युरोपेली पर्यटकका लागि खुल्यो इटाली

ददि सापकोटा

पेरिस — कोरोना भाइरस (कोभिड–१९) बाट युरोपकै दोस्रो प्रभावित इटाली युरोपेली पर्यटकका लागि खुला गरिएको छ । भाइरसको महामारीका कारण कमजोर बनेको देशको आर्थिक अवस्था उकास्न इटालीको पर्यटन क्षेत्र बुधबारदेखि खुला गरिएको हो ।

लकडाउनका कारण संकटग्रस्त अर्थतन्त्र सुधार्न युरोपेली मुलुकका पर्यटकहरु मूल आधार बन्न सक्ने भन्दै इटालीले पर्यटन क्षेत्र सुचारु गरेको फ्रान्स २४ टीभीले जनाएको छ ।

गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउने युरोपेलीलाई आफ्नो देशमा आकर्षित गरी पर्यटन व्यवसायलाई पुनर्जीवित गराउन सकिने इटालीको विश्वास छ । भेरोना सहरले ‘हाम्रो सहरमा रोमियो र जुलियटजस्तै गरेर भेरोनाको बाल्कोनीबाट प्रेममय फोटो खिच्न सकिन्छ, सेल्फी खिच्न पाइन्छ, रोमियो र जुलियट बन्न सकिन्छ’ भन्दै पर्यटक तान्ने नारा सार्वजनिक गरेको छ ।

त्यसलगत्तै अन्य सहरका मेयरहरुले पनि पर्यटक तान्न प्रतिस्पर्धा थालेका छन् । भेनिस सहरले ‘भेनिसका नहरहरुमा पानीसितको आनन्द लिन पाइन्छ, जलचरहरु प्रत्यक्ष देख्न पाइन्छ’ भन्दै पर्यटक तान्ने प्रयास गरेको छ ।

त्यस्तै, इटालीको दक्षिणी समुद्री किनार कालाब्रियाका गभर्नर जोले सान्तेलीले इटालीमा पर्यटक तान्ने होड सुरु भएको उल्लेख गर्दै भनेका छन् ‘हाम्रो कालाब्रिया आउनुभयो भने यहाँको बालुवामा सुतेर, खेलेर मज्जा लिन पाइन्छ, अहिले शान्त पनि छ ।’

इटालीमा कोभिड–१९ का कारण ३३ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । पर्यटक तान्ने उपायहरु सार्वजनिक गरे पनि इटालीमा अझै मानिस शोकमा डुबेका बताइएको छ । त्यसका साथै, भाइरसको दोस्रो लहर फैलिएमा सरकारले सबै क्षेत्रहरु पुन: बन्द गर्न सक्ने सूचना जारी गरेकाले पर्यटकहरु जान हिच्किचाउने जनाइएको छ ।

त्यसका साथै सबै क्षेत्रसमेत सुचारु भइसकेका छैनन् । कोरियर डेला सेरा अखबारले प्रमुख पर्यटकीय क्षेत्र रोमका १ हजार २ सय होटलमध्ये ४० वटा खुला भएका जनाएको छ ।

‘होटलवालाहरु सबैले आफ्नो व्यवसाय खुला गर्न चाहन्छन् । तर छिमेकीसँगको सीमा र अन्तर्राष्ट्रिय उडान सुचारु नभएसम्म पर्यटक आउने छैनन्,’ इटालीको होटल एसोसिएसनका उपाध्यक्ष मार्को मिसिएलीले भनेका छन् ।

चिकित्सक अभावले स्वास्थ्य सेवा प्रभावित

कोभिड–१९ को संक्रमणपछि स्विट्जरल्यान्डमा चिकित्सक अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ ।

हाल स्विट्जरल्यान्डका ३८ हजार डाक्टरमध्ये एकतिहाइ विदेशी प्रमाणपत्रबाहक छन् । भाइरसका संक्रमण फैलिएसँगै उनीहरु आफ्नो देश फर्किएकाले सेवा प्रभावित भएको हो ।

नागरिकलाई स्वास्थ्य सेवा दिन वार्षिक १ हजार ३ सय डाक्टर उत्पादन हुनुपर्छ । तर स्विट्जरल्यान्डमा वार्षिक ९ सय डाक्टर मात्रै थपिन्छन् । करिब एकतिहाइ चिकित्सकहरु जर्मनी, फ्रान्स, इटाली र रोमानियाका छन् ।

सरकारले सन् २०१७ देखि २०२० सम्ममा वार्षिक १ एक हजार ३ सय डाक्टर उत्पादन गर्ने लक्षका साथ १० करोड स्विस फ्रयांक लगानी गरेको थियो । तर आवश्यकताअनुसार चिकित्सक भने थपिएका छैनन् ।

स्विट्जरल्यान्डमा हाल प्रति १ हजार जनसंख्याका लागि ४ जना चिकित्सक छन् । यो संख्याले नागरिकलाई उचित स्वास्थ्य सेवा दिन नसकिने भनाइ स्विट्जरल्यान्डको स्वास्थ्य सेवा विभागका अधिकारीहरुको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

'कोरोना रोकथाम तथा नियन्त्रणमा १० अर्ब खर्च'

उच्चस्तरीय समितिले लकडाउन खुकुलो पार्ने मस्यौदा सरकारलाई बुझाउने 
कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म सरकारले करिब १० अर्ब रुपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको बिडारीले बताएका छन् ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

सचिव बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । स्थानीय तहबाट भएको खर्चको पूर्ण विवरण आइनसकेको उनले बताए । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए ।

समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । लकडाउन खुकुलो बनाउनेबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि समितिले छलफल गरेको छ । तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बझुाउने समझदारी पनि बैठकमा बनेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ २०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×