विवादित शीर्षकका कारण ‘फिलाडेल्फिया इन्क्वायरर’ का सम्पादकले दिए राजीनामा

एजेन्सी

फिलाडेल्फिया — विवादित शीर्षकका कारण अमेरिकी दैनिक पत्रिका ‘फिलाडेल्फिया इन्क्वायरर’ का एक जना वरिष्ठ सम्पादकले राजीनामा दिएका छन् । प्रहरी ज्यादती र सामाजिक समानता र न्यायका लागि रंगभेदविरुद्ध अमेरिकामा भइरहेको प्रदर्शनका बारेमा प्रकाशित सामग्री विवादमा मुछिएपछि ‘फिलाडेल्फिया इन्क्वायरर’ का वरिष्ठ उपाध्यक्ष तथा कार्यकारी सम्पादक स्टान विस्नोस्कीले राजीनामा दिएका हुन् ।

विवादित शीर्षकका कारण ‘फिलाडेल्फिया इन्क्वायरर’ का सम्पादकले दिए राजीनामा

पत्रिकाले मंगलबार प्रकाशित इंगा स्याफ्रोनको स्तम्भको शीर्षक ‘बिल्डिङ्स म्याटर, टू’ राखिनु ठूलो गल्ती भएको भन्दै बुधबार माफी मागेको थियो । अश्वेत नागरिकहरुमाथि गरिएको दमनविरुद्धको अभियान ‘ब्ल्याक लाइभ्स म्याटर’ को काउन्टरमा ‘बिल्डिङ्स म्याटर, टू’ शीर्षक राखिएको भन्दै पत्रिकाको व्यापक विरोध भएको थियो ।

पत्रिकाले माफी माग्दै भनेको थियो, ‘मंगलबार प्रकाशित सामग्रीको शीर्षक एकदमै अपमानजनक थियो । हामीले यस्तो छाप्नै हुँदैनथ्यो । हामी माफी माग्छौँ र हामीले जे गऱ्यौं त्यसप्रति पश्चाताप छ । हामीलाई यो पनि थाहा छ कि माफी मात्रैले यसको क्षतिपूर्ति हुन सक्दैन ।’

साथै यो घटनाले संस्थामा परिवर्तन आवश्यक देखिएको र संवेदनशील सामग्री सम्पादनका क्रममा आगामी दिनमा ध्यान दिने प्रतिबद्धता पनि पत्रिकाले गरेको छ ।

स्याफ्रोनको स्तम्भमा प्रदर्शनका क्रममा जलाइएका र तोडिएका भौतिक संरचना र प्रहरी ज्यादतीबाट मारिएका अश्वेत नागरिकको जीवनसँग तुलना गरिएको छ । स्याफ्रोनले अश्वेत नागरिकको जीवनसँगै भौतिक संरचनाहरु पनि जोगिनुपर्ने बताएकी छिन् । ४ सय वर्षदेखि संस्थागत रुपमा अश्वेत नागरिकहरुमाथि गरिँदै आएको थिचोमिचोका कारण सडकमा आक्रोश देखिनु स्वभाविक भएको उल्लेख गर्दै स्याफ्रोनले भवनहरु ध्वस्त बनाएर त्यसको क्षतिपूर्ति नपाइने बताएकी थिइन् ।

तस्बिर : एपी/रासस

स्टान विस्नोस्कीले २० वर्षदेखि ‘फिलाडेल्फिया इन्क्वायरर’ मा काम गर्दै आएका थिए । सन् २०१२ मा पत्रिकाले पुलित्जर पुरस्कार पाउँदा उनी सम्पादक थिए । फिलाडेल्फियाका विद्यालयमा भएको हिंसाका बारेमा गरेको अनुसन्धनात्मक रिपोर्टिङका लागि पत्रिकाले प्रतिष्ठित पुलित्जर पुरस्कार पाएको थियो ।

विस्नोस्कीले आउँदो जुन १२ बाट औपचारिक रुपमा आफ्नो जिम्मेवारी छोड्नेछन् । उनको स्थानमा कसलाई जिम्मेवारी दिने भन्नेबारेमा पत्रिकाको व्यवस्थापनले निर्णय गरिसकेको छैन ।

अमेरिकामा प्रहरी ज्यादतीबाट अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि देशभर प्रदर्शन भइरहेको छ । कतिपय स्थानमा हिंसात्मक प्रदर्शन भइरहेका छन् भने कतिपय ठाउँमा पछिल्लो समय शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ २५, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?