कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाली सैन्य सुरक्षा एसिया प्रशान्त क्षेत्रमा केन्द्रित

प्रधानमन्त्रीले गरे २ सय ७० अर्ब डलरको कार्यक्रम
नारायण खड्का

सिड्नी — अस्ट्रेलियाले आफ्नो सैनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ २ सय ७० अर्ब अस्ट्रेलियन डलर बराबरको सुरक्षा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी १० वर्षका लागि घोषणा गरिएको सुरक्षा कार्यक्रमअन्तर्गत अस्ट्रेलियाली सेनालाई सुरक्षाका लागि आवश्यक अत्याधुनिक हतियार उपलब्ध गराइने जनाइएको छ ।

अस्ट्रेलियाली सैन्य सुरक्षा एसिया प्रशान्त क्षेत्रमा केन्द्रित

प्रधानमन्त्री स्कट मरिसनले बुधबार राजधानी क्यानबेरामा सार्वजनिक गरेको राष्ट्रिय योजनाअनुसार अस्ट्रेलियाको सैन्य सुरक्षालाई एसिया प्रशान्त क्षेत्रमा अझ बढी केन्द्रित रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

मरिसनले कार्यक्रमअन्तर्गत सैन्य सुरक्षाको क्षमता अभिवृद्धि गर्नका लागि लामो दूरीसम्म मार हान्न सक्ने हतियार, पानीमुनिसमेत निगरानी गर्न सक्ने हतियार, साइबर आक्रमणलाई ध्वस्त पार्न सक्ने क्षमता बढाइने बताएका छन् । मरिसनले अहिलेको अवस्था मात्र नभएर कोभिड–१९ को महामारी सकिएपछिको विश्वलाई मध्यनजर गरेर तयारी गर्न आवश्यक भएको बताएका छन् । एबीसीका अनुसार प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाको सुरक्षा क्षमता एसिया प्रशान्त क्षेत्रमा दरिलो बनाउनुसमेत महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् ।

अस्ट्रेलियाले दस वर्षको अवधिमा विकास गर्ने सुरक्षा संयन्त्रले विश्वमा आफ्नो उपस्थितिमा अझ दरिलो बनाउने विज्ञहरूले जनाएका छन् । अस्ट्रेलियाले अमेरिकाको जलसेनाबाट ३ सय ७० किलोमिटरसम्म मार हान्न सक्ने लामो दूरीको एन्टिसिप मिसाइल ८ सय मिलियन डलरमा खरिदसमेत गर्ने भएको छ ।

यसैगरी सरकारले ९ दशमलव ३ बिलियन डलर उच्च गतिको लामो दूरीको हतियार रिसर्च र विकासका लागि खर्च गरिने जनाइएको छ । सन् २०१६ मा जारी गरिएको श्वेतपत्रलाई परिमार्जन गर्दै थप बजेटसहित अस्ट्रेलियाले आफ्नो सैन्य सुरक्षाको कार्यक्रमलाई बुधबार सार्वजनिक गरेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाले मुख्य रूपमा तीनवटा रणनीतिलाई अघि सारेको छ । जसमा क्षेत्रीय शान्ति र समृद्धिका लागि मित्रशक्तिसँग सहकार्यको वातावरण बनाउने, शत्रुलाई रोक्नका लागि पर्याप्त शक्ति निर्माण गर्ने र यदि आक्रमण भइहालेको खण्डमा प्रत्याक्रमण गर्नका लागि अत्याधुनिक शैन्य शक्तिको निर्माण गर्ने हो । यसका साथै स्पेस र साइबर आक्रमणका लागि समेत आफूलाई निर्भर बनाउनका लागि लगानी बढाउने यस कार्यक्रमको उद्देश्य भएको सञ्चारमाध्यमले जनाएका छन् ।

ग्रिफिथ युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका विक्रम तिमिल्सिनाका अनुसार अस्ट्रेलियाको यो कार्यक्रम सन् २०१६ देखि लागू गरिएको तर यस वर्षबाट उल्लेख्य रूपमा वृद्धि गरिएको हो । उनी इन्डो–प्यासिफिक क्षेत्रमा तनाव बढिरहेको, चीन र अस्ट्रेलियाको सम्बन्ध बिग्रिरहेको, अस्ट्रेलियाका छिमेकी देशमा चीनको उपस्थिति बाक्लिएको र अस्ट्रेलियाले चीनलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा महसुस गरेका कारण कार्यक्रमलाई अझ विस्तृत रूपमा अघि ल्याइएको बताउँछन् । अस्ट्रेलियालाई पछिल्लो समयमा थप सुरक्षा खतरा देखिएका कारणले समेत यो कार्यक्रम आएको उनको भनाइ छ ।

अस्ट्रेलियाले सन् २०१६ मा जारी गरेको श्वेतपत्रमा १ सय ९५ बिलियन डलर बराबरको कार्यक्रम घोषणा गरेको भए पनि यसलाई ७५ अर्ब डलर थप गरेर परिमार्जन गरिएको हो । तिमिल्सिना अस्ट्रेलिया यस क्षेत्रमा बलियो शक्ति हुँदाहुँदै पनि सैन्य शक्ति बढाएर मुख्य क्षेत्रीय शक्तिका रूपमा अगाडि आउनुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रमलाई बढाउन आवश्यक ठानेको विश्लेषण गर्छन् ।

उनी अस्ट्रेलियासँग कम्तीमा पनि आफ्नो सुरक्षाका लागि आफ्नो सैन्य शक्तिलाई विकास गर्नुको विकल्प नभएको र एसिया प्रशान्त क्षेत्र रणनीतिक द्वन्द्वको केन्द्र बन्दै गएको सन्दर्भमा आफूसमेत सबल हुन सुरक्षा कार्यक्रमलाई परिमार्जनसहित सुदृढ गरिएको दाबी गर्छन् ।

प्रकाशित : असार १८, २०७७ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?