१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बाइडेनको उम्मेदवारी सुनिश्‍चित

अमेरिकाको राष्ट्रपतिका लागि नोभेम्बरमा हुने चुनावमा ट्रम्पसँग प्रतिस्पर्धा गर्ने
एजेन्सी

वासिङ्टन — अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेन विपक्षी दल डेमोक्रयाटिकका तर्फबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार छानिएका छन् । पार्टीका तर्फबाट उम्मेदवार बन्नका लागि आवश्यक पर्ने डेलिगेट्सको समर्थन पाएसँगै उनले आगामी नोभेम्बरमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।

बाइडेनको उम्मेदवारी सुनिश्‍चित

उम्मेदवारीका लागि १९ सय ९१ जना डेलिगेट्स आवश्यक पर्नेमा बाइडेनले त्योभन्दा बढीको समर्थन पाएको समाचार संस्था रोयटर्सले जनाएको छ । शुक्रबार ७ वटा राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाको नतिजा सार्वजनिक भएसँगै उनले आफ्नो उम्मेदवारी पक्का गरेका हुन् ।

डेमोक्रयाटिक पार्टीका तर्फबाट अर्का आकांक्षी बर्नी स्यान्डर्स गत अप्रिलमा राष्ट्रपतिको दौडबाट बाहिरिएपछि उनी उम्मेदवार बन्ने लगभग पक्का भएको थियो ।

‘हाम्रो पार्टीमा धेरै विद्वान् तथा क्षमतावान् उम्मेदवारहरु अरू धेरै हुँदाहुँदै पनि मलाई अवसर दिनुभएकोमा म सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उम्मेदवार निश्चित भएपछि बाइडेनले ट्वीट गरेका छन् ।

कोरोना महामारी, आर्थिक चुनौती र नागरिक अशान्तिलगायत विषय आफ्ना प्रमुख चुनावी मुद्दा हुने उनको भनाइ छ ।

पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेन पछिल्लो समय अमेरिकामा लोकप्रिय बन्दै गएका छन् । ओबामाले पछिल्लो समय प्रशंसा गरेका बाइडेनले रंगभेदविरुद्ध हाल जारी प्रदर्शनलाई समर्थन गरेका कारण अश्वेत समुदायको मत मिल्ने अपेक्षा गरिएको छ ।

ओबामाको कार्यकालमा उपराष्ट्रपति हुनुभन्दा अघि बाइडेन झन्डै ३६ वर्ष सिनेटको सदस्य थिए । ७७ वर्षीय बाइडेनलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रूपमा लिने गरिन्छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?