दक्षिण कोरियासँग सबै सञ्‍चार सम्पर्क बन्द गर्ने उत्तर कोरियाको घोषणा

रासस

सोल — उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण सञ्‍चार सम्पर्क विच्छेद गर्ने जनाएको छ । दुवै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ । 

दक्षिण कोरियासँग सबै सञ्‍चार सम्पर्क बन्द गर्ने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले दुई देशबीचका नेताको हटलाइन नम्बर पनि बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै दुई देशबीचको तनाव कम गर्नका लागि सीमा क्षेत्रमा स्थपना गरिएको कार्यालय पनि मंगलबारदेखि बन्द हुने भएको छ ।

दक्षिण कोरियाली सरकारले भने कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोधले पनि दुवै कोरियाबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।

केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् । उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले खासै फाइदा नभएकाले सबै दुई देशीय सम्पर्क सञ्‍जाल बन्द गर्नु परेको जनाएको छ ।

उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीवादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठूल्ठूला बेलुन उडाएका थिए । यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाका‌क्षा र मानव अधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए ।

सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तरको बुझाइ छ । पटक-पटक बेलुन उडाइए छि उत्तर कोरियाले दक्षिणसँग गरिएका अरु सम्झौताहरु पनि रद्द गर्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?