भारतमा ८ सुरक्षाकर्मी हत्या आरोपी प्रहरीसँगको मुठभेडमा मारिए

(एजेन्सी)

लखनउ — भारतको उत्तर प्रदेशमा ८ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुन्डा नाइके विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन् । उत्तर प्रदेशको कानपुरमा गत साता प्रहरीसँगको झडपपछि उनी फरार भएका थिए । उत्तर प्रदेश प्रहरीका अनुसार उनलाई मध्य प्रदेशको उज्जैनमा पक्राउ गरिएको हो ।

भारतमा ८ सुरक्षाकर्मी हत्या आरोपी प्रहरीसँगको मुठभेडमा मारिए

पक्राउलगत्तै प्रदेशको स्पेसल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडक मार्गमार्फत कानपुरतर्फ लग्दै गर्दा एउटा गाडी पल्टिएको थियो ।

त्यसपछि दुबेले प्रहरीको पेस्तोल खोसेर भाग्ने प्रयास गरेपछि गोली चलाएको प्रहरीको दाबी छ । प्रहरी अधिकारी मोहित अग्रवालका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । अग्रवालका अनुसार प्रहरीले दुबेलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो । तर उनले प्रहरीमाथि गोली चलाएपछि आफूहरू जवाफी कारबाही गर्न बाध्य भएको अग्रवालले बताए । तर दुबेलाई कति गोली लाग्यो भन्ने जनाइएको छैन ।

घटनामा चार प्रहरी घाइते भएका छन् । उनीहरूको कानुपरस्थित सीएससी अस्पतालमा उपचार जारी रहेको बताइएको छ । प्रहरीले घटनाबारे थप जानकारी दिने जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

एक साताअघि दुबेले नेतृत्व गरेको आपराधिक समूहलाई पक्राउ गर्न जाँदा उनीहरूको आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको मृत्यु भएको थियो । घटनापछि फरार दुबेलाई मध्य प्रदेशको एक मन्दिरमा पक्राउ गरिएको हो । बिहीबार सबेरै दुबेलाई उज्जैन सहरमा देखेपछि एक स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । प्रहरीले उनका एक प्रमुख सहयोगी अमर दुबेको बुधबार गोली हानाहानमा मृत्यु भएको बताएको थियो ।

प्रहरीका अनुसार दुबेका अन्य दुई सहयोगी पनि बिहीबारका कारबाहीमा मारिएका थिए । विकास दुबेमाथि हत्या, अपहरण र फिरौती उठाउने घटनामा संलग्न भएका ६० वटाभन्दा बढी अभियोगहरू लगाइएको थियो ।

प्रहरीका अनुसार दुबे झन्डै तीन दशकदेखि आपराधिक गतिविधिमा संलग्न थिए । यसअघि पनि पक्राउ परेका दुबेले कुनै पनि अभियोगमा भने सजाय पाएका थिएनन् ।

प्रकाशित : असार २६, २०७७ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?