पछि हटेको जानकारी दिँदै बहसको अर्थ नरहेको घोषणा गरेका थिए । ट्रम्प प्रशासनको योजनाको चौतर्फी विरोध भएको थियो भने हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोनी(एमआईटी) लगायत २० वटा अमेरिकी राज्य सरकारहरुले विद्यार्थी पक्षमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आप्रवासी कानुनको इन्फोर्स गर्ने निकाय (आईस) विरुद्ध संघीय अदालयमा रिट हालेका थिए । फेसबुक, गुगल, माइक्रोसफ्टलगायतका टेक कम्पनीहरुलगायत अमेरिकी शिक्षकहरुको संगठनले सरकारको योजनाको चर्को विरोध गरेका थिए ।

अमेरिकामा २० वर्षदेखि अनलाइनमार्फत विद्यार्थीहरुले कक्षाहरु लिइरहेका छन् । ट्रम्प प्रशासनले आफनो निर्णयलाई बदल्नुमा मुख्यत संघीय अदालतमा परेका रिटहरुलाई जिम्मेवार मानिएको छ । पछिल्लो समयमा प्रशासनका केही विवादास्पद निर्णयहरु अदालतबाट खारेजीमा परेका थिए । जसले नजिकिँदै गएको अमेरिकी निर्वाचनको पृष्ठभूमिमा ट्रम्पलाई असहज स्थिति पैदा गरेको छ । विवादास्पद निर्णयमा अदालतको आदेशले ट्रम्प प्रशासन समस्यामा परेको छ ।

प्रशासनको योजनालाई तुहाउन सिलिकन भ्यालीको चर्काे विरोध पनि अर्को महत्वपूर्ण कारण बन्यो । गत सोमबार विद्यार्थीको विषयमा ट्रम्पमाथि झनै चर्को दबाब परेको थियो । प्रविधि कम्पनीहरुले विद्यार्थीको पक्षमा परेको रिटको खुलेरै समर्थन गर्दै प्रशासनको योजनाले आफनो व्यवसाय चौपट हुने चेतावनी दिएका थिए । प्रविधि कम्पनीहरुले आफूलाई आवश्यक बर्सेनि हजारौं उच्च जनशक्तिलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको माध्यमबाट नै पूर्ति गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई निषेध गरिँदा अमेरिकी विश्वविद्यालयलगायत सबैखाले शैक्षिक संस्थाहरुले ठूलो राशिको आम्दानी गुमाउने र प्रविधि कम्पनीलगायत प्राविधिक क्षेत्रमा उच्च जनशक्तिको अभाव हुने भन्दै चर्को विरोध भएको थियो ।

त्यसैगरी रिपब्लिकन पार्टीकै १५ जना सांसदले मंगलबार बिहान ट्रम्पलाई पत्र लेख्दै निर्णय बदल्न आग्रह गरेका थिए । अन्तत: मंगलबार दिउँसो ट्रम्प प्रशासनले निर्णय बदलेको थियो ।

अमेरिकामा बर्सेनि दश लाखचन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययनका लागि भित्रिने गरेको तथ्यांक छ । उनीहरुबाट वार्षिक रुपमा ४१ बिलियन अमेरिकी डलर अमेरिकामा भित्रिन्छ ।

प्रकाशित : श्रावण १, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?