कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

इंग्ल्यान्डमा अझै खुकुलियो लकडाउन

होटल, रेस्टुरेन्ट, पब, सैलुन, सिनेमा हललगायत व्यवसाय शनिबारदेखि पुन: सुचारु भएका छन् ।
नवीन पोखरेल

लन्डन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम हुँदै गएपछि इंग्ल्यान्डमा लकडाउन अझै खुकुलो बनाइएको छ । करिब तीन महिनादेखि बन्द रहेका इंग्ल्यान्डका पब, रेस्टुरेन्ट र होटलहरू शनिबारदेखि सञ्चालनमा आएका छन् । त्यसैगरी सैलुन, सिनेमालगायत व्यवसाय सञ्चालन गर्ने अनुमति पनि दिइएको छ ।

इंग्ल्यान्डमा अझै खुकुलियो लकडाउन

लामो समयपछि सप्ताहान्तमा खुलेका सैलुनमा कपाल काट्न मानिसहरूको बिहानैदेखि निकै भीड लागेको थियो । शनिबारदेखि नै दुई घरका मानिसहरू आउटडोर, इन्डोर भेटघाट गर्न र रात बस्नसमेत पाउने नियम ल्याइएको छ ।

३० जनासम्मको जमघटमा बिहे समारोह र प्रार्थना अनि पूजा गर्ने ठाउँहरू पनि खुलेका छन् । आउटडोर जिम, बालबालिकाका खेल मैदान, पुस्तकालय, कम्युनिटी सेन्टर, बिंगो हल, संग्रहालय, फन फेयर, थिम पार्क, सोसियल क्लब आदि पनि खुला भएका छन् । लेस्टरमा भने संक्रमण बढेका कारण त्यस क्षेत्रमा पूर्ण लकडाउन गरिएको छ ।

पब, रेस्टुरेन्टमा एक मिटरभन्दा बढी सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियम भने अनिवार्य गरिएको छ । इंग्ल्यान्डका करिब ३७ हजार ५ सय पबमध्ये २८ हजार पब सरकारको निर्देशिकाअनुसार कम्तीमा एक मिटरको दूरी कायम गर्दै सेवा दिन सक्षम रहेका ब्रिटिस बियर एन्ड पब्स् एसोसिएसनले जनाएको छ ।

यूकेस्थित व्यवसायीहरूको संस्था ट्रेड यूकेले यो सप्ताहान्तमा इंग्ल्यान्डका कुल पब र बारहरूमध्ये ५३ प्रतिशत र रेस्टुरेन्टमध्ये ४७ प्रतिशत खुल्ने र झन्डै ९० लाख मानिस त्यहाँ पुग्ने अनुमान गरेको छ ।

इंग्ल्यान्डमा जस्तै नर्दन आयरल्यान्डमा पनि शुक्रबारदेखि उल्लेखित व्यवसाय सञ्चालन हुँंदैछन् । स्कटल्यान्डमा आउँदो सोमबारदेखि खुलाइँदै छ भने वेल्समा अझै मिति तय गरिएको छैन ।

सरकारका वैज्ञानिक सल्लाहकारहरूले भने लकडाउन खुकुलो पारिनुको अर्थ जोखिम हटिसकेको भन्ने नभएको बताएका छन् । बेलायतमा कोभिड–१९ का कारण शुक्रबार पनि १३७ जनाको मृत्यु भएको छ । हालसम्म मर्नेको संख्या ४४ हजार १ सय ३१ पुगेको छ । संक्रमित संख्या करिब दुई लाख ८५ हजार छ ।

उत्साहित छैनन् व्यापारी

बेलायत सरकारको लकडाउन घोषणासँगै वेस्ट बाइफ्लिटस्थित न्यु हवेली रेस्टुरेन्टको ढोका नियमित ग्राहकका लागि बन्द भयो । मार्च २३ देखि बन्द फाइन डाइन आजदेखि सुचारु भएको छ ।

सरकारले केही ‘कम्प्लाइन्स’ सहित रेस्टुरेन्ट, पब र होटल खोल्न अनुमति दिएकाले हवेलीको ढोका पनि खुलेको हो । विगत ११ वर्षदेखि सञ्चालित न्यु हवेलीका नियमित ग्राहक रेस्टुरेन्ट खुलेकामा दंग छन् । तर, सञ्चालक सुनिलबाबु खड्कामा त्यस्तो खासै उत्साह देखिएन ।

‘सरकारको निर्देशिकाअनुसार व्यवसाय सुचारु गर्न निकै झन्झट छ । फाइन डाइनभन्दा त बरु टेक अवे सजिलो’, खड्काले भने, ‘सामाजिक दूरी, ग्राहकलाई क्युमा राख्न नपाइने, टेबलमा कटलरी राख्न नपाइने, पेपर नेपकिन, पेपर मेनु वा डिस्पोजेबल सामग्री, सेनिटाइजर व्यवस्था आदिले व्यवसाय सहज देखिन्न ।’

