१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोभिडविरुद्धको खोप बनाउने भारतीय घोषणा विवादित

विश्वका अनुसन्धानकर्ताहरूले डेढ महिनाभन्दा कम अवधिमा कुनै पनि नयाँ खोप मानव प्रयोगका लागि तयार हुनु असम्भव भएको भन्दै भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले ल्याउने भनेको खोपको अनुसन्धान र परीक्षणमै प्रश्न उठाएका छन् ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको स्वास्थ्य अनुसन्धान परिषद् (आईसीएमआर) ले अगस्ट १५ भित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने घोषणा विवादमा तानिएको छ । परिषद् भारतको बायोमेडिकल अनुसन्धानको नियमन, समन्वय र प्रवर्द्धन गर्ने सर्वोच्च संस्था हो ।

कोभिडविरुद्धको खोप बनाउने भारतीय घोषणा विवादित

परिषद्का प्रमुख डा. बलराम भार्गवले गत बिहीबार कोभिडविरुद्ध तयार पारिएको ‘कोभ्याक्सिन’ खोपको हालसम्मको परीक्षण सफल रहेको र अगस्ट १५ भित्र सर्वसाधारणमा प्रयोगमा ल्याउने गरी त्यसअगावै सबै किसिमका क्लिनिकल ट्रायल सम्पन्न गरिसक्न विभिन्न १२ वटा परीक्षण केन्द्रलाई पत्राचार गरेपछि त्यसलाई लिएर विवाद सिर्जना भएको हो ।

यति छोटो अवधिमा खोप ल्याउने घोषणाप्रति वैज्ञानिक र अनुसन्धानकर्मीहरूले समेत प्रश्न उठाएका छन् । यसले भारतका मात्र होइन पश्चिमा मुलुकका अनुसन्धानकर्मीहरूलाई पनि आश्चर्यमा पारेको छ ।

कोभिड–१९ को खोपका लागि संसारभरका कहलिएका अनुसन्धान संस्थानहरू भिडिरहेका बेला परिषद्को डेढ महिनाभित्रै नयाँ खोप प्रयोगमा ल्याउने घोषणाले उनीहरूलाई आश्चर्यमा पार्नु अस्वाभाविक होइन । सँगै उनीहरूले यति छोटो अवधिमा कुनै पनि नयाँ खोप मानव प्रयोगका लागि तयार हुनु असम्भव भएको भन्दै परिषद्ले ल्याउने भनेको खोपको अनुसन्धान र परीक्षणमै प्रश्न उठाएका छन् ।

बेलायत, अमेरिकालगायत मुलुकहरू भइरहेको अनुसन्धानले कोभिड–१९ विरुद्धको खोप बजारमा ल्याउन कम्तीमा पनि एकदेखि डेढ वर्ष लाग्ने देखाएको छ । त्यही भएर कतिपय विशेषज्ञहरूले एक महिनाभित्र खोपका लागि गर्नुपर्ने तीन चरणको परीक्षण सम्भव नभएको भन्दै चाँडै खोप ल्याउने नाममा मानव स्वास्थ्यमै खेलवाड गर्न लागिएको समेत आरोप लगाएका छन् ।

खोपको विकास आईसीएमआर र पुनेस्थित नेसनल इन्स्टिच्युट अफ भायरोलोजीसँगको समन्वयमा भारत बायटेक इन्टरनेसनल लिमिटेडले काम गरिरहेको छ । हालसम्मको परीक्षण उत्साहजनक रहेको पनि आईसीएमआरले जनाएको छ ।

खोपको पूर्वचिकित्सकीय अध्ययनका तथ्यलाई गहिरो अध्ययनपछि औषधि महानियन्त्रण कार्यालयले पहिलो र दुई चरणको मानवमा गरिने क्लनिकल परीक्षणको अनुमति दिइएको बताइएको छ । यही परीक्षणका लागि आईसीएमआरले अगस्ट १५ भित्र सक्न भन्दै गत बिहीबार सबैलाई परीक्षण केन्द्रलाई पत्राचार गरेको थियो । त्यसपछि परीक्षणलाई लिएर प्रश्न उठेको थियो । साथै परीक्षणमा सहभागी हुन चाहनेहरूका लागि ७ जुलाईसम्म छनोट गरिसक्न पनि परिषद्ले आदेश दिएको छ ।

सामान्यतया कुनै पनि खोपको परीक्षणका लागि कम्तीमा पनि एकदेखि डेढ वर्ष लाग्ने हुँदा परिषद्को परीक्षणको पछिल्लो निर्णय र परीक्षणमाथि नै प्रश्न उठेको हो ।

