१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्यान्मारको खानीमा पहिरो, कम्तीमा १६० जनाको मृत्यु

(एजेन्सी)

म्यान्डले, म्यान्मार — म्यान्मारको उत्तरी क्षेत्रमा रहेको एक खानीमा बिहीबार पहिरो जाँदा कम्तीमा १ सय ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

म्यान्मारको खानीमा पहिरो, कम्तीमा १६० जनाको मृत्यु

कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरू पहिरोले पुरिएका हुन् । खानीबाट फालिएको माटो र ढुंगामा हुने जेडका स–साना टुक्रा खोज्न सयौं मानिसहरू उक्त क्षेत्रमा भेला हुने गरेका छन् ।

म्यान्मारको आपत्कालीन उद्धार निकायले लगातारको वर्षापछि ठूलो क्षेत्रको माटो बगेपछि ‘जेड’ खोज्न गएका मानिसहरू पुरिएका जनाएको छ । उद्धार कार्य जारी रहेको जनाउँदै निकायले मृतकहरूको संख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

म्यान्मारको आगलागी नियन्त्रण विभागले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘भारी वर्षापछि आएको हिलोको ठूलो छालले जेड खोज्न गएका मानिसहरू पुरिएका हुन् ।’

सूचना मन्त्रालयका एक अधिकारीले हिलोले पुरिएका १ सय ६० शव निकालिएको जनाएका छन् । मृतकको संख्या २ सयभन्दा बढी रहेको अनुमान गरिएको उनको भनाइ छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका अधिकांश मानिसले ती क्षेत्रहरूमा काम नगर्न तथा नजान दिइएको चेतावनी उल्लंघन गरेका थिए । प्रहरीले खानी क्षेत्रहरू जोखिमयुक्त रहेका भन्दै बुधबार चेतावनी जारी गरेको थियो ।

घटनास्थलबाट प्राप्त भिडियोमा निकै ठूलो क्षेत्र पहिरोले सखाप भएको देखिएको बीबीसीले जनाएको छ । एक प्रत्यक्षदर्शीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै घटनाको वर्णन गरेका छन् ।

‘निकै अग्लो माटोको ढिस्को खस्न लागेपछि कतिपय मानिसहरू भागौंभागौं भन्दै दौडिएका थिए,’ उनले भने, ‘तर त्यसको केही मिनेटमै पहाडको तल्लो भेगमा रहेका दर्जनौं मानिसहरू पुरिए ।’ उनका अनुसार तीमध्ये कतिपय मानिसहरूले सहयोगको याचना गरिरहेका थिए । ‘तर त्यहाँ उद्धारका लागि केही थिएन,’ उनले भने ।

म्यान्मार बहुमूल्य रत्न ‘जेड’ प्रमुख स्रोत हो । म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकम बराबरको जेड कारोबार गर्छ । तर सुरक्षा उपायहरूको अभावमा त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् । गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा एक सय जनाभन्दा बढीको मृत्यु भएको थियो ।

पाकन्ट क्षेत्रमा खानी सञ्चालनका कारण वर्षायाममा निकै ठूलो पहिरोहरू जाने गरेका छन् । सन् २०१६ मा आङ सान सुचीले उक्त क्षेत्रका खानी व्यवस्थित गर्ने प्रतिबद्धता जनाएकी थिइन् । तर प्रगति भने खासै नभएको आलोचकहरूको भनाइ छ ।

म्यान्मारको उत्तरी राज्य कचिन भारत र चीनसँग सीमा जोडिएको छ । प्राकृतिक स्रोतहरूले निकै धनी भएका कारण कचिनमा सैनिक र विद्रोहीबीच बारम्बार भिडन्तहरूसमेत हुने गरेका छन् । तर बहुमूल्य जेड खानी क्षेत्र भने पूर्णरूपमा आफ्नो नियन्त्रणमा रहेको सरकारको दाबी छ ।

ती खानीहरूबाट हुने आम्दानीको अधिकांश हिस्सा म्यान्मारको सेनाले नियन्त्रण गर्ने गर्छ । त्यसैगरी, उक्त क्षेत्रको मुख्य विद्रोही समूह कचिन स्वतन्त्र सेनाले पनि आफ्नो खर्च जेडको व्यापारबाट धान्ने गरेको छ ।

उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद उ तिन सोयका अनुसार सरकारले उक्त क्षेत्रका खानी जुलाई १ देखि सेप्टेम्बर ३० सम्म पूर्णरूपमा बन्द गर्न आदेश दिएको जनाएका छन् । ‘सरकारले त्यो क्षेत्रमा निकै खतरा रहेको भन्दै उनीहरूलाई काम बन्द गर्न निर्देशन दिएको थियो,’ उनले भने, ‘तर खानी कम्पनीहरूले काम रोकेपछि गैरकानुनी जातीय सशस्त्र समूहले पैसा लिएर गैरकानुनी खानी सञ्चालकलाई काम गर्न दिएका थिए ।’

उक्त क्षेत्रमा हाल करिब एक लाख मानिसले काम गरिरहेकाले उनीहरूलाई हटाउन असम्भव रहेको सोयको भनाइ छ । ‘यदि मानिसहरूले त्यहाँ अझै काम गर्न छाडेनन् भने फेरि पहिरो आउने निश्चित छ । तर उक्त क्षेत्रमा कानुनी शासन छैन, त्यसैले उनीहरूलाई रोक्न निकै कठिन छ,’ उनले भने ।

प्रकाशित : असार १८, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?