कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायतमा जोखिमबीच लकडाउन खुकुलो पारिँदै

अर्थतन्त्र संकटपूर्ण अवस्थानमा पुगेपछि जनस्वास्थ्यविद्को सुझावको बेवास्ता
नवीन पोखरेल

लन्डन — जनस्वास्थ्यविद्हरुको सुझावविपरीत विश्वका कतिपय देश लकडाउन खुकुलो बनाउन हतारिएका छन् । अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेपछि अधिकांश देश लकडाउन खुकुलो गर्ने निर्णयमा पुगेका हुन् ।

बेलायतमा जोखिमबीच लकडाउन खुकुलो पारिँदै

कोरोना भाइरस (कोभिड–१९) बाट आइतबार साँझसम्म ६० लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । बेलायतमा ९ सातादेखि जारी लकडाउन सोमबारबाट थप खुकुलो हुने भएको छ । सरकारले सम्भव भएसम्म जनजीवन सामान्य बनाउन आफ्नो योजनासहित निर्देशिका सार्वजनिक गरेको छ ।

संक्रमण फैलन नदिन लागू गरेको लकडाउन चरणवद्ध खुकुलो गर्ने योजनाअनुरूप प्राथमिक विद्यालय र खुद्रा पसल खुला गरिएको छ । त्यसैगरी, बढीमा ६ जनालाई सामूहिक भेटघाट गर्न दिइएको छ । त्यसका लागि कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्नेछ । घरभित्र जमघट गर्न वा अन्यत्र रात बस्न भने पाइने छैन । यो नियम इंग्ल्यान्डमा मात्र लागू हुनेछ । बेलायतका अन्य राज्यमा पनि क्रमिक रूपमा खुकुलो पारिँदै छ ।

सरकारी नियम उल्लंघन गरे प्रहरी वा स्थानीय निकायले १ सयदेखि ३ हजार २ सय पाउन्डसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले चिकित्सा विशेषज्ञ र व्यावसायिक खेल संस्थाहरुसँगको लामो छलफलपछि नयाँ निर्देशिका प्रकाशित गरेको छ जसअनुसार सुरक्षा सुनिश्चित भए सोमबारदेखि प्रतिस्पर्धात्मक खेल बन्द ढोकाभित्र सुरु हुनेछन् । कहिलेदेखि प्रतिस्पर्धा सुरु गर्ने भन्नेचाहिँ सम्बन्धित खेल संस्थामै भरपर्ने छ ।

तर, ब्रिटिस सरकारलाई सल्लाह दिइरहेका वैज्ञानिकहरुले इंग्ल्यान्डमा लकडाउन हटाउँदा हुने जोखिम कायमै रहेको चेतवानी दिएका छन् ।

प्राध्यापक जोन एड्मन्डस्ले लकडाउन खुकुलो पार्ने एउटा राजनीतिक निर्णय भएको बताएका छन् । त्यस्तै सर जेरेमी फरारले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को टेस्ट र ट्रेस प्रणालीले पूरै काम गर्नुपर्ने सुझाएका छन् ।

बेलायतले यसअघि इंग्ल्यान्डवासीलाई घरबाहिर थप समय व्यायाम गर्न र पार्कमा जति पनि बस्न पाइने नियम ल्याएको थियो । साथै समुद्र वा राष्ट्रिय निकुञ्ज भ्रमण र गल्फ, टेनिसजस्ता खेल गतिविधि गर्न अनुमति पनि दिएको छ । मानिस कार्यालय गएर काम गर्न थालेका छन् भने निजी तथा सार्वजनिक सवारीसाधनको चाप पनि बढ्न थालेको छ ।

यहाँ पब, सिनेमा हल, हेयर ड्रेसरलगायत हस्पिटालिटी व्यवसाय भने ४ जुलाईअघि खुल्ने सम्भावना छैनन् । ती व्यवसाय खुले पनि उनीहरुले सरकारको सुरक्षासम्बन्धी निर्देशिका अनुसरण गर्नुपर्नेछ । अहिले बेलायतका अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीको संख्यामा निरन्तर गिरावट आइरहेको छ । बेलायतको चेसायरस्थित लेटन अस्पतालको आईसीयूमा कार्यरत डाक्टर सुमित्रा काफ्लेले आफ्नो अस्पतालमा कोभिड बिरामी धेरै घटेका र तिनलाई छुट्याइएको कोभिड वार्ड एवं बेडहरु पनि प्रयोग गर्नु नपरेको बताइन् ।

विश्वभर कोरोनाका कारण ३ लाख ६९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएसँगै अमेरिका, युरोप र एसियाका धेरै मुलुकले लकडाउन हटाउने वा जनजीवन खुकुलो बनाउनेतिर ध्यान दिन थालेका छन् ।

संक्रमण रोक्ने प्रयासस्वरूप जारी लकडाउनले जनजीवन र अर्थव्यवस्था तहसनहस हुन लागेको भन्दै धेरै मुलुकले लकडाउन खुकुलो बनाउन थालेका हुन् । केही विज्ञहरुले लकडाउन खोल्नासाथ दोस्रो चरणको भाइरस फैलने खतरासमेत औंल्याएका छन् ।

युरोपेली मुलुक ग्रिसले आगामी १५ जुनदेखि २९ देशका नागरिकका लागि आफ्नो विमानस्थल खोल्ने जनाएको छ तर यसमा बेलायतलाई समावेश गरिएको छैन । नर्वे र डेनमार्कले पनि मध्य जुनदेखि दुई देशबीचका पर्यटकलाई छुट्टीका लागि यात्रा गर्न अनुमति दिने भएका छन् । डेनमार्कले जुन १५ देखि जर्मनी र आइसल्यान्डका पर्यटकलाई भ्रमण अनुमति दिने भएको छ ।

इरानले पनि मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि खुला गर्न सकिने घोषणा गरेको छ । जेरुसेलमको अल–अक्सा मस्जिदको परिसर प्रार्थनाका लागि आइतबार पुन: खुला गरिएको छ । थाइल्यान्डले सोमबारदेखि जिम, मसाज पार्लर, सिनेमा, थिएटर र चिडियाखाना खोल्ने भएको छ । अमेरिकी राजधानी वासिङ्टनमा रेस्टुराँहरु खुल्न थालेका छन् भने लस एन्जलसको पनि स्थिति सामान्य बन्दै गएको छ ।

करिब ३० हजार जनाले ज्यान गुमाएको अमेरिकी राज्य न्युयोर्क जुन ८ तारिखदेखि खुला हुँदै छ । अमेरिकामा कोभिड १९ बाट १ लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १७ लाखभन्दा बढी संक्रमित छन् ।

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भएका छन् । यहाँ संक्रमितको संख्या पाँच लाख नाघिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या २९ हजार हाराहारी छ ।

राष्ट्रपति जइर बोल्सोनारोले लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरसभन्दा खतरनाक हुने भन्दै मुलुकका गभर्नर र मेयरहरुलाई लकडाउनको विकल्प खोज्न निरन्तर आग्रह गरिरहेको एएफपीले जनाएको छ । युरोपेली युनियनले एक विज्ञप्ति प्रकाशन गर्दै देशहरुबीच थप सहयोग बढाई सामूहिक समाधान खोज्न आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?