कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना रोक्न उत्तर कोरिया सफल : किम

एजेन्सी

सोल — उत्तर कोरियाली नेता किम जोङ–उनले कोरोना भाइरस (कोभिड–१९) रोक्न आफ्नो देश सफल भएको जनाएका छन् । राज्य नियन्त्रित समाचार संस्था केसीएनएका अनुसार किमले कोभिडविरुद्ध आफ्नो देशले उदाहरणीय सफलता प्राप्त गरेको भन्दै राज्य संयन्त्रको प्रशंसा गरेको जनाएको छ ।

कोरोना रोक्न उत्तर कोरिया सफल : किम

पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले ‘घातक भाइरसको प्रवाह रोक्न सकेको र स्थिर अवस्था कायम गरेको’ बताएका केसीएनएले जनाएको छ ।

करिब ६ महिनाअघि कोभिड–१९ संसारभर फैलन थालेपछि उत्तर कोरियाले आफ्ना सीमा बन्द गर्दै हजारौं मानिसलाई क्वारेन्टाइनमा राखेको जनाएको थियो । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ । तर विश्लेषकहरूले भने उसको दाबीप्रति शंका व्यक्त गर्दै आएका छन् ।

किमले पोलिटब्युरो बैठकमा बोल्दै महामारीविरुद्धको ६ महिनाभन्दा लामो राष्ट्रिय संकटकालीन कामको विस्तृत विश्लेषण गरेका’ जनाइएको छ । बैठकमा बाल्दै उनले पार्टी केन्द्रीय समितिको दूरदर्शी नेतृत्व कोभिड–१९ नियन्त्रण गर्न सफल भएको’ बताएका केसीएनएले उल्लेख गरेको छ ।

तर किमले छिमेकी देशहरूमा भाइरस अझै क्रियाशील रहेको जनाउँदै महामारीविरुद्धको कार्यमा तत्काल आराम गर्ने अवस्था नरहेको बताए । उनले पार्टी केन्द्रीय समितिका पदाधिकारीलाई ‘अझै केही समय सतर्कता’ कायम गर्नका लागि जोड दिन निर्देशनसमेत दिएका छन् ।

‘अहिलेको अवस्थामा त्रुटि भएमा महामारीले अकल्पनीय र अपूरणीय संकट निम्त्याउन सक्छ,’ किमलाई उद्धृत गर्दै केसीएनएले लेखेको छ । जनवरीको अन्त्यदेखि नै उत्तर कोरिया बन्द रहेको अवस्थामा कोभिड–१९ फैलिए वा नफैलिएको केही यकिन हुन नसकेको बीबीसीले जनाएको छ ।

यसअघि भाइरस संक्रमणका केही अपुष्ट विवरण सार्वजनिक भएका भए पनि राजधानी प्योङयाङको जनजीवन सामान्य रहेको सूचना बाहिर आएको छ । त्यसको अर्थ उत्तर कोरियामा भाइरसको संक्रमण देखिएकै भए पनि स्थिति सामान्य रहेको प्रस्ट हुन्छ ।

गत जनवरी ३० मा सीमा बन्द गरेको उत्तर कोरियाले राजधानी प्योङयाङमा सयौं विदेशीलाई क्वारेन्टाइनमा राखेको जनाएको थियो । त्यसका साथै उसले हजारौं उत्तर कोरियालीलाई पनि आइसोलेसनमा राख्न विद्यालयहरूसमेत बन्द गरेको थियो ।

उत्तर कोरियाले अहिले विद्यालयहरू खोलेको भए पनि सार्वजनिक भेलाहरूमा प्रतिबन्ध कायम राखेको थियो । त्यसका साथै सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरेको थियो । विश्व स्वास्थ्य संगठनले उत्तर कोरियामा हालसम्म ९ सय २२ जनालाई परीक्षण गरिए पनि कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ ।

प्रकाशित : असार २०, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?