कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शान्तिपूर्ण बन्दै अमेरिकाको प्रदर्शन

ह्युस्टनमा गरिएको विरोध प्रदर्शनमा फ्लोयडको परिवारका १६ जना सदस्यसँगै ६० हजार सहभागी भएका छन् ।
एजेन्सी

वासिङ्टन — प्रहरी नियन्त्रणमा रहेका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्याको विरोधमा गरिएका प्रदर्शनहरू शान्तिपूर्ण बन्दै गएका छन् । अधिकांश सहरहरूमा बुधबार दशौं हजारले शान्तिपूर्ण प्रदर्शन गरेका सीएनएनले जनाएको छ ।

शान्तिपूर्ण बन्दै अमेरिकाको प्रदर्शन

टेक्सास राज्यको ह्युस्टन सहरमा फ्लोयडका आफन्तहरूसहित हजारौं विरोधमा सहभागी भएका छन् । केही सहरहरूमा भने कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनहरू गरिएका छन् ।

प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण फ्लोयडको ज्यान गएपछि अमेरिकामा प्रदर्शन चर्केको हो । घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले ८ मिनेटभन्दा बढी समयसम्म फ्लोयडको घाँटीमा घुँडा टेकेको देखिन्छ ।

फ्लोयडले आफूलाई सास फेर्न गाह्रो भएको बताएका समेत भिडियोमा सुन्न सकिन्छ । ४४ वर्षीय सोभिनसहित चार जना प्रहरीलाई घटनापछि बर्खास्त गरिसकिएको छ । सोभिनलाई हत्या आरोपमा मुद्दा चलाइएको छ ।

प्रदर्शनकारीहरूले हत्याको विरोधमा मात्र नभई अफ्रिकी मूलका अमेरिकीमाथि बेलाबेलामा हुने प्रहरी दमनको समेत भत्र्सना गरका छन् ।

वासिङ्टन, न्युयोर्कलगायत केही सहरमा भने सामान्य झडपहरू भएको जनाइएको छ । प्रदर्शनकारीहरू राष्ट्रपति कार्यालयतिर बढेपछि वासिङ्टन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । न्युयोर्कको म्यानह्याटनमा प्रदर्शनकारीले कफ्र्यु उल्लंघन गरेका जनाइएको छ । विरोधमा सहभागी करिब २ सय जनालाई प्रहरीले पक्राउ गरेको सीएनएनले जनाएको छ ।

ह्युस्टनमा ६० हजार प्रदर्शनकारीसँगै फ्लोयडको परिवारका १६ सदस्यहरू सहभागी भएका छन् । बीबीसीका अनुसार प्रदर्शनमा फ्लोयडका भतिजले ‘अंकलले न्याय नपाएसम्म प्रदर्शन नरोकिने’ बताएका थिए ।

मिनियापोलिसमा भएको पत्रकार सम्मेलनमा ६ वर्षीया छोरी गियानासँगै उपस्थित फ्लोयडकी पत्नी रोक्सी वासिङ्टनले ‘उनी निकै राम्रो मानिस’ भएको बताइन् । फ्लोयडको जुन ९ मा ह्युस्टनमा अन्त्येष्टि गरिँदै छ ।

अमेरिकी रक्षा मन्त्रालयले १ हजार ६ सय सेनालाई विभिन्न सहरका सैनिक आधार केन्द्रमा पुर्‍याइएको जनाएको छ । रक्षा मन्त्रालयले सेना उच्च सतर्कतामा रहेको बताएका छन् । रक्षामन्त्री मार्क इस्परले स्वीकृति दिएपछि ती सैनिकहरूलाई क्यालिफोर्निया र न्युयोर्क लगिएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले प्रदर्शन नियन्त्रणका लागित सेना परिचालन गर्ने चेतावनी दिएका थिए । ‘दंगाका कारण विपन्न समुदायका शान्तिप्रेमी नागरिक पीडित भएका’ भन्दै उनले सेना परिचालन गरिने बताएका थिए । ट्रम्पले देशभर भएका हिंसात्मक प्रदर्शनहरू दबाउन राज्यका गभर्नरहरूलाई आह्वान गरेपछि उनको चर्को आलोचना भएको थियो ।

न्युयोर्कमा प्रदर्शनकारी र प्रहरीबीच देखिएको सौहार्दता तस्बिर : एपी/रासस

यसैबीच, एक निजी पोस्टमार्टम परीक्षणले फ्लोयडको हत्या अक्सिजनको कमीका कारण भएको जनाएको छ । फ्लोयडको परिवारका तर्फका परीक्षक रहेका चिकित्सकले मिनियापोलिसका प्रहरी अधिकारीले घाँटी र ढाडमा थिचेका कारण उनको मृत्यु भएको बताएका हुन् ।

उक्त परीक्षणमा देखिएको कुरा सरकारी स्वास्थ्य परीक्षकले पत्ता लगाएको कारणभन्दा फरक देखिएको छ । पहिला गरिएको परीक्षणमा ‘अक्सिजनको कमी वा घाँटी थिचिएका कारण’ मृत्यु भएको नदेखिएको जनाइएको थियो ।

सरकारी रिपोर्टमा फ्लोयडको मृत्युका कारण उनको पहिलेदेखिको स्वास्थ्य अवस्था प्रमुख कारण देखिएको जनाइएको थियो । तर फ्लोयडको परिवारले राखेका दुई चिकित्सकले भने मृत्यु नभई हत्या भएको पत्ता लागेको जनाएका हुन् ।

न्युयोर्कका पूर्वपरीक्षक डाक्टर माइकल बाडेनले भनेका छन्, ‘घाँटीमा दबाइएकाले फ्लोयडको मृत्यु भएको हो । त्यसले अक्सिजनलाई दिमागमा जान रोक्छ र ढाडमा दबाउँदा सास फेर्न गाह्रो हुन्छ ।’ चिकित्सक बाडेनले फ्लोयडको मृत्यु हुने गरी अन्य कुनै खालको स्वास्थ्य समस्या नरहेको पनि बताए ।

यसअघि फ्लोयडका तर्फका वकिलले प्रहरीले ‘पूर्वनियोजित रूपमा उनको हत्या गरेको’ दाबी गरेका थिए । वकिल बेन्जामिन क्रम्पले प्रहरीले जानीजानी हत्या गरेको दाबी गरेका हुन् । ‘उनको हत्या गर्ने आशय थियो । फ्लोयडले बारम्बार सास फेर्न गाह्रो भएको बताइरहँदा पनि उनले झन्डै ९ मिनेटसम्म आफ्नो घुँडाले घाँटीमा थिचिरहेका थिए,’ उनले भनेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?