चीनद्वारा हङकङमा सुरक्षा कानुन लागू

पृथकतावाद, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसँगको साँठगाँठजस्ता गतिविधिमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिन सकिने
एजेन्सी

हङकङ — चीनले हङकङका लागि एक विवादास्पद सुरक्षा कानुन लागू गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार हस्ताक्षर गरेसँगै कानुन लागू भएको जनाइएको हो । नयाँ कानुनका कारण हङकङमा चीनको प्रभाव बढ्नुका साथै स्वतन्त्रता संकुचित हुने ठानिएको छ । मंगलबार पारित कानुनमा पृथकतावाद, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसँगको साँठगाँठजस्ता गतिविधिमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिइने उल्लेख छ ।

तस्बिर : सिन्‍ह्वा/रासस

गत महिना चीनले हङकङमा आफूविरोधी गतिविधि बढेका भन्दै त्यस्तो कानुन लागू गर्ने घोषणा गरेको थियो । गत वर्ष सुपुर्दगीसम्बन्धी विधेयक ल्याइएपछि हङकङमा लोकतन्त्र पक्षधरहरूले महिनौंसम्म विशाल प्रदर्शनहरू गरेका थिए ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कानुनको समर्थन गरेकी छन् । उनले हङकङको राष्ट्रिय सुरक्षामा रहेको छिद्रा कानुनले टालिएको प्रतिक्रिया दिएकी बीबीसीले जनाएको छ । हङकङ सरकारले मंगलबार रातिदेखि नै कानुन कार्यान्वयनमा आएको जनाएको छ ।

आलोचकहरूले भने नयाँ कानुनले हङकङको अस्तित्वलाई अप्ठ्यारोमा पार्ने जोखिम निकै बढेको दाबी गरेका छन् । उक्त कानुनका कारण हङकङको न्यायिक, राजनीतिक र व्यक्तिगत स्वतन्त्रताहरूलाई ध्वस्त पार्ने उनीहरूको भनाइ छ ।आफ्नो नियन्त्रणमा रहेको हङकङलाई सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेको थियो । त्यतिबेला दुई देशबीच हङकङलाई स्वतन्त्रता दिने सहमति भएको थियो । जसका कारण नयाँ कानुनको विरोधमा हङकङमा विरोध प्रदर्शनहरू भएका छन् ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

चीनले गत महिनामा उक्त कानुन ल्याउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसको विरोध गरेको थियो । यूके, युरोपेली संघ र नेटोले नयाँ कानुनको विरोध गरेका छन् ।

यूकेका विदेशमन्त्री डोमिनिक राबले हङकङका जनताको स्वतन्त्रता र राजनीतिक अधिकारको सम्मान गर्न चीनसँग आग्रह गरेका छन् । हङकङको आर्थिक, व्यापारिक र औद्योगिक सफलता यसको स्वायत्तताले सम्भव भएको जनाउँदै राबले नयाँ कानुनले त्यसमाथि खतरा उत्पन्न गरेको बताए ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलले नयाँ कानुन जारी गर्ने निर्णयले निकै पीडा महसुस भएको बताएका छन् । उनले हङकङको स्वायत्तता, न्यायपालिका र कानुनी शासनमाथि नयाँ कानुनले गम्भीर असर पुग्ने बताएका छन् । त्यसैगरी चीनले लोकतन्त्र, स्वतन्त्रता र कानुनी शासनको मान्यतालाई स्वीकार नगर्ने पुष्टि भएको नेटोका महासचिव जेन्स स्टोलटेनबर्गको भनाइ छ ।

हङकङका लागि बेलायतका अन्तिम गभर्नर लर्ड पटेनले सुरक्षा कानुनले ‘एक देश दुई व्यवस्था’ को अन्त्य गरेको प्रतिक्रिया दिएका छन् । जापानले उक्त कदम खेदपूर्ण रहेको जनाएको छ । अमेरिकाले यसअघि नै चिनियाँ कदमको विरोध गर्दै हङकङसँगको विशेष व्यापार सम्बन्ध अन्त्यका लागि कदम चालिसकेको बताएको छ ।

प्रकाशित : असार १७, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

मेसीको ७००‍‍‍ औं‍‌‌ गोल तर बार्सिलोना बराबरीमा राेकियो

एजेन्सी

म्याड्रिड — लियोनल मेसी मंगलबार आफ्नो खेलजीवनको ७००‌औं‍‌‌ ‌ गोल गर्न सफल रहे पनि बार्सिलोना एट्लेटिको म्याड्रिडसँग  २–२ को बराबरीमा रोकिएको छ । यसले स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ ।

क्याम्प नुमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

त्यसयता एट्लेटिकोका तर्फबाट दुवै गोल सउल निगुएजले गरे । दुवै गोल पेनाल्टीमा भएको थियो । यो नतिजापछि रियल म्याड्रिडले बुधबार गेटाफेलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोल्न सक्नेछ ।

लिगमा पाँच चरणको खेल बाँकी छँदा यो निर्णायक अग्रता साबित हुन सक्नेछ । दिनका अन्य दुई खेलमा सेभियाले लेगानेसलाई ३–० र मार्लोकाले सेल्टा भिगोलाई ५–१ ले हराए ।

प्रकाशित : असार १७, २०७७ ०६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×