कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मोदीको वैपो अकाउन्ट निष्क्रिय

लक्ष्मी लम्साल

बेइजिङ — भारत-चीन सीमा विवाद गहिरिँदै गएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ ट्वीटर मानिने वैपो अकाउन्ट (खाता) पनि निष्क्रिय बनाएका छन् । चिनियाँ सामाजिक सञ्‍जालमा अन्तरक्रिया गर्ने सक्रिय प्रयोगकर्तामध्ये भारतीय अभिनेता अमिर खानसँगै प्रधानमन्त्री मोदी पनि एक थिए। खाता बन्द भएसँगै उनको प्रोफाइल पिक्चर र पोस्ट सबै मेटाइएको छ।

मोदीको वैपो अकाउन्ट निष्क्रिय

भारतले जुन २९ मा चीनका टिकटक, वीच्याटलगायत ५९ वटा एप्सहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। भारतको सम्बन्धित विभागले चिनियाँ एपहरू बन्द गरेर घरेलु अमेजन, फ्लिपकार्टलगायत इकमर्स प्लेटफर्मलाई प्रवर्द्धन गर्न सुझाएपछि मोदीको यस्तो निर्णय आएको हो।

वैपोले चीनस्थित भारतीय दूतावासबाट जुलाई १ तारिखमा मोदीको आधिकारिक खाता बन्द गरिदिन अनुरोध आएको सूचना पाएबमोजिम खाता बन्द गरिदिएको सूचित गरेको छ। उसले लेखेको छ,‘सम्बन्धित निकायको आधिकारिक अनुरोधबमोजिम गणतन्त्र भारतका प्रधानमन्त्रीको वैपो खाता नम्बर बन्द गरिएको छ।’

भारतको प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा आउनुअघि सन् २०१५ मे ४ मा मोदीले वैपो खाता खोलेका थिए। त्यतिखेर उनले लेखेका थिए, ‘हेल्लो चाइना!वैप मार्फत् चाइनिज साथीहरूसँग अन्तरक्रिया गर्ने प्रतीक्षामा छु।’

मोदीले चीन र चिनियाँ नागरिकसँगको मैत्रीसम्बन्ध उकास्ने हेतुले वैपो खाता खोलेपछि आफ्ना चिनियाँ समकक्षी प्रधानमन्त्री ली खछ्याङसँगका सेल्फीसँगै जन्मदिनका शुभकामना तथा अन्य अन्तरदेशीय विवरणहरू पोस्ट गर्ने गरेका थिए। उनले हालसम्म लेखेका ११३ वटा माइक्रोब्लगहरू मेटाइएको छ। पछिल्लो पटक उनले चिनियाँ मुसा वर्षको अवसरमा वैपोमार्फत शुभकामना दिएका थिए।

वैपो अकाउन्ट बन्द गरेसँगै मोदीका २ लाखभन्दा बढी फलोअर्समध्ये धेरैले अब चीनले पनि भारतसँगको सम्बन्धबारे पुनः विचार गर्नुपर्ने सुझाव दिएका छन्।

गत महिना गलवानमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारत र चीनबीचको सीमा विवाद अब व्यापारतर्फ मोडिएको छ ।

प्रकाशित : असार १८, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?