महामारीपछि हस्पिटालिटी क्षेत्र न्यूनतम १८ महिनादेखि तीन वर्षसम्म नउकासिने विश्लेषण खड्काको छ । ‘सरकारले साना तथा मझौला व्यवसायलाई धेरै सपोर्ट गर्‍यो तर, बेलैमा लकडाउन नगर्दा हजारौं सर्वसाधारणले ज्यान गुमाउँदा दु:ख लाग्छ,’ खड्काले भने ।

लकडाउनपछि ५ साता पूर्ण रूपमा बन्द भएर पछि टेक अवे सेवा दिइरहेको एभरेस्ट इन रेस्टुरेन्टले पनि बसेर खाने ग्राहकका लागि ढोका खोलेको छ । ‘हाम्रा नियमित ग्राहकले फोन, इमेलमार्फत धेरै पर्खन सक्दैनौं भनिरहँदा रिफर्भिससहित पुन: सञ्चालन गरेका छौं,’ एभरेस्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले सुनाए ।

लकडाउनका बेला नि:शुल्क लन्च बक्स र उही मूल्य राखेर अतिरिक्त सेवा दिएका कारण ग्राहक आउलान् कि भन्ने झिनो आशा भण्डारीको छ । तर सरकारी नियमले व्यापार सोचेजस्तो नहुनेमा ढुक्क छन् उनी ।

‘एक मिटर प्लस सामाजिक दूरी हस्पिटालिटी क्षेत्रका लागि त्यति व्यावहारिक छैन,’ भण्डारीले भने, ‘यसो हुँदा ६० प्रतिशतजति मात्र व्यापार कभर गर्न सक्छ ।’ सन् २०२० को अन्त्यसम्म हस्पिटालिटी व्यवसायमा संकट कायमै रहने भण्डारीको अनुमान छ ।

तीन दशकभन्दा पुरानो मुनाल तन्दुरी रेस्टुरेन्टका सञ्चालक विजय थापाले पनि क्याबिन बनाएर रेस्टुरेन्ट सुरु गरेका छन् । ‘हो अतिरिक्त खर्च लाग्यो । तर ग्राहकको सुरक्षा र उनीहरूमा आत्मविश्वास बढ्यो भने फेरि पनि खान आउलान् भन्ने सोचले क्याबिन बनाएको हुँ,’ थापाले बताए । नयाँ सरकारी नियमले आफ्नो रेस्टुरेन्टमा १५ प्रतिशत जति सिट क्षमता घटेको उनी बताउँछन् ।

कोभिड–१९ महामारीले धेरै व्यवसाय अप्ठेरोमा गुज्रिरहेका नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्षसमेत रहेका थापाको अनुभव छ । ‘सरकारले सहयोग गरेको हो तर दीर्घकालीन रूपमा व्यवसाय फस्टाउने सम्भावना कम छ । धेरै बन्द हुने देखिएको छ,’ थापाले भने ।

महामारीमा नेपाली रेस्टुरेन्टले खुवाए नि:शुल्क खाना

महामारीका बेला नेपाली रेस्टुरेन्टले व्यापार बन्द भए पनि स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएका आपत्कालीन सेवाका कर्मचारीलाई नि:शुल्क खाना खुवाएर मानवीय भावना प्रस्तुत गरे ।

न्यु हवेलीका सञ्चालक खड्काले कि वर्कर, एनएचएस स्टाफ र ७० वर्षमाथिका वृद्धवृद्धालाई करिब ५ सय बट्टा खाना नि:शुल्क बाँडिएको बताए । ७० वर्षमाथिका वृद्धवृद्धाका लागि घरमै खाना उपलब्ध गराएका खड्काले प्रत्येक बिहीबार एनएचएस कर्मचारी र अरू दिन रेस्टुरेन्टमै आउनेलाई नि:शुल्क खाना बाँडेका थिए । ‘कम्युनिटीले दिएको छ भने हामीले पनि दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ खड्काले भने ।

एभरेस्ट इनले केयर होमका वृद्धवृद्धा र मुख्य कामदारका लागि करिब १८ सय लन्चबक्स नि:शुल्क वितरण गरिएको जनाएको छ ।

अल्डरसटको भेटघाट, फार्नबरोको गोर्खा प्यालेस, ग्रेसटस्थित बेलिफ, डोरसेटस्थित ‘द २९०२९’ लगायत अन्य कैयौं रेस्टुरेन्टले पनि किवर्करलाई नि:शुल्क खाना खुवाएका थिए ।

प्रकाशित : असार २१, २०७७ ०६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?