भारतसँगको सीमा विवादमा बेइजिङ संयमित

लक्ष्मी लम्साल

बेइजिङ — चीन-भारत सीमा क्षेत्रमा तनाव बढिरहेका बेला चीनले समग्रमा सीमा क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको दाबी गरेको छ ।

भारतसँगको सीमा विवादमा बेइजिङ संयमित

जुन ६ तारिख चिनियाँ र भारतीय सेनाका उच्च पदाधिकारीबीच सीमा विवादलाई लिएर वार्ता हुने तय भइरहेको बेला बेइजिङले समग्रमा शान्तिस्थिति नियन्त्रित रहेको भन्दै नरम रवैया प्रस्तुत गरेको हो ।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ् श्वाङले दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सम्बन्धित मुद्दालाई समाधान गर्न सक्रिय रहेको बताए । तर उनले वार्ताको ठोस स्वरूपबारे प्रष्ट खुलाएनन्। उनले भने, ‘आम रूपमा चीन भारत सीमा क्षेत्रको स्थिति स्थिर र नियन्त्रित छ। दुवै पक्ष सम्पर्कमा रहेर उचित समाधानको प्रयासमा छन् । ’

भारतीय अधिकारीहरूले चिनियाँ सेनाले सीमा क्षेत्रमा बाक्लो उपस्थिति बढाएको दाबी गर्दै भारतले पनि उस्तै तयारी गरिरहेको बताएका छन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै एउटा अन्तर्वार्तामा सीमा क्षेत्रमा केही तनाव भएको स्वीकार्दै भारतले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेको बताएका थिए ।

चीन भारत सीमा क्षेत्रमा लामो समयदेखि लगातार वर्षेनी कुनै न कुनै घटना हुने गरेका छन्। सीमा क्षेत्रमा बारम्बार हुने रस्साकस्सी, धक्कामुक्का, हतियार खोसाखोसका घटना निरन्तर चलिरहेपनि दुवै मुलुक ठोस समाधानमा पुग्‍न सकेका छैनन्। भारतले चीनलाई गम्भीर हुन चेतावनी दिने गरेको छ तर चीन भने गम्भीर वार्ताको पहलका लागि प्रयत्नरत रहेको बताउँछ ।

पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले शनिबार हुने वार्ताप्रति भने, ‘दुवै पक्ष कूटनीतिक तथा सैन्य माध्यमबाट निरन्तर सम्पर्कमा छन्। चीन र भारतबीच सीमा विवादका सवालमा वार्ता गर्ने व्यवस्था बनेको छ ।’

चीन र भारतबीच ३ वर्षअघि भएको दोक्लाम विवाद उच्चस्तरीय वुहान वार्ताद्वारा समाधान भएको थियो । हाल जारी छिट्पिट् घटनाले उग्र रूप लिनबाट रोक्न आसन्न सैन्यस्तरीय वार्तालाई महत्वका साथ हेरिएको छ ।

छिमेकी मुलुकहरूसँग सीमा विवाद झेलिरहेको भारत यतिखेर नेपालले समेत ऊद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेसँगै थप रापिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?