बेलायत र फ्रान्समा सामान्य बन्यो जनजीवन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायत र फ्रान्समा सामान्य बन्यो जनजीवन

बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरीसमेत सञ्चालन गरिएको छ ।
नवीन पोखरेल, ददि सापकोटा

लन्डन, पेरिस — लकडाउनका कारण घरमै थुनिन बाध्य भएको बेलायत र फ्रान्सवासीको जनजीवन सामान्य बन्दै गएको छ । बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरी खुलेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै बेलायतमा करिब ११ साताअघि लकडाउन गरिएको थियो । सोमबारदेखि बेलयातका मुख्य सडकका पसलहरु खुलेपछि किनमेल गर्ने ग्राहकको निकै भीड लागेको थियो । बेलायतले मार्च २३ मा लकडाउन गरेको थियो । सस्तो समानका लागि लोकप्रिय प्रिमार्क, टीके म्याक्सजस्ता पसलहरुबाहिर बिहानैदेखि मानिसको निकै भीड लागेको थियो ।

लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउँदै जाने बेलायत सरकारको योजनाअनुरूप अत्यावश्यक सेवाबाहेकका व्यवसायहरु पनि सञ्चालनमा आएका हुन् । देशैभर आफ्ना स्टोरहरु रहेका ठूला चेन व्यवसायहरुमध्ये केहीले सबै स्टोर सञ्चालनमा ल्याएका छन् । कतिपयले भने तत्कालका लागि सीमित स्टोर मात्रै खुला गरिएको जनाएका छन् ।

बेलायतको मेजर हाई स्ट्रिट चेनहरु जोन लिविसका १३ शाखा, नेक्स्टले ५ सयमध्ये २५ स्टोर, डेभेनहाम्सका इंग्ल्यान्डमा ५० र नर्दन आयरल्यान्डमा ३ वटा स्टोर खुलेका छन् । जेडी स्पोर्टसले इंग्ल्यान्डका सबै ३ सय ९ शाखा र प्राइमार्कले सबै १ सय ५३ स्टोर खोलेका बीबीसीले जनाएको छ ।

मार्क्स एन्ड स्पेनसर, आर्गोस्, टपसप, स्पोर्ट्स डाइरेक्टदेखि आइकिया, कार, साइकल, फर्निचर, पुस्तक, खेलकुद तथा बिजुलीका पसलसमेत खुलेका छन् । फोटोग्राफी स्टुडियो, टेलरिङ सप, इन्डोर मार्केट पनि खुला भएका छन् ।

सरकारले इंग्ल्यान्डभरका खुद्रा पसलहरुलाई कोरोना भाइरस रोकथामका लागि आवश्यक सतर्कता कायम गरेर मात्रै खोल्न अनुमति दिएको हो । लकडाउनका क्रममा यसअघि खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्रीका पसल, सुपरस्टोर, बैंक खुला गरिएको थियो ।

रेस्टुरेन्ट, पब, क्याफे, हेयर ड्रेसर, सिनेमालगायत व्यवसाय भने जुलाई पहिलो सातादेखि खुला गरिने सरकारको योजना छ ।

सोमबारदेखि कोभिड–१९ का लागि ‘हरित क्षेत्र’ घोषणा भएसँगै फ्रान्सको राजधानी पेरिसलगायत स्थानामा जनजीवन सामान्य बनेको हो । राष्ट्रपति एमानुयल माक्रोंले यसअघि निर्धारण गरिएका उच्च जोखिमका क्षेत्र हटाएपछि अधिकांश क्षेत्रमा होटल, रेस्टुरेन्ट, बार र कफी सप खुलेका हुन् । यद्यपि त्यस्ता पसलमा ग्राहक तथा कामदारले सामाजिक दूरी र स्वास्थ्यसम्बन्धी नियम भने पूर्णरूपमा पालना गर्नुपर्नेछ ।

कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि फ्रान्समा मे ११ मा लकडाउन घोषणा गरिएको थियो । त्यसयता संक्रमणको अवस्थाअनुसार विभिन्न क्षेत्रलाई हरियो, पहेंलो, सुन्तला र रातो रंगमा विभाजन गरिएको थियो । रातो र सुन्तला रंग निर्धारण गरिएका क्षेत्रका अस्पतालहरुमा बिरामीको निकै चाप बढेको थियो ।

पेरिसको प्रान्तीय क्षेत्र इल द फासलाई रातो क्षेत्रबाट हरियो निर्धारण गरिएको छ । फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै अझै पनि सबै क्षेत्र खुला गरिनु जोखिमपूर्ण हुने बताएका छन् । भाइरसको प्रकोपले खडा भएका चुनौतीहरूको सामना गर्न आफ्नो देश पर्याप्त तयारी अवस्थामा नरहेकाले धेरै स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपरेको उनको भनाइ छ ।

लकडाउन खोलिए पनि वृद्ध र जोखिममा परेका व्यक्तिहरूले भने घरमै बस्नुपर्ने उनले सुझावसमेत दिएका छन् । ‘त्यस्ता व्यक्तिहरुलाई सरकारले सहयोग गर्नेछ,’ माक्रोंले भने । उनले नागरिकको स्वास्थ्य परीक्षणलाई तीव्रता दिइने जनाउँदै भनेका छन्, ‘कुनै पनि संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई तत्कालै भेटेर पहिचान गरिनेछ ।’

दोस्रो संक्रमण फैलने चेतावनी

बेलायतमा लकडाउन छिटो खुकुलो पारिएको भन्दै आलोचना भइरहँदा दोस्रो संक्रमण फैलने चेतावनी आएका छन् । बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरुले जाडो याममा भाइरसको दोस्रो लहर आउन सक्ने खतरासँग जुध्ने तयारीका लागि सार्वजनिक छानबिन गराउन प्रधानमन्त्री बोरिस जोनसनलाई आह्वानसमेत गरेका छन् ।

