३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतीय सैनिकलाई नियन्त्रणमा लिएको होइन : चीन

१० जना भारतीय सैनिकहरूलाई मुक्त गरिएको समाचार भारतीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि चीनले त्यसको खण्डन गरेको हो
एजेन्सीहरू

बेइजिङ/नयाँदिल्ली — चीनले विवादास्पद गलवान क्षेत्रमा भएको हिंसात्मक भिडन्तका क्रममा कुनै पनि भारतीय सैनिकलाई कब्जामा नलिएको जनाएको छ । चीनले बिहीबार १० जना भारतीय सैनिकहरूलाई मुक्त गरेको समाचारहरू भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएपछि चीनको त्यस्तो दाबीको खण्डन गरेको हो । भारत–चीन सीमा क्षेत्र गलवानमा गत सोमबार दुई देशका सैनिकबीच करिब ५ घन्टा भिडन्त भएको थियो ।

भारतीय सैनिकलाई नियन्त्रणमा लिएको होइन : चीन

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिझाङले शुक्रबार भनेका छन्, ‘चीनले कुनै पनि भारतीय सैनिकलाई कब्जामा लिएको छैन ।’ भारतीय सञ्चारमाध्यमहरूले एक लेफ्टिनेन्ट कर्नेल र तीन जना मेजरसहित १० सैनिकहरूलाई चिनियाँ सेनाले मुक्त गरेको समाचार प्रकाशन गरेका थिए ।

भारत सरकारले आफ्ना सबै सैनिकहरू सम्पर्कमै रहेका जनाएको छ । गत सोमबार भएको भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो । कम्तीमा ७६ भारतीय सैनिक घाइते भएका भारतको भनाइ छ ।

चीनले भिडन्तका क्रममा आफ्नोतर्फ भएको क्षतिबारे हालसम्म केही उल्लेख गरेको छैन । तर भारतले घटनामा दुवै पक्षतर्फ क्षति पुगेको दाबी गर्दै आएको छ । घटनाबारे दुवै पक्षले एकअर्कालाई जिम्मेवार भएको आरोप लगाउँदै आएका छन् ।

दुवै पक्षबाट परस्पर विरोधी विवरणहरू सार्वजनिक भएका कारण भिडन्तका क्रममा वास्तवमा के भएको थियो भन्नेबारे हालसम्म अन्योल छ । सन् १९९६ मा दुवै पक्षबीच यस क्षेत्रमा गोलीगठ्ठा, बारुद तथा बन्दुकको प्रयोग गर्न नपाइने उल्लेख छ । दुई देशीय सीमाका विवादित क्षेत्रमा आक्रामक झडपहरू नहुन् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो ।

यो पनि

भारतीय सेनाका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले भिडन्तका क्रममा चिनियाँ सेनाले प्रयोग गरेका हतियारको तस्बिर बिहीबार सार्वजनिक गरेको थियो । ती अधिकारीले उपलब्ध गराएको तस्बिरमा फलामका मोटा रडमा तेर्सो पारेर किला जोडिएका छन् । रक्षा मामिला विज्ञ अजय शुक्लाले उक्त तस्बिर ट्वीट गर्दै यस्तो हतियार प्रयोग गरिनु बर्बरता भएको प्रतिक्रिया दिएका छन् ।

भारतबाट सञ्चालन हुने ट्वीटर अकाउन्टमा उक्त तस्बिरको व्यापक प्रयोग भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसप्रति निकै आक्रोश व्यक्त गरिरहेका छन् । तर उक्त तस्बिरबारे भारत र चीन दुवै पक्षका अधिकारीले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरले ट्वीट गर्दै ‘भारतीय सैनिकहरूलाई मुक्त गरिएको’ जनाएका थिए । उनका अनुसार बुधबार दुई पक्षबीच भएको वार्ता ती सैनिकहरूलाई मुक्त गर्ने विषयमा केन्द्रित भएको थियो ।

भारतीय सैनिकलाई कब्जामा लिइएको भन्ने भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका खबर अस्वीकार गर्दै जारी गरिएको वक्तव्यमा प्रवक्ता चाओले भने, ‘सही र गलत के हो भन्ने सबै स्पष्ट छ र त्यसको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षमा नै निहित छ ।’

चाओले दुवै पक्षबीच कूटनीतिक र सैनिक सम्पर्क माध्यममार्फत वार्ता भइरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको जनाए ।

सोमबार राति दुवै पक्षका सैनिकबीच ४ हजार २ सय ६७ मिटरको उचाइमा अवस्थित गलवान उपत्यकामा करिब ५ घन्टा भिडन्त भएको थियो । भिडन्तका क्रममा दुवै पक्षले घरेलु हातहतियार प्रयोग गरेको जनाइएको छ ।

भिडन्तका क्रममा कतिपय सैनिकहरू भीरबाट तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए । उक्त समय सो क्षेत्रको तापक्रम शून्यभन्दा कम तापक्रम रहेको थियो । तर केही अपुष्ट खबरहरूमा चिनियाँ सेनाले भारतीय सेनालाई नियन्त्रणमा लिएपछि पनि भीरबाट झारिदिएका दाबी गरिएको छ ।

दुई देशबीच यसअघि सन् १९७५ मा भारतको अरुणाचल प्रदेशको सीमा क्षेत्रमा गोली हानाहान भएको थियो । उक्त घटनामा ४ जना भारतीय सैनिक मारिएका थिए । भारत र चीनले सन् १९६२ मा एक महिना लामो सीमा युद्ध लडेका थिए ।

‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)’ को दुई किलोमिटरभित्रको क्षेत्रमा दुवै पक्षले गोली, बारुद वा विस्फोटक सामग्री प्रयोग नगर्ने सहमति सन् १९९६ मा गरेका थिए । उक्त क्षेत्र दुवै पक्षले स्वीकार गरेको अन्तिम सीमारेखा हो ।

उक्त सम्झौता भएयता गोली हानाहानका घटना नभएका भए पनि दुई देशबीच सामान्य झपड तथा भिडन्तहरू हुँदै आएका छन् । गत मे पहिलो साता लद्दाखको पाङगोंग ताल नजिकै दुवै देशका सैनिकहरूले मुक्का हानाहान गरेका थिए ।

पछिल्लो समय चीनले लद्दाखको गलवान उपत्यकामा हजारौं सेना तैनाथ गरेको आरोप लगाएपछि दुई देशबीच तनाव चर्केको हो । दुई देशबीच विगत ३ दशकमा दर्जनौं चरणमा वार्ताहरू भइसकेका छन् । तर सीमा विवाद भने अझै समाधान हुन सकेको छैन ।

प्रकाशित : असार ५, २०७७ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?