कोरोना महामारीबीच सिंगापुरको संसद् भंग

एजेन्सी

सिंगापुर — कोरोना महामारीबीच सिंगापुरको संसद् विघटन भएको छ । मंगलबार सिंगापुरकी राष्ट्रपति हालिमा याकुबले प्रधानमन्त्री ली सेन लूङको सिफारिसमा संसद् विघटन गरेकी हुन् ।

कोरोना महामारीबीच सिंगापुरको संसद् भंग

यसअघि मंगलबार प्रधानमन्त्री लूङले संसद्‍मा सम्बोधन गर्दै ताजा जनादेशका लागि आफूले चुनाव गराउन चाहेको बताएका थिए । उनले सम्बोधनका क्रममा संसद् विघटनका लागि राष्ट्रपतिलाई आग्रह गरेको जानकारी पनि गराएका थिए ।

नयाँ चुनावले राष्ट्रिय एजेन्डा र कठिन परिस्थितिको सामना गर्न सक्ने गरी ताजा जनादेश दिने उनले बताएका थिए । वर्तमान संसदको कार्यकाल आउँदो अप्रिलसम्म भए पनि प्रधानमन्त्री लूङले त्यसअघि नै नयाँ चुनाव गराउन लागेका हुन् । सिंगापुरको कानुनअनुसार संसद् विघटन भएको ३ महिनाभित्र अर्को चुनाव सम्पन्न गरिसक्नुपर्छ ।

सिंगापुरको सत्तारुढ पिपल्स एक्सन पार्टी(पीएपी) सन् १९५९ देखि सरकारको नेतृत्वमा छ । उक्त पार्टीले सन् १९६५ मा सिंगापुर स्वतन्त्र हुनुपूर्वदेखि नै त्यहाँको सरकारको नेतृत्व गरिरहेको छ । यसअघि सन् २०१५ मा भएको आम चुनावमा पीएपीले ८९ मध्ये ८३ सिटमा जित हात पारेको थियो । यस पटक भने चुनावी क्षेत्र निर्धारण पुनरावलोकन समितिको सिफारिअनुसार संसदीय क्षेत्र बढाउने अपेक्षा गरिएको छ । यस पटक संसदीय चुनावी क्षेत्र ८९ बाट बढाएर ९३ पुऱ्याउने अपेक्षा गरिएको छ ।

सिंगापुरमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो । गत हप्ता मात्रै सिंगापुरले आंशिक रुपमा लकडाउन खुकुलो गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि उचित कदम नचालेको भन्दै सिंगापुर सरकारको कडा आलोचना हुँदै आएको छ ।

मंगलबार दिउँसोसम्म सिंगापुरमा ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । सिंगापुरमा संक्रमण पुष्टि भएकामध्ये करिब ३५ हजार ५ सय ९० जना निको भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार ९, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?