असममा पहिरोले २० को मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असममा पहिरोले २० को मृत्यु

(एजेन्सी)

दिसपुर — भारतको उत्तरपूर्वी राज्य असममा केही दिनदेखि भइरहेको भारी वर्षापछिको पहिरोमा परी २० जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूका अनुसार चचार, हैलाकाँडी, करिमगन्जलगायतका जिल्लामा पहिरो गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार चचारमा ७, हैलाकाँडीमा ७ र करिमगन्जमा ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका सदस्यहरूसमेत छन् ।

‘चचारमा मंगलबार गएको पहिरोका कारण ७ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्,’ चचार जिल्ला विपद् व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लस्करले भने, ‘मृतकमध्ये ६ जनाको शव पहिरोबाट बाहिर निकालिएको छ भने एक जनाको खोजी भइरहेको छ ।’

हैलाकाँडीमा पनि पहिरोले ७ जनाको मृत्यु भएको एक अधिकारीले जनाए । उनका अनुसार ५ जना घाइते भएका छन् । भारतीय प्रहरीका अतिरिक्त उपआयुक्त इएल फाइरहेमले भने, ‘हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।’

घाइतेमध्ये २ जना सामान्य उपचारपछि घर फर्केका उनले जनाए । त्यस्तै करिमगन्जमा कम्तीमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।


प्रकाशित : जेष्ठ २०, २०७७ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्

मजदुरहरु भन्छन्, 'डराएर भोकै बस्नु भन्दा रोग लाग्‍नु बेस'

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको ७१ दिन बिते पनि संक्रमण कम हुन सकेको छैन । हरेक दिन संक्रमितहरुको ग्राफ बढेको बढ्यै छ । लकडाउनका कारण अर्थतन्‍त्रमा नराम्रोसँग प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर खानेहरुको दैनिकी लकडाउनसँगै दिनानुदिन गाह्रो हुँदै गएको छ ।

मकवानपुर घर भइ हाल इमाडोमा बस्ने ४८ वर्षीय अकलबहादर मोक्तान हाल इमाडोलमा बस्छन् । उनी घरमानै बनाएर स–साना आलुको चिप्स दालमोठहरु बनाएर पाँच जानाको परिवार जेनतेन पाल्दै आएका थिए । अहिले सबै ठप्प छ । अहिले उनको चिप्स किन्न आउने कोही छैनन् । आम्दानी नहुँदा उनको घरखर्च चलाउन धौधौ हुन थालेको छ । 'हामी जस्ताहरुलाई यो लकडाउनले साह्रै पीडा दियो,' मोक्तानले भने ।

लगनखेल रुटको गाडी चलाउने ५३ वर्षीय भिमबहादुर स्याङताङ पनि लकडाउन सुरुभए देखि नै लगनखेल बसपार्कमा आफूले चलाउने गाडीमा नै बस्दै आएका छन् । ललितपुर गोटिखेल स्थायी घर भएका उनी घर जाँदा क्वारेन्टाइनमा राख्ने भनेपछि गाडी छोडेर जान पनि मन नलागेको बताउँछन् । केहीदिनअघिसम्म लगनखेल बसपार्कमै खाना बाँढिएपनि अहिले त त्यो बन्द भएपछि उनी के खाने भन्‍नेमा चिन्तित छन् । कहिले भोकै सुत्ने उनी हिजोआज भरियाको पनि काम गर्न थालेका छन् । उनी लकडाउन कहिले खुल्छ भन्‍ने चिन्तामा छन् ।

भिमबहादुर स्याङताङ ।

कैलाली घर भएका ६५ वर्षीय गोपाल विश्वकर्मा रिक्सा कुदाँउछन् । आफूसहित ६ जना लगनटोलमा बस्ने उनी रिक्सा चलाएर अहिले दैनिक सय दुई सय कमाउँछन् । त्यो पनि कहिले खाली बस्नुपर्छ तर व्यापार भए/नभए पनि रिक्साको साहुलाई दैनिक सय रुपैयाँ बुझाउनुपर्ने उनले बताए । अहिले उनलाई रोग लागेर आफू मरेपनि भोकले मर्न नपारोस भन्ने लाग्छ । भन्छन्,'कति डराउनु, डराएर भोकै बस्नु भन्दा जे सुकै होस् अब भगवान भरोसा भनेर निस्किएको छु ।' उनले एक पटक मात्रै राहत पाए । लकडाउन बढेसँगै उनी अब के खाने, के गर्ने भन्‍नेमा अन्योल छन् ।

गोपाल विश्‍वकर्मा ।

लकडाउन अघिसम्म जेनतेन १५/२० हजारको कमाइले आफ्ना २ छोरी र १ छोरासहित श्रीमती पालेर बसेका ४६ वर्षीय हेमकुमार कार्कीको लकडाउन सुरु भएसँगै उनको सबै काम ठप्प भयो । दोलखा घर भई हाल महालक्ष्मीस्थान बसेका उनी सामान बोक्ने रिक्सा चलाउँछन् । राहतका लागि घरधनीले नागरिकताको फोटोकपी र घरको कर तिरेको रसिद नदिँदा उनले राहत पाएनन् । चिनेकाहरुले १० केजी चामल र अलिकति दाल त पाए त्यो उनको परिवारलाई केही दिनका लागि मात्रै पुग्‍यो । बेला बेला काममा निस्किन्छन् तर पुलिसको आँखा छलेर नत्र लकडाउन उल्लंघन गरेको भनेर दिनभरी राखिदिने डर उनलाई हुन्छ ।

हेमकुमार कार्की ।

भद्रकालीमा सानो पसल चलाएर जीविकोपार्जन गर्दै आएकी लालकला सुनारले पाँच केजी राहतका लागि अनेक हन्डर खाएको बताउँछिन् । लकडाउन सुरुभएसंगै पसल बन्द भएपछि उनले ३ महिनादेखि कोठाभाडा तिर्न पाएकी छैनन् । 'खानु परि हाल्यो, भएको पैसा सकिदै गयो,' उनले भनिन् । अचेल उनी फलफूल बोकेर वसन्तपुर क्षेत्रमा बेच्‍ने गरेपनि व्यापार नै नहुने गरेको उनले सुनाइन् ।

लालकला सुनार ।

रामेछाप लखपुर स्थायी घर भएका ५७ वर्षीय तेजबहादुर श्रेष्ठले करिब १२ वर्ष रत्नपार्कको छेउछाउ खाजा बेचे । बिरामी श्रीमती लिएर उनी हाल भारी बोक्न थालेका छन् । राहतको नाममा एक पटक वडाले दिएको १० केजी चामल पाएका थिए त्यसपछि उनले केहि पाएका छैनन् । 'भएको पैसा सबै सकियो अब के गर्ने भारी नबाकेर ?,' उनले प्रश्‍न गर्दै भने,'जाऊँ काहाँ जाऊँ बसौं पैसा छैन, भारी बोक्न पनि बल चाहिन्छ अहिले त त्यो पनि छैन त्यै पनि बाचुन्जेल त खानु पर्यो ।' लकडाउनले केही गर्न नपाइए रोग र भोकले मरिएला जस्तो भएको उनले सुनाए । 'गरिबको कोहि हुन्‍न रहेछन्,' उनले दुखेसो पोखे ।

तेजबहादुर श्रेष्ठ ।


प्रकाशित : जेष्ठ २०, २०७७ २१:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×