कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो महिनौंदेखि शान्त छ

कोरोना भाइरसका कारण मृतप्राय: सेन नदीलाई नियाल्ने जोकोहीको मन एक पटक कटक्क दुख्छ ।
ददि सापकोटा

पेरिस — कोरोना कहरअघि सेन नदीमा दैनिक चल्ने सयौं डुंगाले फ्रान्सको राजधानी पेरिसका अधिकांश मुख्य स्थान छिचोल्थे । ‘बाटो मुस’ नामक डुंगामा चढेर दैनिक करिब २ हजार ५ सय पर्यटकले पेरिसको दृश्य आँखामा कैद गर्थे ।

जो महिनौंदेखि शान्त छ

दर्जनौं कम्पनीको कमाइबाट सयौं मानिसको रोजीरोटी चल्थ्यो । तर भाइरसको महामारीले विश्वलाई नै हायलकायल बनाइदिएपछि भने करिब ४ महिनादेखि सेन शान्त छ ।

बाटो मुसमा कार्यरत सुन्दर सिलवाल मार्च सुरुदेखि नै बेरोजगार बनेका छन् । कोरोना भाइरसको संक्रमणले पर्यटकहरूको आगमन शून्य भएपछि डुंगामा चल्ने रेस्टुराँ बन्द छन् । उनीजस्तै कम्पनीका करिब ४ सय कर्मचारी बेरोजगार बनेका हुन् ।

अधिकांश पर्यटकीय डुंगाको मुख्य आम्दानी रेस्टुराँ नै हो । डुंगामा सयर गराउँदै खानाका परिकारहरू चखाएर पर्यटकको खल्ती हलुका बनाउनु त उनीहरूको काम नै हो । त्यस्ता डुंगामा एक छाक खाना खान एकजना पर्यटकले कम्तीमा ७९ युरो तिर्थे ।

‘हाम्रो डुंगाको रेस्टुराँमा साँझ खाना खाएको प्रतिव्यक्ति सय युरो हो । २ सय ४१ जना क्षमताको रेस्टुराँ कहिल्यै खाली हुँदैनथ्यो,’ सिलवालले टेलिफोनमा भने । भाइरसको महामारीसँगै आम्दानी त शून्य नै छ, डुंगाको मर्मतसम्भार र पार्किङको खर्चले लगानीकर्तालाई थप पिरोलेको छ ।

बाटो मुसको पेरिसको चौथो पर्यटकीय गन्तव्य हो । यहाँको एउटै डुंगा कम्पनीमा ६ सय जनासम्मले काम गर्थे भने मासिक २५ लाख युरोसम्म आम्दानी हुन्थ्यो । ‘हाम्रो कम्पनीमा ४ सय जति कामदार थिए । हामीले २ सय ४१ जनासम्मलाई डिनर खुवाउँथ्यौं । अहिले सबै कामविहीन भएका छौं,’ सिलवाल भन्छन् । सरकारले भनेअनुसार तलबको ७० प्रतिशत रकम पाइएको भए पनि भविष्यको चिन्ता लागेको सिलवालले बताए ।

त्यसो त पेरिसका सुपरमार्केटलाई सामान ओसार्ने डुंगाहरू पनि प्रशस्तै थिए । भाइरसले गर्दा ती डुंगाहरू बन्द हुँदा सुपरमार्केट पनि मारमा छन् । सयौं कर्मचारीले रोजगारी गुमाएका छन् ।

पेरिस महानगरपालिकाको हरियाली पेरिस योजनाअनुसार निजी यातायात र मालवाहक गाडीहरूको संख्या घटाउँदै लगिएको छ । सन् २०३० लाई मध्यनजर गर्दै पेरिसको सुपरमार्केट फाफ्रीले सेन नदी किनारमा १ सय ३० वटा स्टोरहरू बनाएको छ । ती स्टोरमा यस्तै डुंगाले सामान पुर्‍याउँदै आएका थिए ।

पेरिसका मेयर एनी हिडाल्गोले बढ्दो कार संस्कृतिलाई विस्थापित गर्ने आफ्नो योजनालाई निकै महत्त्व दिएकी छन् । उनले सहरी यातायातको भविष्यका लागि ‘फाफ्री इन सेन’ जस्ता नवीन योजना अगाडि सारेकी छन् । तर भाइरसको संकटका कारण त्यस्ता योजना पछि धकेलिने वा अवरुद्ध हुने सम्भावना उत्तिकै छ ।

त्यसो त सडकबाट भन्दा नदीबाट सामान ढुवानी गर्नु महँगो छ । तर उनीहरूले भविष्यमा हुन सक्ने डेलिभरी समस्यालाई आकलन गरी अहिले नै सेनबाट सामान ओसारपसारको विकल्प खोजेका हुन् । पेरिसमा २०२२ देखि डिजेलबाट चल्ने गाडीहरू प्रतिबन्ध हुँदै छन् ।

सेन नदीका डुंगामा प्रत्येक वर्ष ८ करोड यात्रुहरू चढ्ने सरकारी तथ्यांक छ । त्यस्तै प्रत्येक वर्ष २० लाख टन सामान सेनबाटै पेरिस पुर्‍याइन्छ । यो युरोपकै दोस्रो ठूलो नदीमा आधारित यातायात पनि हो ।

नदीबाट सामान ढुवानी गर्दा सडक जाम घटाउन पनि उत्तिकै सहयोग पुगेको छ । सेनबाट सामान ओसार्दा करिब वार्षिक २ हजार ६ सय लरीहरू सडकमा गुड्न रोकिएका जनाइएको छ । पेरिसलाई न्युयोर्क र सांघाई जस्ता पोर्ट सिटीका रूपमा विकास गर्न सन् १९९६ मै बृहत् अवधारणा पारित गरिएको थियो । सन् २०३० सम्म सम्पन्न गर्ने लक्ष्यअनुसार काम पनि भइरहेको थियो । तर भाइरसको संकटका कारण मृतप्राय: सेनले एक्लै पेरिसलाई फन्को मारिरहेको देख्ने जोकोहीको मन पनि एक पटक कटक्क दुख्छ ।

प्रकाशित : असार १३, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?