२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कोरोना महामारीपछि पहिलो पटक ट्रम्पले लगाए मास्क

एजेन्सी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्कमा देखिएका छन् ।सार्वजनिक स्थलमा मास्कबिनै उपस्थित हुने गरेका ट्रम्पले शनिबार मेरिल्यान्डस्थित सैनिक अस्पतालको भ्रमणका क्रममा मास्क लगाएका हुन् ।

कोरोना महामारीपछि पहिलो पटक ट्रम्पले लगाए मास्क

वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उनले घाइते सैनिकहरुलाई भेटेका थिए । .यसभन्दा पहिले ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले हालसालै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनले मास्क लगाएको कुराप्रति पनि टिप्पणी गरेका थिए । शनिबार भने उनी ह्वाइट हाउसबाटै मास्क लगाएर निस्किएका थिए । अस्पतालमा धेरै मान्छेसँग भेट हुने र उनीहरुले मास्क लगाओस् भन्ने चाहना व्यक्त गर्ने भएकाले आफूले मास्क लगाएको ट्रम्पले बताएका छन् । ट्रम्पले भने, ‘म मास्क लगाउने कुराको विरुद्धमा कहिल्यै पनि थिइनँ । तर मलाई लाग्छ हरेक कुराको एउटा समय र एउटा ठाउँ हुन्छ ।’

कोरोना महामारीको संक्रमण फैलिएसँगै अप्रिलमा अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी) सार्वजनिक स्थलमा सबैलाई मास्क लगाउन आग्रह गरेको थियो । तर राष्ट्रपति ट्रम्पले भने आफूले मास्क नलागउने बताएका थिए । उनले आफ्ना सहयोगी र कर्मचारीहरुको नियमित जाँच भइरहेकाले आफूले मास्क लगाउनै नपर्ने जिकिर गर्दै आएका थिए ।

कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो । आइतबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ३२ लाख ४५ हजार नाघेको छ भने एक लाख ३४ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १० लाख निको भएका छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २६ लाख नाघेको छ । त्यस्तै विश्वभर कोरोनाबाट ५ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब ७० लाख निको भएका छन् ।

प्रकाशित : असार २८, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?