२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै फ्रान्सभर प्रदर्शन

कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सेवासुविधा बढाउने राष्ट्रपतिको प्रतिबद्धता पूरा नभएपछि उनीहरू सडकमा उत्रेका हुन्
ददि सापकोटा

पेरिस — फ्रान्समा स्वास्थ्य सेवा सुधारको माग गर्दै देशव्यापी प्रदर्शन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गरिएको लकडाउन खुला गरिएलगत्तै फ्रान्समा प्रदर्शन गरिएको हो ।

फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले करिब ३ महिना लामो लकडाउन अन्त्यको घोषणा गरिए लगत्तै फ्रान्सभर प्रदर्शन गरिएको हो । स्थानीय सञ्चारमाध्यमले देशका विभिन्न २ सय २० स्थानमा विरोध प्रदर्शन गरिएको जनाएका छन् ।

सार्वजनिक स्वास्थ्य संकट घोषणा भएको ३ महिना बित्न लागिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै डाक्टर, नर्सलगायतका स्थास्थ्यकर्मी प्रदर्शनमा उत्रेका हुन् । लकडाउनको समयमा सरकारले स्वास्थ्य क्षेत्र सुधार तथा सेवासुविधा पुनरावलोकनका लागि गरेको प्रतिबद्धता लागू गर्नुपर्ने उनीहरूको माग छ ।

कोभिड–१९ संक्रमितको उपचारमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको मासिक तलब ३ सय देखि ४ सय युरो बढाउनुपर्ने प्रदर्शनकारीको माग छ । माग पूरा नभए अस्पतालका विभाग तथा वार्डका साथै सम्पूर्ण स्वास्थ्य क्षेत्र बन्द गरिदिने उनीहरूले चेतावनीसमेत दिएका छन् ।

केही स्थानमा विभिन्न स्वार्थ समूहहरूले शान्तिपूर्ण प्रदर्शनी बिथोल्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । त्यस्ता समूहहरूले कम्तीमा एक स्थानमा प्रदर्शनकारीमाथि कार जलाएका प्रहरीको भनाइ छ । त्यसलगत्तै स्थितिलाई नियन्त्रणमा लिन प्रदर्शनमाथि हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाइ छ ।

‘सेगुर दला संते’ अर्थात् ‘स्वास्थ्य क्षेत्रमा आम सुधार’ गरिनुपर्ने उनीहरूले नारा लगाएका थिए । प्रदर्शनकारीले विज्ञ तथा जानकारहरूसँगको परामर्शअनुसार स्वास्थ्य प्रणाली नै सुधार गर्न समेत माग गरेका छन् । प्रदर्शन विभिन्न मजदुर युनियनहरूले आयोजना गरेका हुन् ।

हजारौं डाक्टर, प्यारामेडिक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीहरू चिकित्सकीय पोसाक लगाएरै प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनकारीको एउटा समूहले तलब तथा अन्य सुविधा वृद्धि र कामको अवस्था सुधारको माग गर्दै स्वास्थ्य मन्त्रालयनजिकै प्रदर्शन गरेका थिए ।

‘बच्चालाई झैं चकलेट बाँडेर, केहीलाई मेडल दिएर र झूटा आश्वासन सुनाएर अब स्वास्थ्य क्षेत्र सुधार हुन्न, स्वास्थ्यकर्मी सुरक्षित रहन सक्दैनन्,’ फ्रान्सको सबैभन्दा ठूलो मजदुर युनियन सीजीटीले भनेको छ, ‘सार्वजनिक स्वास्थ्यका लागि वास्तविक मानवीय सुधार र बजेटको स्रोत प्रमुख हो ।’

पेरिस, मेट्ज, मोंपलिय, बोर्दो, लिल, रेनलगायत दर्जनौं सहरमा गरिएको प्रदर्शनमा स्याहारकर्मी र सेवानिवृत्त कर्मचारीहरू पनि सहभागी भएको जनाइएको छ ।

फ्रान्सको चिकित्सक महासंघ (एफएमएफ) लगायत धेरै मेडिकल युनियन र श्रम संगठनहरूले सेवा सुविधाको बढोत्तरी, काम गर्ने सुरक्षित वातावरण र तलब बढुवा गरेर श्रम शोषण अन्त्य नगरे काम गर्न नसक्ने चेतावनी सरकारलाई दिएपछि आन्दोलन थप चर्किने अनुमान गरिएको छ ।

फ्रान्सेली प्रधानमन्त्री एडुवार्ड फिलिपले गत महिना सरकारले स्वास्थ्य सेवामा सुधारका लागि जनताको परामर्श लिने बताएका थिए । तर उनले कुनै सरसल्लाह वा सुझाव नलिएको स्वास्थकर्मीहरूको गुनासो छ । महामारीको सुरुमा म्याक्रोंले ‘सेतो कोटमा नायक’ भन्दै स्वास्थ्यकर्मीको खुब प्रशंसा गरेका थिए । त्यसका साथै उनले त्यस्ता नायकको सेवा र सुविधा बढाउने घोषणासमेत गरेका थिए ।

पछिल्लो प्रदर्शनपछि केही दबाबमा परेका म्याक्रोंले स्वास्थ्य सेवा सुधारका लागि भन्दै २० करोड युरो छुटइएको जनाएका छन् । तर उक्त रकम आवश्यकताभन्दा निकै कम भएको भन्दै विज्ञहरूले आलोचना गरेका छन् ।

प्रकाशित : असार ३, २०७७ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?