१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमेरिकामा अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई स्वदेश फर्काइने

एजेन्सी

वासिङ्टन — अमेरिकी विश्वविद्यालयले कोरोना महामारीका कारण अनलाइन कक्षा सुरु गरेसँगै त्यहाँ अध्यननरत विदेशी  विद्यार्थी मर्कामा पर्ने भएका छन् । सोमबार अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट(आईसीई)ले अमेरिकामा हाल अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थी स्वदेश फर्कनुपर्ने बताएको छ ।

अमेरिकामा अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई स्वदेश फर्काइने

यो निर्णयसँगै अमेरिकामा अध्ययनरत हजारौं विद्यार्थी, विभिन्न तालिममा सहभागी हुन गएका विदेशी विद्यार्थीहरु प्रभावित हुने भएका छन् ।

कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएसँगै अधिकांश अमेरिकी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सुरु गरेका छन् । विश्वकै प्रतिष्ठित हार्वड विश्वविद्यालयले क्याम्पस परिसरमा रहेका विद्यार्थीलाई समेत अनलाइनमार्फत पढाइरहेको छ । तर अमेरिकाको पछिल्लो निर्णयले भने यसरी अनलाइनमार्फत पढिरहेका विदेशी विद्यार्थी स्वदेश फर्कन बाध्य हुने भएका छन् ।

आईसीईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस शैक्षिक सत्रमा भर्ना भएर अनलाइन कोर्स गरिरहेका विद्यार्थीलाई भिसा जारी नगर्ने बताएको छ । आईसीईले अहिले अनलाइनमार्फत पढिरहेका विद्यार्थीलाई पनि भौतिक रुपमै उपस्थित भएर पढाइ हुने कलेज तथा विश्वविद्यालयमै ट्रान्सफर गर्न सुझाव दिएको छ ।

कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले आप्रवासन नीतिमा व्यापक फेरबदल गरिरहेको छ । यसले अमेरिकामा रहेका आप्रवासी र अमेरिका जाने तयारीमा रहेका विदेशी नागरिक समस्यामा परेका छन् ।

प्रकाशित : असार २३, २०७७ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?