१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारतको उत्तर प्रदेशमा ८ प्रहरी मारिए

(एजेन्सी)

कानपुर — भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एक अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरी टोलीमाथि गरिएको आक्रमणमा ८ प्रहरीको ज्यान गएको छ । आक्रमणमा एक प्रहरी नायब निरीक्षकसहित ८ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

उत्तर प्रदेश प्रहरीका अनुसार घटना शुक्रबार बिहान सबेरै भएको हो । लामो समयदेखि अपराधमा संलग्न विकास दुवेको घरमा उनीसहित अन्य सहयोगी रहेको सूचनापछि प्रहरीले शुक्रबार बिहान घर घेरा हालेको थियो ।

तर घरभित्र रहेका व्यक्तिले चलाएको गोली लागी प्रहरी नायब निरीक्षक देवेन्द्र मिश्रसहित ८ जना प्रहरीको घटनास्थलमै ज्यान गएको हो । शुक्रबार बिहानै उक्त क्षेत्रमा उत्तर प्रदेश प्रहरी प्रमुखसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

उनीहरुले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएका छन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउने प्रहरी अधिकारीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीमाथि कडा कारबाही हुने जनाएका छन् ।

प्रकाशित : असार १९, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?