कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनाले हुने आर्थिक भार निकै बढ्यो

नवीन पोखरेल

लन्डन — नेपालमा सडक दुर्घटनाका कारण हुने आर्थिक भार निकै बढेको एक अध्ययनले देखाएको छ ।सडक दुर्घटनाका कारण घाइतेको उपचार र हेरचाहमा ठूलो खर्च लाग्ने र अकालमै मृत्यु हुँदा व्यक्ति, परिवार, समाज एवं राष्ट्रलाई नै ठूलो आर्थिक भार परेको बेलायतका स्वास्थ्य अर्थशास्त्री एवं जनस्वास्थ्यविद्हरूले गरेको अध्ययनले देखाएको हो । उनीहरूका अनुसार त्यस्ता दुर्घटनाका कारण एक दशकमा राज्यमाथिको आर्थिक भार तीन गुणाले बढेको छ ।

दुर्घटनाले हुने आर्थिक भार निकै बढ्यो

‘अन्तर्राष्ट्रिय पर्यावरण अनुसन्धान र जनस्वास्थ्य’ जर्नलमा प्रकाशित उक्त अध्ययनले सडक दुर्घटनाका कारण नेपालले सन् २०१७ मा कुल गार्हस्थ्य उत्पादनको १.५२ प्रतिशत अर्थात् अनुमानित १३ अर्ब रुपैयाँबराबरको आर्थिक मूल्य गुमाउनुपरेको देखाएको छ । अध्ययनले देखाएको सडक दुर्घटनाको आर्थिक भार विगतको दशक (सन् २००७) को तुलनामा तीन गुणा बढी हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कम र मध्यम आय भएका देशहरूमा सडक दुर्घटनाका कारण हुने आर्थिक नोक्सानी ती देशको कुल गार्हस्थ्य उत्पादनको १ देखि २ प्रतिशत रहेको अनुमान गरेको छ । यो अध्ययन नेपाल प्रहरीको तथ्यांकमा आधारित छ ।

उक्त अध्ययन अनुसन्धाताहरू अमृत बाँस्तोला, जेसी किगोजी, पेल्हम बार्टन तथा जुली मिटनले संयुक्त रूपमा गरेका हुन् । उनीहरूले लामो अन्तर्राष्ट्रिय रूपमा सडक दुर्घटना तथा त्यसबाट जनस्वास्थ्य एवं अर्थतन्त्रमा पर्ने असरबारे अध्ययन गर्दै आएका छन् ।

अध्ययनले सडक दुर्घटनाका पीडित र परिवारजनमा पर्ने आर्थिक भार, मानवीय क्षतिको मूल्य, अपांगताका कारण आर्थिक रूपले सक्रिय हुन नसक्नुको भार साथै परिवारजन र समाजले भोग्नुपरेका पीडा तथा आफन्त गुमाउनुपरेको मनोवैज्ञानिक असरको मूल्यलाई आकलन गरेको छ ।

घाइतेको उपचार खर्च, अस्पताल भर्ना, औषधि, डाक्टरहरूको शुल्क, हेरचाहलगायतको अन्य खर्च जस्तै– यातायात, खाना खर्च, सम्पत्ति नोक्सानीको लागत १.४ अर्ब अनुमान गरिएको छ जुन सडक दुर्घटनाको कुल आर्थिक भारको १०.६ प्रतिशत हो ।

नेपालमा सडक दुर्घटनाको आर्थिक भारको तथ्यांक सीमित छ । यसै कारण अहिलेसम्म पनि दशकअघिको तथ्यांकका आधारमा सडक सुरक्षाका कार्ययोजना बनाउने गरिएको छ । तर यो एक दशकमा नेपालमा सडक यातायातका साधनको संख्या र सडक निर्माणमा द्रुत गतिले वृद्धि भएको छ । यही तथ्यांकको अभावलाई मध्यनजर गर्दै नेपालमा सडक दुर्घटनाको वर्तमान आर्थिक भारको अध्ययन गरिएको अध्ययनका प्रमुख शोधकर्ता अमृत बाँस्तोला बताउँछन् ।

सडक दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य, कामबाट वञ्चित वा रोजगारी गुमाउनुपर्ने, दीर्घकालीन अक्षमता (अपांगता) का कारण आर्थिक रूपले सक्रिय हुन नसक्नुको भार, परिवारका सदस्य घाइतेको हेरचाहमा संलग्न हुनुपर्दाको मूल्य अझै कहालीलाग्दो छ । यसका अतिरिक्त सडक दुर्घटनाका पीडित, उनीहरूका परिवारजन र समाजले भोग्नुपरेका पीडा र आफन्त गुमाउनुपरेको मनोवैज्ञानिक असरको भारलाई पनि अध्ययनले देखाएको छ । यस्ता अप्रत्यक्ष भारको लागत ११.६ अर्ब अनुमान गरिएको छ जुन सडक दुर्घटनाको कुल आर्थिक भारको ८९.४ प्रतिशत हो ।

प्रकाशित : असार १८, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?