२७ जना विशेषज्ञहरुले भाइरसको संक्रमण नियन्त्रण गर्न ब्रिटिस सरकारले अपनाएका कदमहरुमा कमजोरीका कारण ज्यान गुमाउनेको संख्या बढी भएको दाबी गरेका छन् । इंग्ल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस), पब्लिक हेल्थ र सामाजिक सुरक्षाको खण्डीकरण, केन्द्र सरकारले स्थानीय निकाय तथा ब्रिटेनका अन्य प्रदेशहरुसँग नजिक रहेर काम गर्न नसक्नु र समयमै आवश्यक वस्तु तथा सेवा किन्न नसक्नु मुख्य कमजोरी रहेको उनीहरुको निष्कर्ष छ ।

‘आर’ भनेर चिनिने भाइरसको संक्रमण दर यूकेको कुनै भागमा अर्को भागको भन्दा उच्च रहेको बताइएको छ । लकडाउन खुकुलो र सामाजिक दूरीको निर्देशिका कार्यान्वयन नभए दोस्रो लहर झन् फैलिने चेतावनी इंग्ल्यान्डका चिफ मेडिकल अफिर क्रिस ह्विटीको पनि छ ।

त्यस्तै, सबै बालबालिकालाई विद्यालय पठाउने र अभिभावकलाई काममा फर्कन दिने हो भने दोस्रो संक्रमण फैलने चेतावनी अनुसन्धाताहरुको छ । बेलायत सरकारले लकडाउन पुन: लागू नगर्ने हो भने डिसेम्बरतिर अहिलेको भन्दा दोब्बर खतरा हुने उनीहरुको चेतावनी छ ।

यूसीएल र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन समूहले भने परीक्षण र ट्रेसिङको दायरा बढाए दोस्रो संक्रमण रोक्न सक्ने बताएको छ ।

प्रकाशित : असार २, २०७७ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम घटना : मृतकका आफन्तद्वारा शवगृहमा आगजनी

पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ । सो क्रममा ६ जना घाइते भएका छन् ।
भीमबहादुर सिंह

जाजरकोट — पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै सोती हत्याकाण्डका मृतकका आफन्तले जिल्ला अस्पतालमा तोडफोड गर्नुका साथै शवगृहमा आगजनी गरेका छन् । सो क्रममा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।

सोमबार दिउँसो ४:३० बजेतिर मृतकका आफन्तहरू अस्पताल पुगेर गेट तोडफोड गर्नुका साथै शवगृहमा आगो लगाएका थिए । सम्भावित जोखिमलाई ख्याल गर्दै स्थानीय प्रशासनले आइतबार साँझबाटै अस्पतालमा सुरक्षाकर्मी खटाएको थियो । ‘डाक्टरहरूले दबाबमा परेर पोस्टमार्टम रिपोर्ट कमजोर बनाएर पठाएको थाहा पायौं,’ मृतक गणेश बुढाका बुबा पदमबहादुरले भने, ‘हामी पीडितमाथि चारैतिरबाट पीडा थप्ने काम भएको छ ।’ आफूले शव हेर्दा टाउको, मुख र शरीरका विभिन्न ठाउँमा घाउचोट देखेको भए पनि रिपोर्टमा ती कुरा उल्लेख नभएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी जनक पन्तले सुरक्षा व्यवस्था कडा बनाइए पनि गोली हान्न आदेश नदिइएको बताए । ‘हामी सुरक्षा बैठकमा थियौं, त्यहाँ (अस्पतालमा) झडप भएछ,’ उनले भने, ‘गोली हान्नका लागि हामीले आदेश नदिएकाले त्यसबारे थाहा भएन ।’ प्रहरीसँगको झडपमा पदमबहादुरसहित उनकी श्रीमती राधिका, सञ्जीव विककी आमा लक्ष्मी र अन्य ४ जना तथा प्रहरी निरीक्षक महेश आचार्य र एक जवान घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमै उपचार गरिएको छ ।

प्राप्त पोस्टमार्टम रिपोर्टमा भने नवराज विकको टाउकोमा चोट लागेको उल्लेख गरिएको छ । हातमा २ सेन्टिमिटरदेखि २८ सेन्टिमिटरसम्म लामो धसारिएको घाउ रहेको उल्लेख छ । रिपोर्ट हेरेपछि एक चिकित्सकले धारिलो हतियारले हानेको भन्नेचाहिँ उल्लेख नगरिएको बताए । ‘टाउको र हातमा घाउ भएको त देखिन्छ, तर त्यो घाउलाई अदालतले कसरी व्याख्या गर्छ भन्नेमा भर पर्छ,’ ती चिकित्सकले भने, ‘एक जनाको रिपोर्टमा भने डुबेर मरेको भन्ने लेखिएको छ ।’ मृतकको श्वासनलीमा बालुवा देखिएको र पेट (आमाशय) मा पानी भने नदेखिएको उनले बताए ।

सोती हत्याकाण्ड संघर्ष समितिका संयोजक नगेन्द्र शाहले शवको यथार्थ अवस्था लुकाएर दोहोरो अर्थ लाग्ने रिपोर्ट दिइएपछि पीडित झन् आक्रोशित भएको बताए । उच्चस्तरीय दबाबबाट प्रहरी–प्रशासनदेखि डाक्टरसम्म प्रभावित भएको उनको आरोप छ । पीडकलाई उम्काउनका लागि भएका षड्यन्त्रविरुद्ध संघर्षका थप कार्यक्रम अघि बढाइने उनले बताए ।

प्रकाशित : असार १, २०७७ २२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×