कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रहरी हिरासतमा अफ्रिकी मूलका नागरिकको मृत्युपछि अमेरिकामा भड्कियो हिंसा

१६ राज्यका २५ सहरमा कर्फ्यु
प्रहरी अधिकारीले घुँडाले घाँटी थिचेका कारण एक जनाको मृत्यु भएपछि गरिएको विरोध प्रदर्शनका क्रममा झडप
एपी

मिनियापोलिस — प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका एक जना अमेरिकी मारिएको विरोधमा अमेरिकाका विभिन्न सहरमा गरिएका प्रदर्शनमा झडप भएका छन् । जर्ज फ्लोयडको मिनियापोलिस प्रहरीका एक अधिकारीले घुँडाले घाँटी थिचेका कारण ज्यान गएको थियो ।

प्रहरी हिरासतमा अफ्रिकी मूलका नागरिकको मृत्युपछि अमेरिकामा भड्कियो हिंसा

न्युयोर्क, एटलान्टा, पोर्टल्यान्डलगायत सहरहरूमा गरिएका प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । प्रदर्शनकारीले जर्जियास्थित सीएनएनको कार्यालय नजिकै प्रहरीको एउटा कार जलाइदिएका छन् ।

मिनेसोटा राज्यमा स्थिति निकै भयावह बनेको छ । मिनियापोलिसलगायतका विभिन्न सहरमा बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । तर प्रदर्शनकारीले कर्फ्यु तोडेको जनाइएको छ । कैयौं स्थानमा टायर बालिएका छन् ।

प्रदर्शन स्थलहरूमा प्रहरी उपस्थिति निकै कम देखिएको छ । मिनियापोलिसमा लुटपाट भएका घटना टेलिभिजनहरूमा देखाइएको छ । मिनियापोलिसस्थित एक प्रहरी कार्यालयमा आगो लगाइएको छ । अमेरिकी रक्षा मन्त्रालयले सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

एटलान्टाका अधिकांश क्षेत्रमा सम्भावित मृत्यु र सम्पत्ति जोगाउनका लागि भन्दै संकटकाल घोषणा गरिएको छ । एटलान्टाका मेयर केइसा लान्सले प्रदर्शनकारीले न्याय माग गरेको भन्दा पनि हिंसामा उत्रेको बताएका छन् ।

न्युयोर्कको ब्रुकलिनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुंदा कैयौं प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले कारहरू जनाइदिएका र घरका सिसा पनि फोडेको जनाइएको छ । प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मेयर बिल डे ब्लासिओले अमेरिकीहरूले यस्तो घटना पुन: देख्न नचाहेको बताएका छन् ।

ओरिगन राज्यको पोर्टल्यान्डमा लुटपाट मच्चिएपछि संकटकाल घोषणा गरिएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयमा आक्रमण गर्नुका साथै गाडीहरू जलाइदिएका छन् । डेट्रोइटमा एउटा गाडी प्रदर्शनकारीमाथि चलाइएपछि एक जनाको मृत्यु भएको छ । प्रहरीले १९ वर्षीय युवकको मृत्युबारे छानबिन भइरहेको जनाएको छ । अन्त तीन जना घाइते भएको बताइएको छ ।

तस्बिर : एपी/रासस

टेक्सास राज्यको डालसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । फोनिक्स, इन्डियानापोलिस, डेनभर, लस एन्जलस, ओकल्यान्डलगायत सहरमा गरिएका प्रदर्शन पनि हिंसात्मक भएका बीबीसीले उल्लेख गरेको छ ।

सयौं मानिसले न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइटहाउस बाहिर विरोध जनाएका छन् । फ्लोयडको तस्बिर बोकेका प्रदर्शनकारीले ‘मलाई सास फेर्न गाह्रो भयो’ भन्ने नारा लगाएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई ‘भयानक, भयानक’ भन्दै आफूले फ्लोयडका परिवारसँग कुराकानी गरेको बताएका छन् ।

ट्रम्पले यसअघि रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा अन्य उच्च पदाधिकारीसँग कुराकानी गरेका थिए । त्यसक्रममा उनले मिनियापोलिसमा जारी प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै सेना परिचालनको विकल्पबारे विचार गर्न भनेका थिए । मिनेसोटाका गभर्नर टिम वाल्जले ५ सय नेसनल गार्डलाई मिनियापोलिस, सेन्ट पल र वरपरका समुदायहरूको सुरक्षाका लागि खटाइएको जनाएका छन् ।

२५ सहरमा कर्फ्यु

प्रदर्शन उग्र बन्दै गएपछि अमेरिकाका १६ राज्यका कम्तीमा पनि २५ सहरमा कर्फ्यु लगाइएको बताइएको छ । अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, इलिनोय, केन्टकी. मिनेसोटा, न्युयोर्क, ओहायो, ओरेगन, पेन्सिल्भानिया, साउथ क्यारोलाइना, टेनेसी, युटा, वासिङ्टन र विस्कन्सिन राज्यमा २५ सहरमा कर्फ्यु लगाइएको सीएनएनले जनाएको छ ।

घटना के हो ?

प्रहरीको ज्यादतीका कारण मृत्यु भएको घटनाबारे सार्वजनिक भिडियोमा हतकडी लगाइएका फ्लोयडको घाँटीमा प्रहरीले घुँडा टेकेको देखिन्छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । उक्त भिडियो नजिकै रहेका एक बटुवाले खिचेर सार्वजनिक गरिदिएका थिए ।

तस्बिर : एपी/रासस

विवाद कसरी सुरु भयो भन्नेबारे भिडियोमा देखिएको छैन । तर प्रहरी अधिकारी डेरेक चौविनले घाँटीमा घुँडाले टेकेपछि फ्लोयडले ‘मैले सास फेर्न सकिरहेको छैन, मलाई नमार’ भनेको सुन्न सकिन्छ । फ्लोयडको पोस्टमार्टम रिपोर्टमा उनमा मुटुको समस्या रहेको र प्रहरी अधिकारीको थिचाइले ‘उनको मृत्यु हुन सहयोग पुगेको’ उल्लेख छ ।

चौविनले फ्लोयडको घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेको रिपोर्टमा जनाइएको छ । रिपोर्टअनुसार फ्लोयडले प्रतिक्रिया नजनाएको ३ मिनेटपछिसम्म पनि चौविनले घाँटी थिचिरहेका थिए । हेनेपिन मेडिकल सेन्टर लगिएका फ्लोयडलाई मृत घोषित गरिएको थियो । फ्लोयड ठगी आरोपमा पक्राउ परेका थिए ।

चौविनलाई गिरफ्तार गरी हत्या अभियोग लगाइएको छ । उनीसहित ४ जना प्रहरीलाई उक्त घटनाका कारण यसअघि नै सेवाबाट बर्खास्त गरिएको थियो । चौविनलाई सोमबार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने जनाइएको छ । चौविनलाई तेस्रो तहको हत्याको अभियोग लगाइएको छ तर फ्लोयडको परिवारले प्रथम तहको अभियोगको माग गरेको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिको श्वासप्रश्वास नलीमा दबाब नदिईकन घाँटी कसरी थिच्ने भन्ने तालिम प्रहरी अधिकारीलाई दिइने मिनेसोटा प्रहरीको ह्यान्डबुकमा उल्लेख छ । यसलाई घातक नहुने बल प्रयोग भन्ने गरिएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?