त्यसैगरी नयाँ खोप प्रयोगमा ल्याउनका लागि अगस्ट १५ को मिति तोक्नुका पछाडि राजनीतिक कारण रहेको समेत दाबी गरिएको छ । विपक्षी पार्टीहरूले आईसीएमआरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुकूल हुने गरी समयसीमा राखेको दाबी गरे ।

खोप सार्वजनिक गर्ने दिन भारतको स्वतन्त्रता दिवस पर्छ । उक्त दिनमा भारतीय प्रधानमन्त्रीका तर्फबाट रणनीतिक र दूरगामी प्रभाव पार्ने घोषणा गर्ने परम्परा रहँदै आएको छ । विपक्षी दल र विशेषज्ञहरूले स्वतन्त्रता दिवसकै दिन खोप सफल भएको घोषणा गर्ने रणनीतिअनुरूप नै मिति तोकिएको दाबी गरेका छन् ।

तर आईसीएमआरले ती आरोपको खण्डन गर्दै खोपको परीक्षणका क्रममा सुरक्षा र व्यक्तिको अधिकारको सम्झौता नगरिने र विश्वव्यापी प्रचलित मापदण्ड पूरा गरिने जनाएको छ । आईसीएमआरले भने पूरा विश्व नै कोभिड–१९ महामारीले आक्रान्त भएकाले विभिन्न देशले मानिसहरूको ज्यान जोगाउनका लागि खोपको परीक्षण गरिरहेको र त्यही क्रममा भारतले पनि आफ्नै खोपको विकास गर्ने दिशामा अगाडि बढेको जनाएको छ । त्यसका लागि सुरक्षा, गुणस्तर, मापदण्डलगायत सबै सर्तहरू पूरा गरिने पनि उसले जनाएको छ ।

सामान्यतया कुनै पनि नयाँ खोप तीन चरणको मानव परीक्षणबाट गुज्रिन्छ । परिषद्ले समन्वय गरेको खोपका लागि पहिलो र दोस्रो चरणको अनुमति मात्र पाएको छ । त्यसका लागि सुरुमा करिब १५ महिना लाग्ने अनुमान गरिएको थियो ।

तर अहिले एक्कासि आएर डेढ महिनाभित्र सबै परीक्षण सक्ने भनिएपछि खोपको अनुसन्धान र परीक्षणविधिमाथि विशेषज्ञहरूले नै प्रश्न उठाएका हुन् । उनीहरूको भनाइमा खोपको परीक्षण दु्रत गतिमा गर्न सकिए पनि त्यसलाई बजारमा ल्याउन कम्तीमा एक वर्ष लाग्छ ।

यसरी प्रश्न उठाउनेमा दिल्लीस्थित एम्स्का निर्देशक रनदीप गुलेरिया छन् । उनी कोभिड–१९ को राष्ट्रिय कार्यदलको क्लिनिकल रिचर्स ग्रुपका प्रमुख हुन् । ‘अति चुनौतीपूर्ण र कठिन काम हो । यदि हामीले सकारात्मक नतिजा हात पारिहाल्यौं भने पनि ठूलो परिमाणमा उत्पादन गर्न त्यत्तिकै गाह्रो छ,’ गुलेरियालाई उद्धृत गर्दै भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले लेखेको छ ।

तर, आईसीएमआरले भने नागरिकहरूको बृहत् स्वास्थ्य हितलाई ध्यानमा राखी परीक्षणलाई तीव्रता दिइएको आईसीएमआरको दाबी छ । त्यसैगरी परिषद्ले खोपको विकासको प्रक्रियालाई प्रशासनिक प्रक्रियाका हुने र झन्झटबाट मुक्त राख्न खोजिएको समेत जनाएको छ ।

भारतमा कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिरहेको छ । सोमबार साँझसम्ममा भारतमा भाइरस संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरूको सूचीमा रुसलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।

संक्रमितमध्ये १९ हजार २ सय ६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । र, ४ लाखभन्दा बढी उपचारपछि निकोसमेत भइसकेका छन् । संक्रमण बढ्दै गएपछि भारत सरकारले परीक्षण, क्वारेन्टाइन र बिरामीहरूको उपचारलगायतमा ठूलो दबाब सामना गर्नुपरेको छ ।

उपचार व्यवस्था कमजोर भएकोमा चर्को आलोचनासमेत भइरहेको छ । त्यही आलोचना र दबाबलाई ओझेल पार्न सरकारको निर्देशनमा परिषद्ले अर्को महिना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउने घोषण गरेको आलोचकहरूको दाबी छ ।

प्रकाशित : असार २३, २०७७ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?