१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोपको परीक्षण

युनिभर्सिटी अफ क्विन्सल्यान्डले विकास गरेको खोप पहिलो चरणअन्तर्गत १ सय २० जना स्वयंसेवकलाई दिइएको हो ।
नारायण खड्का

सिड्नी — अस्ट्रेलियाको ब्रिसबेनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मानिसमा परीक्षण सुरु गरिएको छ । यसअघि जनावरमा गरिएको परीक्षण सफल देखिएपछि खोप मानिसमा परीक्षण गरिएको हो ।

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोपको परीक्षण

युनिभर्सिटी अफ क्विन्सल्यान्डले विकास गरेको खोप पहिलो चरणअन्तर्गत सोमबार १ सय २० जना स्वयंसेवकलाई दिइएको हो । क्विन्सल्यान्ड राज्यकी प्रिमियर एनास्टेसिया पालसेले युनिभर्सिटी अफ क्विन्सल्यान्डले खोप अनुसन्धानमा गरेको मिहिनेतको प्रशंसा गरेकी छन् । ‘हामीसँग उत्कृष्ट वैज्ञानिक छन् र यो सुरुवाती चरण हो तर पनि हामी विश्वविद्यालयले खोपको अनुसन्धानमा गरेको कार्यबाट अत्यन्तै प्रोत्साहित भएका छौं,’ उनले भनेकी छन् ।

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक पउल योङले सोमबारदेखि सुरु गरिएको परीक्षणले सफल नतिजा दिने विश्वास व्यक्त गरे । परीक्षणका क्रममा सहभागी स्वयंसेवकलाई चार साताको अन्तरमा दुई पटक खोप दिइनेछ । त्यसपछि स्वयंसेवकमा खोपको सुरक्षाका साथै प्रतिरक्षा प्रणालीबारे विस्तृत अध्ययन गरिने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । अनुसन्धानकर्ताले स्वयंसेवकलाई एक वर्षसम्म मूल्यांकन गर्नुका साथै खोपको प्रतिक्रियाबारे समेत अध्ययन गर्नेछन् ।

राज्यका इन्नोभेसन मन्त्री केट जोन्सले कोभिड–१९ लाई पराजित गर्न खोप अत्यन्तै महत्त्वपूर्ण भएकाले आफूहरूले निकै मिहिनेत गरिरहेको बताएकी छन् । अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप निर्माणका लागि लाखौं डलर खर्च गरिरहेको छ । करिब एक साताअघि दक्षिण अस्ट्रेलियाको रोयल एडिलेड अस्पतालमा समेत उक्त भाइरसविरुद्धको खोपको परीक्षण सुरु गरिसकिएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियामा पहिलो पटक सुरु गरिएको मानव परीक्षणमा ठूलो सफलता प्राप्त भएको जनाएको छ ।

पहिलो चरणमा ४० जनामा परीक्षण सुरु गरिएको हो । एन्टिबडीको विकास र प्रतिरक्षा प्रणालीको प्रतिक्रिया पाउन केही समय लाग्ने जनाइएको छ । अनुसन्धानकर्मीहरूले बढीमा दुई महिनामा पहिलो परीक्षणको नतिजा आउने बताएका छन् ।

यसैबीच, अस्ट्रेलियास्थित सरकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्ेरसनले कोभिड–१९ का कारण गम्भीर भएका बिरामीमा एन्टिभाइरल औषधि रेम्डेसिभियर प्रयोग गर्न अनुमति दिएको छ । स्थानीय समाचारमा जनाइएअनुसार यो औषधिको प्रयोगको अनुमति दिइए पनि सहजै भने उपलब्ध हुने छैन । यो औषधि अस्पतालमा रहेका र गम्भीर इन्फेक्सन भएका युवा तथा किशोर बिरामीलाई मात्र दिइने जनाइएको छ ।

सरकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसनले कोभिडका गम्भीर बिरामीको उपचारमा आशाजनक वैकल्पिक उपचारका रूपमा देखिएकाले अस्पताल बसाइ कम गराउन महत्त्वपूर्ण हुने जनाएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले आफूसँग पर्याप्त औषधि रहेको जनाएका छन् । अधिकारीहरूले यो औषधि भ्याक्सिन अथवा उपचार नभएको तर गम्भीर बिरामीलाई सहयोग पुग्ने औषधि भएको जनाएका छन् । यो औषधि अमेरिका, भारतलगायत केही देशमा समेत कोरोना भाइरसका गम्भीर बिरामीलाई प्रयोग गर्न अनुमति दिइसकिएको छ ।

प्रकाशित : असार ३१, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?