कम उमेरमै संसार छाड्ने भारतीय कलाकार

एजेन्सी

काठमाडौँ — सन् २०२० लाई बलिउड खराब वर्षको रुपमा लिन्छ । किनकि यो वर्ष बलिउडले आफ्ना प्रिय कलाकारहरु गुमाए । अभिनेता ऋषि कपुर, इरफान खान, गायक वाजिद खानले यही वर्ष ‍संसार छोडे । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याले बलिउडलाई चकित पार्‍यो ।

कम उमेरमै संसार छाड्ने भारतीय कलाकार

एकै वर्ष यी स्टारहरु गुमाउनु पर्दा बलिउड अहिले शोकमा डुबेको छ । अकालमै संसार छोडेका सुशान्तले बलिउडलाई सम्पूर्ण ती कलाकारको सम्झना गराइदिएको छ जसले कम उमेरमै यो धरतीबाट बिदा भए । यहाँ त्यस्तै अकालमा संसार छोडेर जाने कलाकारको चर्चा गरिएको छ ।

सुशान्तसिंह राजपुत, ३४

अभिनेता सुशान्तसिंह राजपुतले गत जुन १४ मा मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा आत्महत्या गरे । उनी ३४ वर्षका थिए । टेलिश्रृङ्खला 'पवित्र रिस्ता'मा मानव देशमुखको पात्रबाट दर्शकमा चर्चा पाएका उनले सन् २०१३ को 'काई पो चे'बाट बलिउडमा प्रवेश गरेका थिए । सन् २०१६ को 'एमएस धोनी : दि अनटोल्ड स्टोरी'बाट भने बलिउड दर्शक र समीक्षकबीच उनको चर्चा चुलिएको थियो । पहिलो फिल्मबाट नै अभिनयको तारिफ बटुलेका उनले यो फिल्ममा चर्चित क्रिकेटर महेन्द्रसिंह धोनीको भूमिका निभाएका थिए । यही भूमिकाबाट उनलाई बलिउडले एक उम्दा कलाकारका रुपमा लिन थालेको थियो ।

जिया खान, २५

अभिनेत्री जिया खानले अमिताभ बच्चनको फिल्म 'नि:शब्द'बाट बलिउडमा प्रवेश गरेकी थिइन् । आमिर खानसँग 'गजनी'मा देखिएकी अभिनेत्री खानले सन् २०१३ मा २४ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । उनले मुम्बईको अपार्टमेन्टस्थित पङ्खामा झुण्डेर आत्महत्या गरेकी थिइन् । परिवारले उनको मृत्युलाई आत्महत्या स्वीकार गरेको थिएन । केन्द्रीय जाँच ब्यूरो(सीबीआई)को अनुसन्धानपछि सन् २०१६ मा मुम्बईको उच्च अदालतले त्यसलाई आत्महत्या नै प्रमाणित गरेको थियो ।

गुरु दत्त, ३९

अभिनेता तथा निर्देशक गुरु दत्तले श्यामश्वेत फिल्म 'कागजके फूल', 'बाजी' र 'प्यासा'मा अभिनय गरेका थिए । सन् १९६४, अक्टोबर १० मा उनी मुम्बईको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । उनी ३९ वर्षका थिए । उनी आफ्नो समयका सबभन्दा प्रतीभाशाली कलाकार मानिन्थे ।

सिल्क स्मिता, ३५

अभिनेत्री विजयलक्ष्मी (सिल्क स्मिता) तामिलमा एक समय हिरोलाई टक्कर दिने कलाकारका रुपमा चर्चित थिइन् । सन् १९९६ मा अभिनेत्री स्मिताले ३३ वर्षको उमेरमा आत्महत्या गरिन् । २ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी उनी 'विन्दीचक्रम'बाट चर्चामा आएकी थिइन् । केहीअघि उनको जीवनमाथि बनेको बलिउड फिल्म 'द डर्टी पिक्चर'मा विद्या बालानले स्मीताको भूमिकामा अभिनय गरेकी थिइन् ।

