१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रंगभेदविरुद्ध फ्रान्समा बढ्यो प्रदर्शन

ददि सापकोटा

पेरिस — अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको विरोध प्रदर्शन फ्रान्समा बढ्दै गएको छ ।

रंगभेदविरुद्ध फ्रान्समा बढ्यो प्रदर्शन

फ्रान्समा बढ्दो अन्याय, जातीय विभेदको उन्मूलन, प्रहरी क्रूरता र रंगभेदको अन्त्य गर्न आह्वान गर्दै शनिबार तथा आइतबार हजारौं अल्पसंख्यक प्रदर्शनकारीले नाराजुलुस गरेका छन् । लकडाउनको नियम उल्लंघन गर्दै भएको प्रदर्शनमा सहभागीले उत्तेजित नारा लगाएका थिए । प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी दर्जनौं अश्रुग्यास प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीहरूले फ्रान्सको गणतन्त्रको प्रतीक ‘मारियान’ को विशाल मूर्तिमा चढेर ‘न्याय छैन भने शान्ति पनि छैन’ भन्ने नारा लगाएपछि प्रहरीले तितरबितर पारेका थिए । त्यसपछि मध्य पेरिसको ओपेरा हाउसमा जान खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो ।

फ्रान्सका पेरिस, मासेई, लियों, बोर्दो, निसलगायत विभिन्न सहरमा भएका प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच केही मुठभेड भएका छन् । सम्भावित हिंसा रोक्न प्रहरीले ‘ब्ल्याक मार्च मार्ग’ लाई घेरा हालेर नियन्त्रणमा राख्न खोजेको छ ।

फ्रान्स अफ्रिकी मूलका नागरिकहरूको संख्या सबैभन्दा बढी भएको युरोपेली मुलुक हो । फ्रान्सको कुल जनसंख्या ६ करोड ५० लाखमध्ये ८ प्रतिशत अफ्रिकी मूलका नागरिक छन् । खासगरी आप्रवासी मूलका नागरिकहरूमाथि समान सुविधा नदिएको, विभेदपूर्ण व्यवहार नगरेको र फ्रान्सेली प्रहरीले क्रूर व्यवहार गर्ने भन्दै बारम्बार प्रदर्शनहरू हुँदै आएका छन् ।

एटलान्टामा २७ वर्षीय अश्वेत नागरिक रेसर्ड ब्रुक्सको प्रहरीको गोली लागी मृत्यु भएपछि फ्रान्समा पनि त्यसले ठूलो प्रभाव पार्ने देखिन्छ । यो घटनापछि अश्वेत नागरिकहरू साँच्चै राज्यद्वारा अपहेलित र असुरक्षित रहेका भन्दै थप आन्दोलन चर्काउने अधिकारकर्मी र अफ्रिकी मूलका नागरिकहरूले घोषणा गरेका छन् ।

पेरिसमा आयोजित विरोध प्रदर्शनको नेतृत्व अदामा ट्राओरेका समर्थकहरूले गरेका थिए । उनको मृत्यु अमेरिकी नागरिक जर्ज फ्लोयडको समान छ । फ्रान्सेली अश्वेत नागरिक ट्राओरेको सन् २०१६ मा प्रहरी हिरासतमा ज्यान गएको थियो ।

उनको मृत्युबारे अनेक अड्कलबाजी र शंका छन् । यद्यपि, उनको मृत्युका लागि जिम्मेवार को थिए भन्नेबारे हालसम्म पनि केही जनाइएको छैन । अफिकी मूलका नागरिकले उनको हत्यामा दोषी किटान गर्न निरन्तर माग गर्दै आइरहेका छन् ।

फ्रान्समा हुने जातिवाद र रंगभेदविरुद्धको प्रदर्शनीमा ट्राओरेले न्याय पाउनुपर्ने भन्दै माग गरिँदै आएको छ । ट्राओरे र जर्ज फ्लोयडको घटनाका कारण पनि फ्रान्समा अश्वेत नागरिकविरुद्ध विभेद भएको भन्दै प्रदर्शनीहरू बढेका छन् ।


प्रकाशित : जेष्ठ ३२, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?