१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जापानमा बाढीले मृत्यु हुनेको संख्या ४४ पुग्याे

एजेन्सी

टोकियो — जापानमा केही दिनदेखिको लगातार वर्षासँगैको बाढीका कारण ज्यान गुमाउनेहरुको संख्या ४४ पुगेको छ ।

जापानमा बाढीले मृत्यु हुनेको संख्या ४४ पुग्याे

जापानको दक्षिण–पश्चिमी क्युसु क्षेत्र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानको मौसमसम्बन्धी निकायका अनुसार अझै केही दिन वर्षा भइरहने जनाएको छ ।

अधिकारीका अनुसार बाढीका कारण १ लाख १७ हजार घरपरिवारका २ लाख ५४ हजार जना प्रभावित भएका छन् । तीमध्ये कतिपयलाई अन्यत्र सारिएको जनाइएको छ ।

प्रभावितमध्ये १ हजार ५ सय जनालाई अस्थायी शरणार्थी शिविरमा राखिएको छ । उनीहरुका लागि ८६ शिविरहरु बनाइएको अधिकारीहरुले जनाएका छन् । बाढी र डुबानका कारण कम्तीमा १० जना हराइरहेका समाचार संस्था एएफपीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत्, खानेपानी, सडकलगायतका सञ्जाल तोडिएको छ । घटनामा परेका अरू केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । उद्धारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झन्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीका कारण कुमा नदीवरिपरि रहेका दर्जनौं घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले डुबानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ । डुबानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित : असार २२, २०७७ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?