१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फ्रान्समा स्वास्थ्य क्षेत्र सुधार्न ८१ अर्ब युरो

स्वास्थ्य क्षेत्रका कर्मचारीको न्युनतम तलब मासिक १ सय ८३ युरोका दरले वृद्धि हुने
ददि सापकोटा

पेरिस — फ्रान्स सरकारले स्वास्थ्य सेवा सुधार, स्वास्थ्यकर्मीकालागि तलब, सेवा र सुविधा वृद्धिका लागि ८१ अर्ब युरोको प्याकेजको घोषणा गरेका छन् । प्रधानमन्त्रीको आर्थिक प्याकेज घोषणासँगै स्वास्थ्यकर्मीहरुले गर्दै आएको आन्दोलन टुंगिएको छ । स्वास्थ्य सेवासँग सम्बन्धित मजदुर युनियन र सरकारबीच भएको सम्झौताअनुसार उक्त प्याकेज सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री जाँ कार्तेक्सले ‘स्वास्थ्यमा आम सुधार’ प्याकेजमा हस्ताक्षर गरेका हुन् । उनले स्वास्थ्य प्रणाली सुधारका लागि यो ‘ऐतिहासिक पल’ भएको बताएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ‘यो ऐतिहासिक प्रयासले कोरोना भाइरसको महामारीविरूद्ध पहिलो मोर्चामा उभिएर लड्ने स्वास्थ्यकर्मीका लागि ठूलो मान्यता राख्छ,’ प्रधानमन्त्रीले भनेका छन् । लोकतन्त्रमा सामाजिक बहसमार्फत सबैले फाइदा लिन सक्ने सम्झौताबाट पुष्टि भएको उनको भनाइ छ ।

‘म धेरै युनियन तथा रोजगारदाताका प्रतिनिधिलाई चिन्दछु जो मेरो पछाडि छन् । वार्ता, छलफल, समझदारी, फेरि वार्ता सधै प्रभावकारी हुन्छ । द्वन्द्व र हिंसाभन्दा माथि रहेर सोच्न सकियो भने यो नै उत्कृष्ट उपाय हो,’ कार्तेक्सले भने ।

मजदुर यूनियनसँगको सात साता लामो रसाकस्सीपछि सरकारले उक्त प्याकेज ल्याएको हो । सम्झौतामा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र स्वास्थ्य सेवासित सम्बन्धित युनियनका अधिकारीहरुले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्यारामेडिकल क्षेत्रका नर्सहरू, नर्सिङ सहयोगीहरू, फिजियोथेरापिस्ट, स्वास्थ्य क्षेत्रका टेक्निसियन, स्ट्रेचबाहक, प्रशासनिक एजेन्टलगायतले मासिक रुपमा तलब पाउने छन् ।

स्वास्थ्यमन्त्री ओलिभिय भेराका अनुसार अब स्वास्थ्य क्षेत्रका कर्मचारीको न्युनतम तलब मासिक १ सय ८३ युरोका दरले वृद्धि हुने छ । तर त्यसका लागि यो सम्झौतालाई संसद्ले भने पारित गर्नुपर्ने छ । पहिलो चरणमा सेप्टेबर १ मा ९० युरो र दोस्रो चरणमा मार्च १ मा ९३ युरो वृद्धिका लागि संसद्‍मा मतदान हुने जनाइएको छ ।

त्यसैगरी, रात्रीकालीन समयमा, बिदाका दिनमा र निजी क्षेत्रमा काम गर्नेहरुका हकमा समेत तलब तथा सुविधा वृद्धि हुनेछ । लगातार १५ वर्षसम्म सरकारी वा निजी क्षत्रेमा काम गर्दै आएका चिकित्सकका लागि मासिक ७ सय युरो वृद्धि गरिएको छ । सरकार र युनियनबीच स्वास्थ्य सेवा सुधारका विषयमा लामो समयदेखि असमझदारी रहेको थियो । स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा सुधारको माग गर्दै आन्दोलन गर्दै आएका थिए । उनीहरुले स्वास्थ्य सेवा सुधारका लागि सार्वजनिक रुपमा छलफल गरी आर्थिक प्याकेजको माग गरेका थिए ।

सरकारले यो स्वास्थ्य सेवा प्याकेज ल्याएसँगै स्वास्थ्य सेवा विभाग, अन्य निजी स्वास्थ्यसेवाकर्मी र केही स्वास्थ्य मजदुर युनियनहरुले आपत्ति जनाएका छन् । स्वास्थ्यकर्मीका लागि ल्याइएको आर्थिक प्याकेजले अन्य क्षेत्रका कर्मचारीमा निराशा बढाउने तथा सुविधा थपको माग गर्दै आन्दोलन चर्किनसक्ने कतिपयको आंकलन छ ।

प्रकाशित : असार ३०, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?