२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

फ्रान्सेली पूर्वप्रधानमन्त्री दम्पतीलाई जेल सजाय

ददि सापकोटा

पेरिस — फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ । पेरिसको फौजदारी अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्षको जेल सजायको फैसला गरेको हो ।

फ्रान्सेली पूर्वप्रधानमन्त्री दम्पतीलाई जेल सजाय

उनकी पत्नी पेनेलोपलाई भने ३ वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुवैलाई ३ लाख ७५ हजार युरो जरिवाना तिराउन आदेश दिइएको छ ।

फियोंले आफ्नी पत्नीलाई सहयोगी राखेर ८ लाख ३१ हजार ४ सय युरो आफ्नी पत्नीलाई दिएको तर कुनै काम भने नलगाएको आरोप लगाइएको थियो । फियों दम्पतीसँगै सहयोगी मार्क जुलोलाई पनि १० लाख युरो राष्ट्रिय सभालाई फिर्ता दिन आदेश दिइएको छ । उनले पनि फियोंको पक्षमा राज्य कोषको दुरुपयोग गरेको आरोप लागेको हो ।

पेरिस अदालतमा सोमबार फैसला सुनाउने क्रममा प्रमुख न्यायाधीशले भनेका छन् ‘भुक्तानी गरेको रकम उपयुक्त किसिमले सदुपयोग भएको देखिएन । श्रीमती पेनेलोप फियोंलाई कुनै काम नभएको पद सिर्जना गरेर नियुक्त गरिएको देखियो ।’

फियों फ्रान्समा सन् १९५८ यता ठूलो सजाय पाउने वरिष्ठ फ्रान्सेली राजनीतिज्ञ हुन् । यस घोटालाले सन् २०१७ को राष्ट्रपतीय निर्वाचनको अभियानलाई अचानक अन्त्य गरिदिएको थियो । यो मुद्दा लागेपछि उनलाई राष्ट्रपतीय उम्मेदवार अयोग्य घोषित गरी अनुसन्धान गर्नुपर्ने माग पनि उठेको थियो ।

अदालतको फैसलाप्रति फियों दम्पतीले आफूहरुमाथि वर्तमान राज्यशक्तिले गलत नियत राखेको आरोप लगाएका छन् । उनीहरुले घोषणाविरुद्ध अपिल गर्ने जनाएका छन् ।

प्रकाशित : असार १६, २०७७ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?