१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अस्ट्रेलियाको भिक्टोरियाका ३६ गाउँमा पुन: लकडाउन

नारायण खड्का

अस्ट्रेलिया — कोरोना भाइरस संक्रमितको संख्या अचानक बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यका केही क्षेत्रलाई एक महिनाका लागि पुन: लकडाउन गरिएको छ । उक्त राज्यका प्रिमियर ड्यानिल एन्ड्रुजले ३६ गाउँका बासिन्दालाई बुधबारदेखि अत्यावश्यकबाहेक घरबाट निस्कन नपाउने नियम लागू गरेका छन् ।

अस्ट्रेलियाको भिक्टोरियाका ३६ गाउँमा पुन: लकडाउन

६ राज्य तथा दुई टेरिटोरी रहेका अस्ट्रेलियामा कोरोना भाइरस संक्रमण करिब नियन्त्रणमा आइसकेको भए पनि केही दिनदेखि भिक्टोरियामा पुन: नयाँ संक्रमण देखिएको हो । उक्त राज्यमा विगत दुई दिनमै १ सय ५० भन्दा बढी नयाँ संक्रमित पाइएपछि नियन्त्रण स्वरुप ३६ गाउँमा पुन: लकडाउन घोषणा गरिएको प्रिमियर एन्ड्रुजले बताएका छन् ।

राज्यका अधिकारीले संक्रमण भित्रिएको स्थानलाई (हट स्पट) का रुपमा पहिचान गरेर नियन्त्रणको प्रयास गरिएको बताएका छन् । स्थानीय समाचार माध्यमका अनुसार प्रिमियर एन्ड्रुजले उक्त राज्यमा व्यवस्था गरिएको होटल क्‍वारेन्टाइनलाई लिएर न्यायिक छानबिनको समेत घोषणा गरेका छन् ।

राज्य सरकारले घोषणा गरेको लकडाउनमा स्थानीयले अत्यन्तै आवश्यकबाहेक अन्य कारणले घर छोड्न पाउने छैनन् । यसपहिले लागू गरिएको 'स्टेज तीन' अन्तर्गतकै लकडाउन स्थानीयले सामना गर्नुपर्नेछ । जसअन्तर्गत परिवारबाहेक दुई जनाभन्दा बढी भेला हुन नपाउने, क्याफे तथा रेस्टुरेन्ट टेकअवेमा सीमित हुनुपर्नेछ । लकडाउन घोषणा गरिएको क्षेत्रमा पालना भए/नभएको प्रहरीले जाँच गर्ने स्थानीय समाचारमा जनाइएको छ । एन्ड्रुजले मेलबर्नमा उत्रने अन्तर्रास्ट्रिय उडानलाई समेत अन्य राज्यमा अवतरण गर्न आग्रह गरेका छन् ।

अस्ट्रेलियाका अन्य राज्यले भने लकडाउनलाई खुला गर्दै लगेका छन् । दक्षिण अस्ट्रेलिया, क्युन्सल्यान्ड, न्यु साउथ वेल्स लगायतका राज्यले आन्तरिक हवाई सेवालाई समेत सुचारु गर्ने निर्णय गरिसकेका छन् । तर पनि अधिकांश राज्यले भने भिक्टोरियाको सीमाना तत्काललाई खोल्ने निर्णय गरेका छैनन् ।

संक्रमण बढेपछि केन्द्र सरकारले केही दिनअघि नै यसको नियन्त्रणका लागि १ हजार सैनिक भिक्टोरियामा परिचालन गरिसकेको छ भने मंगलबार पुन ८ सय कर्मचारी पठाएको छ । उनीहरुले टेस्टिङ, समुदायलाई संक्रमणबाट बच्नका लागि जानकारी दिने र संक्रमण धेरै देखिएको स्थानमा जनतालाई सुसूचित गर्ने जनाइएको छ ।

भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले अवस्था अझ बिग्रन सक्ने सञ्चारमाध्यमलाई बताएका छन् । उनले युवाहरुमा संक्रमण देखिएको बताउँदै चिसो मौसम पनि यसको कारण हुनसक्ने जनाएका छन् । लकडाउन घोषणा गरिएका क्षेत्रहरु नेपालीको बाक्लो बसोबास भएको स्थानमा पर्दछ ।

मेलबर्नमा बस्दै आएका एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले उक्त क्षेत्रमा अधिकांश नेपाली बस्ने भए पनि अहिलेसम्म कुनैमा संक्रमण नपाइएको जानकारी दिए । उनले स्थानीयसँग नियमित सम्पर्कमा रहेको र आवश्यक्ताअनुसार सहयोग पुर्‍याइने बताए ।

न्यु साउथ वेल्स, दक्षिण अस्ट्रेलिया लगायतका केही राज्यमा सानो संख्यामा नयाँ संक्रमित देखिए पनि उनीहरु सबै विदेशबाट उद्धार गरेर क्‍वारेन्टाइनमा राखिएका नागरिक छन् ।

अस्ट्रेलियामा अहिलेसम्म ७ हजार ७३४ जनामा भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ३७ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । कोरोनाबाट अस्ट्रेलियामा १ सय ४ ले ज्यान गुमाइसकेका छन् ।


प्रकाशित : असार १६, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?