लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी

वेलिङ्टन — न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणमा सरकारको कदम र स्वास्थ्यमन्त्री आफैले लकडाउन उल्लंघन गरेको भन्दै व्यापक आलोचना भएपछि क्लार्कले बिहीबार पत्रकार सम्मेलनमार्फत् राजीनामाको घोषणा गरेका हुन् ।

लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

गत अप्रिलमा लकडाउन उल्लंघन गर्दै परिवारसहित समुद्री किनारमा घुम्न गएपछि स्वास्थ्यमन्त्री क्लार्कको कडा आलोचना भएको थियो । न्युजिल्यान्डमा लकडाउन लागू भएपछिको पहिलो सप्ताहन्तमा गाडी चलाएर उनी करिब २० किलोमिटर पर रहेको समुद्री किनारमा घुम्न निस्किएका थिए ।

क्लार्कले आफू स्वास्थ्यमन्त्रीको पदमा बसिरहँदा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमप्रति नकारात्मक टिप्पणी बढ्ने भन्दै राजीनामा दिएको बताएका छन् । बीबीसीका अनुसार प्रधानमन्त्री जसिन्डा आर्डनले क्लार्कको राजीनामा स्वीकृत गरिसकेकी छिन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा न्युजिल्यान्डले चालेका कदमको विश्वभरबाट प्रशंसा भइरहे पनि मुलुकभित्रै भने स्वास्थ्यमन्त्री क्लार्कको व्यापक आलोचना भइरहेको थियो । उनले पहिले नै राजीनामा दिने बताए पनि त्यतिबेला संक्रमण नियन्त्रणमा आइनसकेकाले प्रधानमन्त्री आर्डनले स्वीकृत गरेकी थिइनन् । प्रधानमन्त्री आर्डनले स्वास्थ्यमन्त्री क्लार्कको राजीनामाका विषयमा प्रतिक्रिया दिँदै मुलुकको स्वास्थ्य नेतृत्वले नागरिकको मतलाई सम्मान गरेको बताएकी छिन् ।

आउँदो सेप्टेम्बरमा चुनाव नभएसम्मका लागि स्वास्थ्यमन्त्रीको जिम्मेवारी शिक्षामन्त्री क्रिस हिप्किन्सले सम्हाल्नेछन् ।

न्युजिल्यान्डले हतारमा कोरोनामुक्त घोषणा गरे पनि पुन: संक्रमण देखिएको छ । मुलुक कोरोनामुक्त भएको भन्दै सरकारले अन्तर्राष्ट्रिय नाकाबाहेक सबै प्रतिबन्ध खुकुलो गरेको थियो । बिहीबार बिहानसम्म बेलायतमा कोरोना भाइरसका २२ जना संक्रमित रहेका छन् । अहिलेसम्म न्युजिल्यान्डमा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ । त्यस्तै एक हजार ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित : असार १८, २०७७ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?