मधुबाला, ३६

बलिउडको आइकोनिक अभिनेत्री मधुबाला ३६ वर्षमात्र बाँचिन् । जन्मजात नै उनी मुटुको रोगी थिइन् । मधुबालाले ३६ वर्षको उमेरसम्म आइपुग्दा 'मुगल-ए-आजम', 'चल्तीका नाम गाडी', 'महल', 'मिस्टर एण्ड मिसेस ५५', 'दुलारी', 'बेकसुर', 'तराना' र 'बादल'जस्ता फिल्मबाट उनी स्टार बनिन् ।

चिरन्जिवीसर्जा, ३९

कन्नाडा स्टार चिरन्जिवी सर्जाले बेंगलुरु अस्पतालमा ह्रदयघातका कारण यही जुन ७ मा प्राण त्यागे । उनी ३९ वर्षका थिए । सास फेर्न गाह्रो भएपछि उनलाई अस्तपताल लगिएको थियो । तर उपचारको क्रममा नै चिरन्जिवीको मृत्यु भएको परिवार स्रोतले जनाएको थियो ।

दिव्या भारती

सन् १९९३, अप्रिल ५ मा अभिनेत्री दिव्या भारतीको मृत्यु भएको थियो । मुम्बईको तुलसी अपार्टमेन्टबाट लडेर दिव्याको मृत्यु भएको हो । तीन वर्षकै फिल्मी करियरमा लोभलाग्दो उचाइमा पुगेकी उनले १९ वर्षको उमेरमा संसार छोडेकी हुन् । उनको मृत्यु दुर्घटना थियो या षड्यन्त्र बलिउडमा अझै यसउपर बहस भइरहन्छ । तर, प्रहरीले त्यतिबेला नै दुर्घटना रहेको भन्दै केस फाइल बन्द गरेका थिए । फिल्म 'विश्वात्मा'बाट डेब्यू गरेकी दिव्याले 'सोला ओर सबनम', 'दिवाना', 'जान से प्यारा'लगायतका ३ दर्जन बढी फिल्ममा अभिनय गरेकी थिइन् ।

इन्दर कुमार

अभिनेता सलमान खानसँग 'वान्टेड'मा अभिनय गरेका कलाकार इन्दर कुमारको सन् २०१७ मा ह्रदयघातका कारण मृत्यु भएको थियो । इन्दरले सलमानसँगै 'कहीँ प्यार हो ना जाए', 'तुमको ना भुल पाएंगे' र लामो समय प्रसारणमा आएको टेलिरश्रृङ्खला 'क्यूंकि सास भी कभी बहु थी'मा अभिनय गरेका थिए । ४३ वर्षको उमेरमा उनको निधन भएको थियो ।

कुनाल सिंह

दक्षिण भारतीय फिल्मका अभिनेता कुनाल सिंहले ३३ वर्षको उमेरमा सन् २००८ मा आत्महत्या गरेका थिए । आफ्नै कोठामा झुण्डिएर उनले आत्महत्या गरेका थिए । बलिउड अभिनेत्री सोनाली बेन्द्रेसँग 'दिल हि दिल मे'मा अभिनय गरेका कुनालले बलिउडमा चर्चा कमाएका थिए । उनले तामिलसँगै भोजपुरी फिल्ममा पनि अभिनय गरेका थिए । उनको मृत्युलाई बलिउड अझै रहस्यको रुपमा लिन्छ । उनको मृत्युलाई दोस्रो अनुसन्धानमा प्रहरीले हत्या भनेका थिए भने अन्तत: पछि फेरि प्रहरीले आत्महत्या नै रहेको बतायो ।

आरती अग्रवाल

सन् २०१५ मा तमिल अभिनेत्री आरती अग्रवालको ह्रदयघातका कारण ३१ वर्षको उमेर निधन भएको थियो । उनले २१ वटा तमिल फिल्ममा अभिनय गरेकी थिइन् । १६ वर्षको उमेरमै उनले बलिउड फिल्म 'पागलपन'बाट डेब्यू गरेकी थिइन् ।

प्रकाशित : असार ५, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?