कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘ट्रम्पले विभाजनको आगो सल्काए’

एजेन्सी

वासिङ्टन — अमेरिकी पूर्वरक्षामन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले नियोजित रूपमा रंगभेदी विभाजनको आगो सल्काएका आरोप लगाएका छन् । प्रहरी नियन्त्रणमा रहेका अश्वेत अमेरिकी जर्ज फ्लोयडको हत्याको विरोधमा भएको प्रदर्शनप्रति चालेको ‘कदमप्रति म्याटिस क्रुद्ध भएका हुन् ।

‘ट्रम्पले विभाजनको आगो सल्काए’

ट्रम्पले देशव्यापी प्रदर्शन दमनका लागि सेना परिचालन गरिनुपर्ने बताएका थिए । ट्रम्पको कार्यशैलीले देशको सेना र नागरिक समाजबीच द्वन्द्व सिर्जना हुने म्याटिसको भनाइ छ ।

‘डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन प्रयास गरेको मैले कहिल्यै पाइनँ,’ म्याटिसले भने, ‘उनले हामीलाई विभाजन गर्न चाहन्छन् । हामीले तीन वर्षदेखि यही शैली पाएका छौं । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं ।’

ट्रम्पका रक्षामन्त्री रहेका म्याटिसले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयप्रति असहमति जनाउँदै सन् २०१८ को डिसेम्बरमा राजीनामा दिएका थिए । मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु र यसले मलाई थप क्रुद्ध बनाएको छ,’ राजीनामापछि प्राय: मौन रहेका म्याटिसले भने ।

राजीनामा पत्रमा म्याटिसले ट्रम्पको विदेश नीतिको कडा आलोचना गरेका थिए । उक्त राजीनामापछि ट्रम्पले म्याटिसलाई ‘आवश्यकताभन्दा बढी महत्त्व दिइएका जर्नेल’ को संज्ञा दिएका थिए ।

म्याटिसले ट्रम्पबाहेक अन्य अमेरिकीहरू एकताबद्ध हुनुपर्ने समय आएको बताए । देशभर भइरहेका प्रदर्शनबारे प्रतिक्रिया दिँदै म्याटिसले ‘ठूलो संख्याका नागरिकले कानुनबमोजिम समान न्याय पाउनुपर्ने’ माग गरे । राष्ट्रपति ट्रम्पले ‘शक्तिको दुरुपयोग गरेको’ उनको आरोप छ ।

म्याटिसको भनाइ सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै ‘जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्त्व दिइएको’ जनाएका छन् । ‘मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन,’ ट्रम्पले भनेका छन् ।

फ्लोयडको हत्यापछि बर्खास्त गरिएका चार जना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू लगाइएको छ । अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक सोभिनविरुद्ध पूर्वयोजनाबिनाको आशययुक्त हत्याको अभियोग लगाइएको छ ।

यसअघि उनलाई पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएको थियो । यसअघि अभियोग नलगाइएका अन्य तीन जना प्रहरीमाथि गैरकानुनी काममा उक्साउनुका साथै मतियार बनेको आरोप लगाइएको छ । प्रहरी अधिकारीहरूमाथि लगाइएका नयाँ अभियोगबारे जनाउँदै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले आफूहरू न्यायको पक्षमा उभिएको जनाए ।

महान्यायाधिवक्ता एलिसनले विगतका घटनाहरूका आधारमा उनीहरूलाई दोषी ठहराउन कठिन हुने जनाए । मिनेसोटा राज्यमा बहालवाला एक जना प्रहरी अधिकारीलाई मात्रै सर्वसाधारणको हत्या गरेको दोषी ठहर गरिएको छ ।

प्रहरी अधिकारी सोभिनको ज्यादतीका कारण फ्लोयडको ज्यान गएको भन्दै अमेरिकाभर प्रदर्शन चर्केको हो । घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले करिब ९ मिनेटसम्म फ्लोयडको घाँटीमा घुँडा टेकेको देखिन्छ ।

फ्लोयडले आफूलाई सास फेर्न गाह्रो भएको बारम्बार बताएका भए पनि सेभिनले बेवास्ता गरेका थिए । प्रदर्शनकारीहरूले हत्याको विरोधमा मात्र नभई अफ्रिकी मूलका अमेरिकीमाथि बेलाबेलामा हुने प्रहरी दमनको समेत भत्र्सना गरेका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?