कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लद्दाख सीमामा फेरि भारत र चीनबीच तनाव

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ । पछिल्लो समय करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । यी दुई आणविक शक्ति राष्ट्रबीचको पछिल्लो तनावले पुरै एसियामा युद्धको भय सिर्जना गरेको छ ।

लद्दाख सीमामा फेरि भारत र चीनबीच तनाव

भारत र चीनबीच करिब पैंतीस सय किलोमिटर लामो सीमा छ । जसमध्ये केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतको तर्फबाट उक्त निगरानी सेना र आईटीबीपीले गर्छन् । संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो–तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ । सीमा विवादलाई नै लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । भारतले नराम्ररी पराजय भोगेको उक्त युद्धपछि पनि सीमा विवाद भने टुंगिएन ।

पछिल्लो विवाद भनेको लद्दाखस्थित सीमा क्षेत्रलाई लिएर हो । जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग लामो समयदेखि विवाद छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । साथै पाकिस्तान नियन्त्रित कश्मीरको भूभाग पनि भारतले आफ्नो दाबी गर्ने गरेको छ ।

त्यही दाबीबीच भारतले ५ अगस्ट २०१९ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेको थियो । आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्रका आफ्नो नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । चीनले भारतले आफ्नो नयाँ नक्सामा लद्दाखको विवादास्पद भूमिलाई पनि समेटेको आरोप लगाएको थियो । उक्त नक्साप्रति कालापानीलगायत आफ्नो भूमि समावेश गरिएको भन्दै नेपालले पनि विरोध जनाएको थियो ।

त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि गलवान उपत्यका, तातो पानी र प्यानगंग ताल क्षेत्रमा तनाव चर्किएको हो । पछिल्लो विवादमा चीनले भारतमाथि आफ्नो भूमिमा अनधिकृत रूपमा प्रवेश गरेर र सीमासम्बन्धी पूर्वाधार निर्माण गरेको आरोप लगाएको छ भने भारतले भने आफ्ना सैनिकहरू आफ्नैपट्टि रहेको बताएको छ । तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विभिन्न स्रोतबाट प्राप्त स्याटलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्षबाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको उल्लेख गरेका छन् ।

विवाद बढ्दै गएर सीमा सुरक्षामा खटिएका सैनिकहरूबीच झडपको स्थिति नै बनेको छ । भारतीय सञ्चार माध्यमहरूले लद्दाखका तीनवटा स्थानमा दुई देशका सैनिकहरूबीच झडप भएको उल्लेख गरेका छन् । त्यसैगरी सिक्किमको नाथु ला क्षेत्रमा पनि दुई देशका सैनिकहरूबीच झडप भएको बताइएको छ । विवादका कारण सीमामा खटिएका सैनिकहरूबीच हिंस्रक झडप भएका तस्बिरहरू सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

तनाव बढ्ने क्रमसँगै दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउँदै लगेका छन् । भारतले आफ्नो सेना सँगै आईटीबीपीको ठूलो संख्यालाई लद्दाखको एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी) क्षेत्रमा पठाएको छ । भारतले चीनको सैन्य उपस्थिति बराबर हुने गरी सैनिकहरू पठाउन लागेको हो । त्यसका लागि भारतले पहिले लद्दाखको अतिरिक्त फौजबाहेक पनि जम्मु–कश्मीरबाट पनि थप सैनिक पठाउन लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई देशबीच तनाव चलिरहे पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भने जारी रहेको छ । त्यसका लागि दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि चलिरहेको छ । तर पनि तनाव कम हुनुको साटो थप बढ्दै गएको छ । भारत र चीनबीच सीमामा आइपर्ने तनाव सम्बन्धमा छलफल सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार गत साता दुई पटक उक्त सयन्त्रमार्फत दुई देशका सैनिक अधिकारीहरूबीच छलफल भएको थियो । उक्त छलफलमा भारतले चीनलाई एलएसी क्षेत्रमा यथास्थिति कायम गर्नुपर्ने माग गरेको थियो भने चीनले सीमानजिक सडकलगायत कुनै पनि संरचनाको निर्माण तत्काल रोक्नुपर्ने माग राखेको थियो ।

भारतीय सञ्चार माध्यमहरूले त तनाव कम गर्नका लागि स्थानीयस्तरमा आधा दर्जनभन्दा बढी पटक वार्ता भइसकेको बताएका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले शनिबार एउटा भारतीय टीभी च्यानललाई दिएको अन्तर्वार्तामा पनि भारत आफ्ना छिमेकीहरूसँग सुमधुर सम्बन्ध चाहेको हुँदा चीनसँग पनि सैनिक वा कूटनीतिक स्तरबाटै विवाद समाधान गरिने बताएका थिए ।

सीमालाई लिएर दुई छिमेकीबीच तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि दुई देशले चाहेको खण्डमा मध्यस्थता गर्ने बताएका थिए । तर, ट्रम्पको उक्त भनाइलाई भारत र चीन दुवैले खारेज गर्दै दुई देशको मुद्दामा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको जनाएका थिए । दुई देशबीच सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्ततः उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो ।

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?