सेना खटाउने ट्रम्पको चेतावनी

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका विभिन्न सहरहरूमा भइरहेको हिंसात्मक प्रदर्शन रोक्न सेना खटाउने चेतावनी दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्यापछि अमेरिकाव्यापी प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

सेना खटाउने ट्रम्पको चेतावनी

सीएनएनका अनुसार कम्तीमा ७५ सहरमा लगाइएको कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनकारी सडकमा उत्रेका छन् ।

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको जनाइएको छ । दर्जनौं राज्यहरूमा प्रहरी कार्यालय तथा गाडीहरू तोडफोड गरिएको छ भने पसलहरूमा लुटपाट भएको छ ।

फ्लोयडको मृत्युका कारण अमेरिकामा मात्रै नभई विश्वका अन्य देशमा समेत विरोध प्रदर्शन भएका छन् । बेलयातको लन्डन, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिस, जर्मनीको बर्लिन, ग्रीसको एथेन्स तथा नेदरल्यान्डको आम्सटर्डमलगायतका स्थानमा पनि फ्लोयडको हत्याको विरोधमा प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।

‘दंगाका कारण अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन्,’ राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा पत्रकारसँग बोल्दै उनले भने, ‘राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्न सक्दो प्रयास गर्छु ।’

पत्रकारसँग बोलेपछि ट्रम्प ह्वाइटहाउस नजिकैको एक गिर्जाघरसम्म सुरक्षाकर्मी लिएर पैदल गएका थिए । गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो । ह्वाइटहाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको थियो ।

ट्रम्पले देशभर भएका हिंसात्मक प्रदर्शनहरू दबाउन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन् । खराब र अशान्त अवस्थामा पनि गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको ट्रम्पको भनाइ छ । उनले गर्भनरहरूलाई नेसनल गार्ड परिचालन गर्नसमेत आग्रह गरेका छन् ।

‘यदि कुनै सहर वा राज्यले आवश्यक कदम चाल्न अस्वीकार गर्छन् भने म अमेरिकाको सेना परिचालन गर्छु र तुरुन्त समस्याको समाधान गर्छु,’ ट्रम्पले भने । तर विद्यमान कानुनी व्यवस्थाअनुसार कुनै पनि राज्यमा राष्ट्रपतिले सेना परिचालन गर्न गभर्नरले अनुरोध गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

अमेरिकामा रोकिएन प्रदर्शन

कर्फ्युबीच अमेरिकाका दर्जनौं सहरमा प्रदर्शन

प्रहरी हिरासतमा अफ्रिकी मूलका नागरिकको मृत्युपछि अमेरिकामा भड्कियो हिंसा

प्रकाशित : जेष्ठ २१, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?